अहा. . . कालो !
इन्द्रेणी
मलाई इन्द्रेणी
एकदमै अधुरो लाग्छ
अपुरो लाग्छ
खोक्रो लाग्छ
खल्लो लाग्छ
लाग्छ फिका–फिका
किनभने इन्द्रेणीमा कालो रङ हुँदैन ।
सुन्दरतम् चिज
यो धर्तीको सबैभन्दा सुन्दर चिज
कालोपट्टी हो
जो लड्छ
सारा कुरूपताविरुद्ध ।
दुष्टको वर्ण
दुष्टको वर्ण
जेसुकै हुन सक्छ
तर कालो कदापि हुँदैन ।
पृथ्वीको मस्तिष्क
अपमानित काला मान्छेहरूको बदला लिन
किताबका पानाबाट गायब भए भने
काला अक्षरहरू
कति रित्तो होला पृथ्वीको मस्तिष्क !
इतिहास भर्सन नम्बर २
इतिहास भर्सन नम्बर १ भन्छ–
संसार गोराहरूको हो
म हिँडिरहेको छु
इतिहास भर्सन नम्बर २ बोकेर
जसमा फेयर एन्ड लभ्लीको विज्ञापन छैन
जो धपक्क बलेको छ आफ्नै तेजले
जो छैन भद्दा
र, मुक्त छ क्रूरताले ।