बराबरीमा रोकियो बार्सिलोना
बार्सिलोनाः स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा रहेको बार्सिलोनाले सोमबार बिहान भएको खेलमा रियल सोसिएडाडसँग अंक बाँडेको छ । सोसिएडाडको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना १-१ गोलको बराबरीका रोकियो । निकै प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली सोसिएडाडले ५३ औं मिनेटमा खाता खोलेको थियो । सोसिएडाडका लागि विलियन होजेले गोल गरे ।
सोसिएडाडको अग्रतापछि आक्रामक देखिएको बार्सिलोनाले ६ मिनेटलगत्तै बराबरी गोल फर्काएको थियो । बार्सिलोनाका लागि कप्तान लियोनल मेसीले गोल गरे । अर्जेन्टिनी खेलाडी मेसीले ब्राजिलियन खेलाडी नेमारको पासमा डीबक्स भित्रबाट आकर्षक गोल गरेका थिए ।
त्यसपछि बार्सिलोनाले लगातार गोल गर्ने प्रयास गरे पनि सफल बन्न सकेन । जितसँगै लिगमा १३ खेल सकेको बार्सिलोना तालिकाको दोस्रो स्थामना यथावत् छ । बार्सिलोना शीर्ष टोली रियल म्याड्रिडभन्दा ६ अंकले पछाडि छ । २३ अंक जोडेको सोसिएडाड भने तालिकाको पाँचौं स्थानमा छ ।
अर्को खेलमा एट्लेटिको म्याड्रिले ओसासुनालाई ३-० गोलले हरायो । एकपक्षीय खेलमा एट्लेटिकोका लागि डिएगो गोडिनले ३६ औं मिनेटमा पहिलो गोल गरे । त्यसको एक मिनेटलगत्तै केभिन गामेइरोले दोस्रो गोल थपे । ९० औं मिनेटमा यानिक फेरेरिया कारास्कोले तोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित पारे ।
यसअघि १४ औं मिनेटमा ओसासुनाका रोवर्टो टोरेसको पेनाल्टी प्रहार विफल भएको थियो । एट्लेटिकोका जोसे मारियाले फल खेलेपछि ओसासुनाले पेनाल्टी प्रहारको अवसर पाएको थियो । २४ अंकसहित एट्लेटिको तालिकाको चौथो स्थानमा छ । सात अंकमा सीमित सोसासुना सातौं स्थानमा छ ।
अर्को खेलमा सेल्टा भिगोले रेलिगेसनबाट जोगिन संघर्षरत ग्रानडालाई ३-१ गोलले पराजित गर्यो । सेल्टाको जितमा इगो आस्पसले २३ औं मिनेटा खाता खोले । दोस्रो गोल थेओ बोनगोन्डाले ३९ औं मिनेटमा गरेका थिए ।
खेलको ९० औं मिनेटमा पेप चेखले तेस्रो गोल थपेका थिए । यसअघि ग्रानडाका लागि अर्टेम कार्भेट्सले सान्त्वना गोल फर्काएका थिए । २० अंक बनाएको सेल्टा तालिकाको नवौं स्थानमा छ । ग्रानडा भने पाँच अंकसहित तालिकाको अन्तिम स्थानमा छ ।
यसैगरी तालिकाको मध्यक्रममा रहेको आल्भेसले भिल्लारियललाई २-० गोलले हरायो । आल्भेसका लागि इवायी गोमेजले आठौं मिनेटमा खाता खोले । भिक्टर कामारसले १७ औं मिनेटमा दोस्रो गोल थप्दै टोलीको अग्रता बलियो बनाएका थिए । जितसँगै १६ अंक बनाएको आल्भेस तालिकाको १३ औं स्थानमा आसीन छ । यसअघि नै २२ अंक बनाएको भिल्लारियल तालिकाको छैटौं स्थानमा छ ।