नेमारमाथि दुई वर्ष जेल सजायको माग
म्याड्रिड: स्पेनी सरकारी अधिकारीले बार्सिलोनाका ब्राजिलियन स्ट्राइकर नेमारमाथि दुई वर्ष जेल सजायको माग गरेका छन् । साथै उनलाई एक करोड ६ लाख अमेरिकी डलर जरिवानासमेत लगाउनुपर्ने माग गरिएको छ।
सन् २०१३ मा ब्राजिलियन क्लब सान्तोषबाट बार्सिलोनासँग आबद्ध हुँदा आफ्नो वास्तविक मूल्य ढाँटेर अन्य सहयोगी निकायहरूलाई कम रकम दिएको भन्दै दायर भएको मुद्दामाथि हाल स्पेनी अदालतमा छलफल भइरहेको छ। त्यसबेला नेमारको पूर्वक्लब सान्तोषको रणनीतिक साझेदार संस्था डीआईएसलाई कम रकम दिइएको भन्दै नेमारविरुद्ध मुद्दा दायर गरिएको हो।
मुद्दामा नेमारसहित उनका पिता, बार्सिलोना र सान्तोसलाई समेत कारबाहीको माग गरिएको छ । यस्तै बार्सिलोनाका पूर्वअध्यक्ष सान्द्रो रोसेललाई समेत कारबाहीको माग गरिएको छ । रोसेललाई पाँच वर्षको जेलसजाय र एक करोड ६ लाख अमेरिकी डलरको जरिवाना माग गरिएको छ । सान्तोसका पूर्वअध्यक्ष ओडिलियो रोड्रिगुइज भने ठगीको आरोपमा तीन वर्षको जेल सजायमा छन् ।
डीआईएसले नेमारको अनुबन्धमा सहयोग गरेअनुसार उनका लागि तिरिएको रकमको ४० प्रतिशत आफूहरूले पाउनुपर्ने सहमति भए पनि अनुबन्ध रकम ढाँटेर थोरैमात्रै रकम दिइएको जनाएको छ । त्यसअनुसार स्पेनी अधिकारीहरूले बार्सिलोनालाई ८९ लाख अमेरीकी डलर तथा सान्तोसलाई ७४ लाख अमेरिकी डलर जरिवाना तिराइनुपर्ने मागसमेत गरेका छन् ।
डीआईएसले नेमार र उनका पितालाई पाँच वर्ष तथा बार्सिलोनाका पूर्वअध्यक्ष रोसेल र वर्तमान अध्यक्ष मारिया बार्ताेमेउलाई आठ वर्षको जेलसजायको माग गरे पनि अधिकारीहरूले त्यसलाई घटाएर दुई वर्षको मात्रै सजायको माग गरेका हुन् । साथै अधिकारीहरूले अदालतसमक्ष नेमारलाई तत्काल खेल्नका लागि समेत रोक लगाउन माग गरेका छन् ।
स्पेनी कानुनअनुसार दुई वर्षसम्मको जेल सजाय बाहिरै रहेर भुक्तान गर्न सकिनेछ । बार्सिलोना अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसी पनि त्यस्तै जेल सजाय भुक्तान गरिरहेका छन् ।