संविधान खारेज भए ?

संविधान खारेज भए ?

संसारमा हरेक कुराको विकल्प हुन्छ । निर्विकल्प भन्ने केही हुँदैन । दलीय सहमतिको विकल्प छैन भन्नु निर्विकल्पको पुरानै पञ्चायतको बाटो लाग्ने हो त ? नेपालमा ३० वर्ष निर्विकल्प भनिएको निर्दलीय पञ्चायत व्यवस्थाको प्रयोग भइसकेको छ ।

अहिले लोकतान्त्रिक गणतान्त्रिक नेपालका नेताहरूले बारम्बार दलीय सहमतिको विकल्प छैन भनेजस्तै त्यसबेला पञ्चायत व्यवस्थालाई निर्विकल्प भनिन्थ्यो । यसमा आम जनताले बुझेको कुनै व्यवस्था कुनै बेला उपयुक्त ठहरिएकोमा त्यो कालान्तरमा अनुपयुक्त हुँदोरहेछ ।

सार्वभौमसत्ता जनतामा हुनु भनेको आमनिर्वाचनद्वारा कुन समयमा कुन नेता वा व्यवस्था उपयुक्त हुन्छ, निर्वाचनबाटै त्यसको समाधान निकालिने प्रचलन रहेको छ । हरेक समस्याको समाधान पनि त्यसैसँग जोडिएर आएको हुन्छ । जहाँ असल हुन्छ त्यहाँ खराब पनि सँगै हुन्छ ।

लेक र पहाडी क्षेत्रमा औषधिको लागि निर्मसी भन्ने जडिबुटी पाइन्छ । त्यो सँगै निर्मसीजस्तै देखिने विष भन्ने जडिबुटी पनि पाइन्छ । जडिबुटी संकलकले निर्मसी र विष चिनेर मात्र संकलन गर्नुपर्ने हुन्छ । त्यस्तै राजनीतिमा असल र खराब दुवै किसिमका नेताहरू लागेका हुन्छन् । जनताले मतदानद्वारा खराबलाई पाखा लगाएर असल नेताहरूको छनोट गर्ने गरेको पाइएको छ ।

असल नेताको छनोटको लागि निर्वाचन भयरहित र निष्पक्ष वातावरणमा गरेको हुनुपर्छ । सशस्त्र प्रतिकार, आन्दोलन, नेपाल बन्द, नाकाबन्दीको त्रास र आर्थिक र अन्य प्रलोभनमा गरिने निर्वाचनमा जनताले आफ्नो मताधिकार स्वतन्त्र, निष्पक्ष र निर्भीक भएर प्रयोग गर्ने वातावरण हुँदैन ।

यस्ता हथकन्डा प्रयोग गरेर भएको निर्वाचन र निर्वाचित जनप्रतिनिधिप्रति जनताको आस्था श्रद्धा र भरोसा हुँदैन । आफैंले निर्वाचन जितेको क्षेत्रमा नेताहरू जाँदा कालो झन्डा, विरोध, नारा जुलुस किन निकालिन्छ भन्दा ती नेताले स्वच्छ तरिकाले चुनाव जितेका हुँदैनन् । त्यसैले त्यस्ताहरू आफूभित्रको डरले बाह्य सुरक्षा बढाउने र अनुहारमा सधैं तनाव र कृत्रिम हाँसो र देखावटी नेतृत्वमा बाँचिरहेको पाइएको छ ।

परीक्षामा पढेर जाँच दिने विद्यार्थी आत्मविश्वासका साथ परीक्षा दिन जान्छन् । नपढ्ने र चिट चोर्ने विद्यार्थीहरू परीक्षादेखि डराउँछन् । सकेसम्म जाँच दिन नपरे हुन्थ्यो भन्ने त्यस्ता विद्यार्थीको धारणा हुन्छ । नेपालमा हाल जनताले मनपराएका र जनतासँगै बसेका नेताहरूलाई सुरक्षाको चिन्ता हुँदैन । जनताले उनीहरूको सुरक्षा गरिरहेका हुन्छन् ।

यस्ता नेताहरू लोकतान्त्रिक व्यवस्थाअनुसार आवधिक निर्वाचनमा सामेल हुन सधंै तयार भएका हुन्छन् । तर साम, दाम, दण्ड, भेद प्रयोग गरेर निर्वाचित नेताहरू निर्वाचनदेखि सधैं टाढा भाग्नै प्रयास गरेको पाइन्छ । नेपालमा हाल यस्तै नेताहरूको बाहुल्य भएकाले २०५४ सालमा भएको स्थानीय निकाय निर्वाचन १८ वर्ष पूरा हुँदा पनि गराउन सकेका छैनन् ।

निर्विकल्प र विकल्पहीन व्यवस्थाको बारेमा नेपाली जनतालाई राम्रै अनुभव भइसकेको छ । निकट भविष्यमा हुन गइरहेको स्थानीय निकाय र संसद् निर्वाचनबाटै नेपाली जनताले वर्तमान विकल्पहीन दलीय सहमतिको विकल्प दिनेछन् ।

२०५४ सालपछि नेपालीले स्थानीय निकाय निर्वाचनमा मतदान गर्न पाएका छैनन् । त्यस्तै संसद्को निर्वाचन २०५६ सालमा भएपछि हालसम्म भएको छैन । यसैबीच संविधानसभा निर्वाचन दुईपटक भइसकेको छ ।

२०५६ मा निर्वाचन भएको संसद् २०५९ मा विघटन गरियो । त्यसपछि ०६२÷६३ को आन्दोलनपछि २०६३ वैशाखमा राजा र आन्दोलनकारी राजनीतिक दलबीच भारत सरकारका विशेष दूत करण सिंहको मध्यस्थतामा सम्झौता भयो । त्यो सम्झौताअनुसार सार्वजनिक भएका बुँदामा २०५९ मा विघटित संसद्को पुनस्र्थापना र संवैधानिक राजसंस्था राख्ने नै प्रमुख विषय थियो ।

सो सम्झौताअनुसार संसद् पुनस्र्थापना भयो । राजा संवैधानिक भएर नारायणहिटी राजदरबारमै बसे । पुनस्र्थापित संसद्मा त्यो बेला बहुमतमा रहेको कांग्रेस संसदीय दलका नेता नै प्रधानमन्त्री घोषित भए । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राजाले नारायणहिटी राजदरबारमा नै शपथ ग्रहण गराएका थिए ।

 

२०४७ को संविधानमा व्यवस्था भएको संवैधानिक राजतन्त्र र संसदीय व्यवस्था पुन ट्र्याकमा आयो । यसरी लिकबाहिर गएको रेललाई लिकमा ल्याएपछि रेल लिकमा गुड्नुपर्ने हो । तर तत्कालीन भारतीय राजदूत श्याम शरण, गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहालले पुनस्र्थापित बहुदलीय संसद् र संवैधानिक राजतन्त्रलाई अगाडि बढाउन अवरोध गराउने काम भएको विश्वास गरिएको छ ।

संसदीय व्यवस्थामा सांसद भनेको जनताद्वारा निर्वाचित जनप्रतिनिधिको संगम हो । कुल प्रत्यक्ष निर्वाचित संसद् संख्याको ५ या १० प्रतिशत सिट देश र समाजमा विशेष योगदान पुर्‍याएका र अल्पसंख्यक, पिछडिएको क्षेत्र र जनजाति, मधेसीबाट मनोनीत गर्ने व्यवस्था गरिएको हुन्छ । पुनस्र्थापित संसद्मा प्रत्यक्ष निर्वाचित संसद्को बढीमा १० प्रतिशत संसद्को मनोनयन गर्नुपर्ने थियो ।

तर दलीय सहमतिको नाममा माओवादीका ८० जनाभन्दा बढी सांसद मनोनयन गरेर त्यसबेला संसद्मा दोस्रो ठूलो दल एमालेबराबरकै हैसियत प्रदान गरियो । निर्वाचित सांसद भएको संसद्मा माओवादी मनोनीत सांसदको उपस्थिति गराइयो । सुन्तलाको बोटमा ऐंजेरु लागेपछि त्यसलाई काँटछाँट गरिएन भने ऐंजेरुले बोटै सखाप पारिदिन्छ ।

त्यस्तै २०४७ को संविधानको ठाउँमा अन्तरिम संविधान जारी गरियो र त्यसमा मधेस आन्दोलनको नाममा संशोधन गरेर संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक निर्वाचन र दलीय सहमतिरूपी ऐंजेरु राखियो । अब काँटछाँट नगर्ने हो भने यो ऐंजेरुले वर्तमान सहमतीय संसदीय व्यवस्था नै सखाप पार्ने लक्षण देखा पर्न लागेको छ ।

प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रको सहमतिमा २०७२ असोज ३ मा संविधान जारी गरियो । यो संविधान अवैध सम्बन्धबाट जन्मिएको सन्तानजस्तै बीच बाटोमा अलपत्र परेको छ । यो संविधान जारी गर्नुअघि नै संशोधनको कबुल गरियो । संविधान जारी भएपछि दुईपटक संशोधन भइसकेको र निकट भविष्यमै तेस्रो संशोधनको प्रयास भइरहेको छ ।

नेपालमा हालसम्म जारी भएका अन्तरिम संविधानहरू र संविधानहरू कार्यान्वयनमा नगई संशोधन भएको र जारी भएको एक वर्षभन्दा बढी समयसम्म कार्यान्वयन हुन नसकेको २०७२ को संविधान नै हो । कार्यान्वयन नै हुन नसक्ने यो संविधानको पछि लाग्नुभन्दा अर्को विकल्पको खोजी गर्नु नै त्यसको उचित समाधान हुनेछ ।

ज्योतिषशास्त्रमा मुल्याहा सन्तानले बाबुआमालाई पिर्छ भनेर घरमा नराखेर मामाघर पठाएजस्तै २०७२ को संविधान जन्मिँदा नै मूलमा परेकाले मधेस आन्दोलन, नाकाबन्दी र स्थानीय निकायलाई स्थानीय तहमा लैजाने जस्ता अशुभ कार्यले यो संविधान रहेसम्म नेपाली जनताले सुख, शान्ति, अमनचयनको आस गर्ने र मुलुक समृद्धितर्फ जान कठिनाइ हुनेछ ।

बहुदलीय संसदीय व्यवस्थामा दलीय सहमति होइन, दलीय प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धा देश विकास र जनताको सुख र समृद्धिको लागि हुन्छ । नेतातन्त्रमा मात्र दलीय सहमतिको विकल्प छैन भन्ने गरिन्छ । किनभने दलीय सहमतिको नाममा आलोपालो गरेर नेताहरूले शासन गर्ने मौका पाएका छन् । सत्ताबाट हटे पनि सत्तामा छँदाको सुखसुविधा पूर्व विशिष्टको नाममा उपयोग गर्ने गरिएको छ । त्यसैले नेताहरू बारम्बार दलीय सहमतिको विकल्प छैन भनेर माला जपिरहन्छन् ।

त्यस्तै यो संविधान कार्यान्वयन नभए देशमा ठूलो संकट आउँछ र देशकै अस्तित्व रहँदैन भनिरहेका छन् । यो सब जनतामा मनोवैज्ञानिक त्रास र दबाब सिर्जना गर्न खोजिएको भ्रम मात्र हो ।

आज जनताले बुझिसकेका छन्, लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक निर्वाचन र दलीय सहमति नै अस्थिरता, अन्योल र विकास अवरुद्ध गराउने प्रमुख कारण रहेको विश्वास गरिएको छ । नेपाली जनताले २००७ सालदेखि नै अन्तरिम संविधान र संविधान तामझामका साथ जारी गरिएका र कालान्तरमा जनआक्रोशबाट फालिएका छन् ।

त्यस्तै २०७२ को संविधान पनि अन्य विगतका संविधानजस्तै जनआक्रोशबाट फालिएमा पनि जनतालाई केही फरक पर्ने छैन । प्रकृतिको नियममा समस्यासँगै समाधान आएजस्तै कुनै एक ढोका बन्द भयो भने अर्को सम्भावनाको ढोका अवश्य खुल्छ । हो, निर्विकल्प भनिएको निर्दलीय पञ्चायत व्यवस्था हटेर बहुदलीय व्यवस्था आउँदा पञ्चलाई बहुदलीय राजनीतिमा पुनस्र्थापना हुन समय लागेको थियो ।

त्यस्तै हाल दलीय सहमतिको विकल्प छैन भनेर माला जप्ने नेताहरूलाई पुनस्र्थापित हुन मेहनत गरी जनताको विश्वास लिने प्रयास गर्नुपर्नेछ । त्यसैले निर्विकल्प र विकल्पहीन व्यवस्थाको बारेमा नेपाली जनतालाई राम्रै अनुभव भइसकेको छ । निकट भविष्यमा हुन गइरहेको स्थानीय निकाय र संसद् निर्वाचनबाटै नेपाली जनताले वर्तमान विकल्पहीन दलीय सहमतिको विकल्प दिनेछन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.