‘रङले नै भन्छ– यहाँ पोतिन्छु’
किरण मानन्धर नेपाल–भारत सांस्कृतिक केन्द्रमा भइरहेको भारतका वरिष्ठ चित्रकार रामचन्द्र शुक्लको चित्रकला प्रदर्शनी पुगेका थिए । शुक्लका अमूर्त चित्रमा उनले चित्रजस्तो केही देखेनन्, न हिमाल, न पहाड, न चरा । रङगमात्रै लतपतिएजस्तो । उनीभित्र प्रश्न जाग्यो– चित्रै बनाउन नजान्ने चित्र पनि किन देखाउन राखेको होला ?
यो उनको किशोरकालको प्रसंग थियो । त्यही प्रश्नले तानिँदै उनी आफैं अमूर्त चित्रको संसारमा प्रवेश गरे । अहिले उनको दिनचर्याको अधिक अंश रङगहरूमा अमूर्त भावनाको अभिव्यक्तिमा बित्छ । एउटा अमूर्त चित्र बनाउँदा चित्रकारको मानसिक यात्रा कस्तो होला ? यही जिज्ञासा लिएर मानन्धरको ताहाचलस्थित घरमा पुगेपछि उनले आफ्नो अस्तव्यस्त ग्यालरीमा पुर्याए ।
उनी चित्रपट, रङ र ब्रसहरूको कोलाजबीच एउटा कुनामा राखिएको बाँसको कुर्सीमा बसे । जसको अगाडि फैलिएको थियो उनले दुई वर्षअघि बनाएको चित्र । जसको शीर्षक उनले ‘किरण’ राखेका छन् । ‘यो पेन्टिङ मैले निकै खुसी भएको बेलामा बनाएको थिएँ,’ आफ्नै नामको शीर्षक दिइएको चित्रलाई प्रेमपूर्वक सुस्तरी छुँदै उनले भने ।
चित्रमा नेपालको विविधता समेटिएको छ । हिमाल, पहाड, तराई, वनजङ्गल र लहरापहरा । स–साना नानी छन्, महिला छन्, प्रकृति छ, नेपालीको जनजीवनको विम्ब छ । ‘यसमा मैले पूरै देश प्रतिविम्बित गराउन खोजेको छु,’ उनले भने, ‘हरियो, नीलो, पहेँलो, सेतो रङले नेपालको विविधतालाई देखाउँछन् ।’ चित्र बनाउन थाल्दा भने किरणको मनमा नेपालको समग्रता उतार्छु भन्ने थिएन ।
‘क्यानभासमा रङ भर्दै जाँदा नेपालका विविधता एकीकृत भए । यी हाम्रा देशका रङ हुन् । अरू कुनै देश जाँदा यस्ता रङ पोतिएका पेन्टिङ पाइँदैन । किनकि, क्यानभासमा पोतिने रङलाई पनि ठाउँपिच्छेको वातावरणले प्रभाव पार्छ,’ उनको व्याख्यान थियो । उनी कुनै पनि चित्र बनाउँदा यस्तै बनाउँछु भनेर पहिले नै मानसिकता बनाउँदैनन् । ‘बनाउँदै जाँदा स्वरूप आउँदै जान्छन् । म रङले भनेकै ठाउँमा ब्रस चलाइदिन्छु । कहाँ–कहाँ पोतिने भन्ने कुरा रङले नै निर्णय गर्छ,’ उनले सामान्य पाराले असामान्य जवाफ दिए ।
चित्र बनाइरहँदा उनी आफूलाई माध्यममात्रै ठान्छन् र भन्छन्, ‘क्यानभासमा रङ खेलाउने पागलपनाले हो । एकान्तमा बसेर रङगहरूसँग रमाइलो गर्न एक प्रकारको पागलपना चाहिन्छ । त्यसैले नयाँ कुरा सिर्जना हुन्छ ।’ क्यानभास पोत्दै गर्दा कति रङ चुहिन्छ, कति खस्छ । कुनै रङ त मेटाउनै नमिल्ने गरी लत्पतिन्छ । तर उनी क्यानभासमा परिसकेको रङ मेटाउन चाहँदैनन् । सोच्छन्, ‘आखिर हुनु पर्ने जे थियो, भयो ।’
चित्र बनाउँदा उनी कहिले रङसँग प्रेम गर्छन्, कहिले युद्घ गर्छन् । ‘यो पेन्टिङ गर्दाचाहिँ मैले प्रेम धेरै गरेको छु, युद्घ निकै कम ।’ उनी प्रेमिल देखिए । चित्र बनाउँदा कहिले रङलाई आफूले खेलाएको र कहिले रङले आफूले खेलाएको बताउँदा उनको अनुहारमा रोमाञ्च फैलिएको थियो । त्यसैले उनी यसलाई सम्झौतामा बनेको पेन्टिङ मान्छन् ।
अहिले पनि बिहानै उठेर उक्त चित्र हेर्दा उनी खुसी हुन्छन् । पूरा तीन दिन खर्चेर बनाएको उक्त चित्रजस्तै चित्र आफूले बनाउन नसक्ने र बनाइहाले पनि त्यति मीठो ‘कलर’ नआउने मत उनको छ ।