नेपालसामु बलियो चुनौती
काठमाडौः छैटौं संस्करणको एसियाली क्रिकेट काउन्सिल (एसीसी) महिला एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार हुने आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ ।
थाइल्यान्डको बैंककस्थित टर्ड थाई क्रिकेट स्टेडियममा हुने पाकिस्तानविरुद्धको खेल नेपालका लागि मुस्किल हुनेछ । नेपाली महिला टोलीले एसियाली स्तरमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको यो पहिलो अवसर हो ।
एसिया कपमा पाँचौं सहभागिता जनाइरहेको पाकिस्तान र दोस्रो पटक सहभागी भइरहेको नेपालले एकअर्काविरुद्ध प्रतिस्पर्धा गरेको छैन । सन् २००४ बाट भारत र श्रीलंकाबीच भएको एक दिवसीय शृंखलासँगै सुरु भएको महिला एसिया कप क्रिकेटको सन् २००८ मा भएको दोस्रो संस्करणबाट पाकिस्तान पनि सहभागी हुन थालेको हो ।
प्रतियोगिता सन् २०१२ मा चीनको ग्वान्झाउमा भएको पाँचौं संस्करणपछि टीट्वेन्टी फम्र्याटमा हुँदा नेपाल पनि सहभागी भएको थियो । यद्यपि सो प्रतियोगितामा खेलेको तीनै खेलमा पराजय बेहोर्दै नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।
नेपालले सन् २०१७ को विश्वकप क्रिकेटका लागि गत महिना हङकङमा भएको एसियाली छनोट खेलमा दोस्रो स्थान हात पार्दै एसिया कपमा छनोट पक्का गरेको थियो । राउन्ड रोबिन लिगमा खेलाइएको प्रतियोगिताअन्तर्गत थाइल्यान्डविरुद्ध भएको दुई खेल गुमाए पनि नेपालले दोस्रो स्थान सुरक्षित गर्न सफल भएको थियो ।
प्रतियोगिताको विजेता टोलीले मात्रै सहभागिताको अवसर पाउने व्यवस्था भए पनि एसिया कपको आयोजक राष्ट्र थाइल्यान्डले उपाधि जितेपछि दोस्रो भएको नेपालले अवसर पाएको हो ।
प्रतियोगितामा नेपाल र थाइल्यान्डसहित टीट्वेन्टी टोलीको मान्यता प्राप्त पाकिस्तान, भारत, श्रीलंका र बंगलादेश पनि सहभागी छन् । आगामी मंसिर १९ गतेसम्म चल्ने प्रतियोगितामा सहभागी ६ टोलीले राउन्ड रोविन लिग प्रणालीमा खेल्नेछन् ।
प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा अहिलेसम्म भारतले मात्रै उपाधि जितेको छ । पाँचमध्ये चार पटक श्रीलंका तथा एक पटक पाकिस्तानलाई पराजित गर्दै भारतले उपाधि जितेको छ ।