बढ्दै चिनियाँ पर्यटक
हालैको एक दिन दरबारमार्गस्थित ‘याक एन्ड यती’ होटेलमा एउटा चिनियाँ पर्यटक समूह एकदिने सेमिनार गर्दै थियो । सेमिनारमा उनीहरू कसरी सफल उद्यमी हुन सकिन्छ भनेर एक युवा चिनियाँ प्रशिक्षकको ‘मोटिभेसनल स्पिच’ सुनिरहेका थिए । चीनको सेन्चेन प्रान्तबाट आएका झण्डै एक सय ७० चिनियाँ पर्यटक थिए त्यहाँ । उक्त समूहले लुम्बिनी, पोखरा, नगरकोटलगायत ठाउँमा दुई साता बितायो ।
नयाँ ठाउँ घुम्ने, खाने, तस्बिर खिच्ने र रमाउने गर्छन् चिनियाँ पर्यटक । उक्त समुह भने नियमित कामको अतिरिक्त अध्ययनका लागि आएको थियो । जिङसियाङ नामक संस्थाले आफ्ना विद्यार्थीलाई घुमाउने अनि पढाउने उद्देश्यले ल्याएको थियो । प्रशिक्षकका रूपमा आएका झि जु भर्खर ३० वर्ष पुग्दै गरेका युवा हुन् । उनको मोटिभेसनल स्पिच सुन्न सेन्चेनमा आकर्षण छ ।
उनी कसरी उद्यमी बन्ने, तनावरहित हिसाबले व्यवसाय कसरी बढाउने भन्ने सिकाउँछन् । स्वास्थ्यसँगै धनी कसरी बन्ने भन्ने भन्ने टिप्स दिन्छन् प्रशिक्षणका माध्यमबाट । निकै ठूलो संघर्षपछि सफल व्यवसायी र प्रशिक्षक भएका उनी सेन्चेनमा मूलतः पढाउने काम गर्छन् । भन्छन्, ‘मैंले यी प्रशिक्षार्थीलाई आफ्नै अनुभव सिकाउने हो र कसरी तनावरहित हिसाबले काम गर्न सकिन्छ बताउने हो ।’ बुद्धभूमि नेपालमा आएर यस्तो प्रशिक्षण गर्दा फ्रेस पनि हुने र ज्ञानभूमिको महत्व पनि बढ्ने उनको बुझाइ छ । थप्छन्, ‘त्यसैले पहिलो पटक हामी यस्तो महशुुस गरेर आएका हौं । आगामी दिनमा पनि आउने लक्ष्य छ ।’
प्रशिक्षक झु उद्यमीहरूलाई तालिम दिने संस्था जिन्सियाङसँग जोडिएका छन्, जसको सेन्चेनमा मुख्य कार्यालय छ । उनी अधिकांश समय यस्तै प्रशिक्षणमा व्यस्त रहन्छन् । कार्यक्रममा सहभागी ३२ वर्षीया युवती लिओ यान भन्छिन्, ‘कार्यालय व्यवस्थापन, अनुशासन, समस्या समाधान र तनाव कम गर्ने आदि ज्ञान भएको छ । यो तालिमपछि लगानीसँगै मुनाफा पनि बढ्दै गएको छ ।’
१२ वैशाख ०७२ मा नेपालमा आएको महाभूकम्पपछि थला परेको पर्यटन उद्योगमा चिनियाँको आगमनलाई सकारात्मक संकेत मान्न थालिएको छ ।
चिनियाँ पर्यटकको संख्यामा भएको वृद्धिसँगै नेपालमा विभिन्न खालका तालिम पनि सञ्चालन हुन थालेका छन् । पुस ०७२ देखि नेपाल सरकारले दिएको फ्रि भिसाको सुविधाका कारण पनि नेपाल आउन चाहने चिनियाँ युवा बढेको तालिममा सहभागीहरूको धारणा छ ।
सन् २००३ मा सात हजारबाट बढेर सन् २०१४ मा एक लाख २३ हजार पुगेका चिनियाँ पर्यटकको संख्या सन् २०१५ मा ओरालो लाग्यो । भुकम्पले समग्र पर्यटन क्षेत्र प्रभावित हुँदा पनि ७४ हजार चिनियाँ पर्यटक नेपाल आएको सरकारी अभिलेखले देखाउँछ । सन् ०१६ मा अढाइ लाख चिनियाँ पर्यटक भित्र्याउने सरकारी लक्ष्य थियो । यस वर्षको पहिलो ६ महिनामा ६० लाख चिनियाँले भ्रमण गरिसकेका छन् ।