‘शताब्दी पुरुष’को सौर्य
वैशाख १९७७ मा पिता शंकरदास र माता राजकुमारीका पहिलो सन्तानका रूपमा ललितपुरको बखुम्बहालमा जन्मिएका हुन्, सत्यमोहन जोशी । नेपालको लोक संस्कृतिमा राम्रो दक्खल भएका उनी लोक साहित्यका जानकार पनि मानिन्छन् । दरबार हाइस्कुलमा अध्ययन गरेका उनले त्रि–चन्द्र क्याम्पसबाट स्नातकसम्मको औपचारिक अध्ययन गरेका छन् ।
०१५/१६ तिर तत्कालीन पुरातत्व तथा संस्कृति विभागका निर्देशक बनेपछि नै हो, उनको संस्कृति र पुरातात्विक महत्वका वस्तुको संरक्षणमा योगदान यात्राले उचाइ पाएको । बिसं १९९० को विनाशकारी भूकम्पले मच्चाएको ताण्डव आफ्नै आँखाले देखेका जोशी उमेरले दशौं दशकमा हिंडिरहेका छन् ।
मनोबल र जाँगर भने १६/१७ कै उमेरको जस्तो छ । तन्नेरी नै छ उनीभित्रको जाँगर । यस्तो लाग्छ, त्यो जहिल्यै हट्टाकट्टा रहिरहने छ । २०१३ सालमा ‘हाम्रो लोक संस्कृति’, ०१७ मा ‘नेपाली राष्ट्रिय मुद्रा’ र ०२८ मा ‘कर्णाली लोकसंस्कृति’ पुस्तकका लागि तीन पटकसम्म मुलुकको प्रतिष्ठित मदन पुरस्कार हात पारेका छन् ।
विभिन्न विधाका ६० भन्दा बढी पुस्तक प्रकाशन गरेका जोशी ०१७ सालमा तत्कालीन राजा महेन्द्रले सेनाको बलमा शासनको बागडोर हातमा लिएपछि चीन हान्निए । र, त्यहाँ अध्ययन र अनुसन्धानमा तल्लीन भए । ‘पेकिङ ब्रोडकास्टिङ संस्था’मा नेपाली भाषा अध्यापन गरे । त्यस क्रममा अरनिकोमाथि लामो अनुसन्धान गरे ।
पाटनमा पुरातात्विक उद्यान, जमलमा राष्ट्रिय नाँचघर र तौलिहवामा पुरातात्विक संग्रहालय स्थापना गरेर सांस्कृतिक मूल्य संरक्षणमा मुलुकलाई ठूलो गुन लगाएका छन्, जोशीले । १५ मंसिर ०७१ मा शताब्दी पुरुषको उपाधिले सम्मान गरिएपछि संस्कृतिविद् जोशी सोही नामबाट चर्चित् छन् । ‘बाघ भैरव’ नाटकका रचयितासमेत रहेका उनका चारुमति, सुनकेशरी, माफिया र लाखे चर्चितमध्येका कृति हुन् ।