फेरि सर्यो सातौं राष्ट्रिय खेलकुद
काठमाडौः पटकपटक स्थगित हुँदै आएको सातौं राष्ट्रिय खेकलुद प्रतियोगिता फेरी एक महिना सारिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सोमबार बसेको बोर्ड बैठकले राष्ट्रिय खेकलकुद प्रतियोगिताको नयाँ मिति तोकेको हो ।
बैठकले राष्ट्रिय खेकलकुद पूर्वाञ्चलमा आगामी पुस ८ देखि १५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको मिति सारिएको यो चौथो पटक हो ।
दुई महिनाअघि मात्र सातौं राष्ट्रिय खेलकुद मंसीर ८ देखि १५ गतेसम्म गरिने बताइएको थियो ।
राखेपले राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि क्षत्रीय छनोट मंसीर २० देखि २८ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि राखेपअन्तर्गत सातौं तयारी समितिले कात्तिक २३ देखि मंसिर ३ गतेसम्म सञ्चालन हुने भनिएको क्षेत्रीय छनोट प्रतियोगिता प्राविधिक कारणले स्थगित गरेको थियो ।
यसअघि २०७० सालमा हुने भनिएको सातौं राष्ट्रिय खेलकुद संविधानसभाको निर्वाचनका कारण सरेको थियो । गत असोजमा मात्र सातौं राष्ट्रिय खेलकुदका लागि राखेपका अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपालीको नेतृत्वमा ‘फास्ट ट्र्याक टास्क फोर्स' गठन गरिएको थियो ।
सातौंकै लागि त्यसअघि पनि खेलकुदमन्त्रीकै नेतृत्वमा मूल आयोजक समिति गठन गरिएको थियो । प्रत्येक दुई वर्षमा हुनुपर्ने राष्ट्रिय खेलकुद प्रतियोगिताको छैटौं संस्करण २०६८ सालमा सुदूरपश्चिमाञ्चलमा सम्पन्न भएको थियो ।