रेको अभिव्यक्ति र भारतीय कूटनीति

रेको अभिव्यक्ति र भारतीय कूटनीति

नेपालका लागि भारतीय राजदूत रन्जित रेले हालै पोखरामा आयोजित एक कार्यक्रममा भारतले नेपालमा कुनै किसिमको हस्तक्षेप गर्न नचाहेको बरु भारतको चाहना नेपालमा शान्ति, स्थिरता र विकास होस् भन्ने रहेको बताएछन् । उनले नेपालमा विकास हुँदा भारतलाई पनि लाभ हुन्छ । दुवै देशबीच खुला सिमाना भएकाले नेपालमा समस्या पैदा हुँदा भारतलाई पनि समस्या पर्छ भन्ने कुरा पनि उल्लेख गरेछन् । यससँगै उनले सबैले सुखमा साथ दिन्छन्, तर भारत नेपालको दुःखमा पनि साथ दिने मित्र हो भन्दै भूकम्पको बेला भारतीयले नेपालमा ठूलो सहयोग गरेको स्मरणसमेत गराए ।

रन्जित रे एकजना कूटनीतिक पात्र हुन् । कूटनीतिज्ञको पहिलो दायित्व आफूले प्रतिनिधित्व गर्ने र आफू कार्यरत राष्ट्रबीचको सम्बन्ध आत्मीय एवं सौहार्दपूर्ण बनाउनु रहेको हुन्छ । त्यससँगै उसले आफ्नो देश र आफू कूटनीतिक प्रतिनिधि भई गएको मुलुकमा कार्यरत आफ्नो देशका नागरिकको हितको सुरक्षा एवं प्रवद्र्धनको लागिसमेत कार्य गर्नुपर्ने हुन्छ ।

यसरी कार्य गरिरहँदा उसले अन्तर्राष्ट्रिय रूपमा स्वीकार्य कूटनीतिक मान्यताको पालना र मर्यादाको निर्वाह भने गर्नुपर्ने हुन्छ । राजदूत रेले नेपालमा भारतीय कूटनीतिक प्रतिनिधिको रूपमा कार्यरत रहँदा कति हदसम्म कूटनीतिक आचरण एवं मर्यादाको पालना गरेका छन् ? भन्ने स्पष्ट छ । उनले यसो किन गरिरहेका छन् ? उनले यसो गर्नु हुन्थ्यो हुँदैनथ्यो ? यो उनी आफैंले पनि मूल्यांकन गर्ने विषय हो ।

जहाँसम्म रेले पोखरा कार्यक्रममा उल्लेख गरेका विषय छन्, तिनको बारेमा खासै आपत्ति जनाइहाल्नुपर्ने देखिँदैन । सरसर्ति हेर्दा ती विषय एउटा मित्रले अर्को मित्र (जो तुलनात्मक रूपमा आफूभन्दा कमजोर छ) प्रति प्रदर्शन गरेको सद्‍भाव जस्तै लाग्छन् । यति मात्र न भएर रेको उल्लिखित अभिव्यक्ति नेपालमा भारतीय व्यवहारप्रति प्रकट प्रतिक्रियाबारे व्यक्त स्पष्टीकरण जस्तो पनि लाग्छ । त्यसैले ती विषयमा निहित आशयलाई भारत वा भारतीय राजदूतले नेपालप्रति गर्ने व्यवहारको कसीमा जाँच्नुपर्ने हुन्छ ।

पहिलो कुरा, रेले भारतले नेपालमा कुनै पनि किसिमको हस्तक्षेप गर्न नचाहेको बरु भारतको चाहना नेपालमा शान्ति, स्थिरता र विकास होस् भन्ने रहेको बताएका छन् । निश्चय पनि यो सकारात्मक हो । भारत नेपाल दुवै स्वतन्त्र र सार्वभौम मुलुक हुन् । दुवै देशबीचको सम्बन्ध पारस्परिकता एवं सार्वभौम समानतामा आधारित हुनुपर्छ । यससँगै दुवै मुलुकबीच राजनीतिक मात्र नभएर आर्थिक, सामाजिक एवं सांस्कृतिक सम्बन्ध पनि रहेको छ ।

यो सम्बन्ध दुवै देशको स्वतन्त्र अस्तित्व सिर्जना हुनुभन्दा पनि प्राचीन रहेको पाइन्छ । दुवै देशबीच अद्यापि खुला सीमा छ । जुन कुरा एक अर्थमा दुवै देशबीच आत्मीय सम्बन्ध रहेको प्रमाण पनि हो । त्यसैले एक मुलुकको शान्ति र स्थिरता अर्को मुलुकको शान्ति र स्थिरतामा निर्भर गर्ने भएकाले दुवै देशबीच आत्मीय सम्बन्धको विकास हुन सके त्यसलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिनेछ । त्यसो हुन सके एउटा मुलुकको अभाव र गरिबीले अर्को मुलुकको सम्पन्नतालाई पनि कमै मात्रामा प्रभावित गर्नेछ, तर व्यवहारमा त्यस्तो देखिँदैन ।

हो, नेपाल भूपरिवेष्ठित, गरिब एवं कमजोर मुलुक भएकाले यो भारतप्रति निर्भर छ । आफू भारतप्रति निर्भर रहनुपरेकाले मात्र नभई राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नेपालको भूअवस्थिति दुई ढुंगाबीचको तरुल जस्तो छ, त्यसैले छिमेकीप्रति जाई कटक नगर्नू, झिकी कटक गर्नू भन्ने नीतिअनुरूप नेपालले आफ्ना दुई छिमेकी मुलुकप्रतिको सम्बन्धलाई सञ्चालन गर्दै आएको छ । नेपालको शान्ति, स्थिरता र विकास दुई छिमेकी मुलुकसँग समान सम्बन्ध कायम राख्न सके मात्र सम्भव छ भन्ने नेपालीले राम्रोसँग बुझेका छन् ।

अझ यथार्थ के हो भने देशको भौगोलिक बनोट, भारतसँगको आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्धसँगै दुवै देशबीचको खुला सीमाका कारण जतिसुकै समान सम्बन्धको कुरा गरे पनि उत्तरतर्फको छिमेकीको तुलनामा नेपालको भारतसँगको सम्बन्ध बढी नजिकको र निर्भरतापूर्ण हुन पुगेको छ । तर नेपालको यसै निर्भरताबाट भारतले नाजायज फाइदा उठाउन खोज्ने गरेकाले दुवै देशको सम्बन्धमा कटुता उत्पन्न हुने गरेको छ । यसक्रममा भारतले नेपालको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप गर्ने गरेको छ ।

हुन त यस किसिमको हस्तक्षेप भारतको कारणले मात्र हुने गरेको छैन । नेपालका शासक एवं सम्भ्रान्त वर्गले भारतीय सहयोगमा देशभित्र आफ्नो हैकम कायम गर्ने उद्देश्यले पनि भारतीय हस्तक्षेप निम्त्याउने गरेका छन्, कहिले शान्तिको नाममा, कहिले स्थिरताको नाममा त कहिले विकासको नाममा । त्यति मात्र नभएर यसबाट उन्मुक्तिको लागि नेपालीले समयसमयमा सशक्त रूपमा प्रतिवाद गर्ने गरेका छन् ।

राजदूत रेले उल्लिखित कुरा मात्र नभएर नेपाल-भारतबीच खुला सीमा भएकाले नेपालमा समस्या पर्दा भारतलाई पनि समस्या पर्ने भनाइसमेत व्यक्त गरेका छन् । निश्चय पनि, दुवै देशबीचको खुला सीमा परस्पर मैत्री, विश्वास र आत्मीयताको प्रमाण हुँदाहुँदै पनि यसबाट एक मुलुकमा पर्ने समस्याको प्रभाव अर्को मुलुकमा समेत पर्ने हुन्छ । आपराधिक तत्त्वहरूले कहिलेकाहीं एक मुलुकबाट अर्को मुलुकमा प्रवेश गरी त्यहाँको स्थिरता खल्बल्याउने त कहिले एक मुलुकमा बसेर अर्को मुलुकविरुद्ध षड्यन्त्र गर्ने गरिरहेका छन् । यस्ता गतिविधिले भारतलाई भन्दा नेपाललाई बढी असर पर्ने गरेको छ ।

भारतीय राजदूत रेले 'कुत्तेका बहिखाता' खडा गरेर घटिया, अनैतिक र स्वाभिमानविहीनहरूसँग हिमचिम बढाउँदै आफूलाई तिनको कोटीमा झार्नुभन्दा राष्ट्रवादी, स्वाभिमानी नेपालीहरूको भावनाको सम्मान गर्दै नेपाल-भारत सम्बन्धमा लामो समयदेखि कायम अविश्वास र असमझदारीलाई हटाउने आँट गर्नुपर्छ ।

नेपालमा आपराधिक कार्य गर्न चाहनेले भारतीय भूमिमा शरण लिने, हातहतियार जम्मा गर्ने र तालिम लिने जस्ता कार्य सहज रूपमा गरिरहेका हुन्छन् । यति मात्र नभएर बेलाबेलामा भारतीय हतियारधारी एवं सादा पोसाकका सुरक्षाकर्मी अनुमतिविना नेपाल प्रवेश गरी खानतलासी एवं पक्राउ गर्ने गरेका प्रशस्त घटना भएका छन् । यस किसिमको कार्यलाई नियन्त्रण गर्ने सरल उपाय भनेकै दुवै देशबीचको सीमालाई नियन्त्रित वा व्यवस्थित गरिनु हो । जुन कुरा दुवै देशको समान हितमा हुनेछ । यसो भए पनि दुवै मुलुकका शासक, प्रशासक एवं कूटनीतिज्ञले यसको उच्चारणसम्म गर्ने गरेको पाइँदैन ।

बरु उल्टै भारतीय पक्षले खुला सीमाको फाइदा उठाउँदै सीमा क्षेत्र अतिक्रमण जस्ता निम्नस्तरीय क्रियाकलापमा गर्ने गरेको छ । दुई देशबीचको सीमा क्षेत्रमा तनाव, गोलाबारी र युद्धसमेत हुने गरेको त अन्यत्र पनि सुनिएको छ । तर भारतले जुन रूपमा प्रतिवर्ष सीमा स्तम्भ उखेल्दै नेपाली सीमा क्षेत्रको भूभाग अतिक्रमण गर्ने गरेको छ, सायद यो विश्वकै अनौठो र एक्लो घटना होला ! त्यसैले राजदूत रेले सीमा नियन्त्रण वा व्यवस्थापनबारेमा आवाज उठाउन सकेको भए उक्त कुराले दुवै देशको सुरक्षा र हित प्रवद्र्धनको लागि निकै महत्त्व राख्थ्यो ।

सोही कार्यक्रममा राजदूत रेले सबैले सुखमा साथ दिन्छन्, तर भारत नेपालको दुःखमा पनि साथ दिने मित्र हो भन्ने दाबीसमेत गरेछन् । त्यति मात्र नभएर उनले भारत नेपालको दुःखको साथी भएको प्रमाणको रूपमा भूकम्पको बेला भारतीले नेपालमा ठूलो सहयोग गरेको कुराको स्मरणसमेत गराएछन् । भारत नेपालको नजिकको मित्र भएको र उसले नेपालको दुःखमा साथ दिने गरेको अस्वीकार गरिहाल्नुपर्ने कारण छैन ।

तर आफूले गरेको सहयोगको बदला भारतले चर्को मूल्य असुल्ने गरेको छ । भारतले नेपाललाई गर्ने गरेको सहयोग र सो गुनबापत असुल्ने गरेको मूल्यबीच तुलना गर्दा सहयोगको कुनै महत्त्व रहेको पाइँदैन । यसै कारणले पनि भारतप्रति नेपाली सशंकित हुनुपर्ने स्थिति रहेकोप्रति राजदूत रेलगायत भारतको नेपाल नीतिनिर्माताको ध्यान नपुग्नु वा पुगे पनि त्यसलाई बेवास्ता गर्नुलाई विडम्बना नै मान्नुपर्ने हुन्छ ।

भूकम्पको बेलामा भारतीयहरूले नेपालमा ठूलो सहयोग गरेको स्मरण गराइरहँदा राजदूत रेले उनको आफ्नै (सम्भवतः !) सिफारिसमा नेपालले संविधान जारी गरेको रिसमा अन्तर्राष्ट्रिय कानुनविपरीत भारतले गरेको नाकाबन्दीबाट नेपालीलाई कतिविघ्न दुःख झेल्नुपर्‌यो ? नेपालले कति आर्थिक नोक्सानी व्यहोर्नुपर्‌यो ? नेपालको आर्थिक, राजनीतिक विकासले कति धक्का खानुपर्‌यो ? अनि यसले नेपाल भारत सम्बन्धलाई कति नकारात्मक प्रभाव पा‍र्‌यो भन्नेतर्फ ध्यानै दिएको पाइएन । राजदूत रेले नेपालीसामु उल्लिखित अभिव्यक्ति दिइरहँदा दुइटा कुराको हेक्का राख्नुपथ्र्यो ।

पहिलो, उनको यस किसिमको दाबीलाई अन्तर्राष्ट्रिय समुदाय (नेपालभित्रकै अन्य कूटनीतिज्ञसमेत) ले कुन अर्थमा बुझ्ला ? दोस्रो, नेपालमा स्वाभिमानी र देशभक्त नेपालीहरूको विशाल पंक्ति छ । यसकै सचेत पहलमा नेपाली राष्ट्रियता र राष्ट्रिय स्वाभिमान बाँचेको छ । जुन कुरा कम्तीमा भूकम्पपश्चात्को भारतीय नाकाबन्दीप्रति नेपाली जनमानसमा विकसित भावनालाई हेरेर राजदूत रेले धेरै हदसम्म बुझेको हुनुपर्छ । त्यो स्वाभिमानी पंक्तिले उनको भनाइ कसरी ग्रहण गर्ला ?

विडम्बना, राजदूत रेले आफूलाई व्यवहारबाट पनि नसिक्ने पात्रको रूपमा प्रस्तुत गरिरहेका छन् । यही नै भारतको नेपाल नीतिमा रहेको मूल कमजोरी हो ।

हुन त भारतको नेपाल नीति सम्बन्धमा चर्चा गरिरहँदा रन्जित रेहरूलाई मात्र दोष दिनु उचित हुने छैन । यहाँ रेभन्दा पनि खाँटी नेपाली 'रेहरू' छन् । जसले सत्ता स्वार्थसँग जे पनि साट्ने गरेका छन् । तापनि राजदूत रेको कमजोरी केमा देखियो भने उनले आफ्नो दूतावासले कायम गरेको 'कुत्तेका बहिखाता' बाट भत्ता खानेहरू, उनीहरूबाट प्रदान गरिने छात्रवृत्तिबाट डिग्री प्राप्तहरू र सत्ता स्वार्थका लागि लैनचौर र दिल्ली धाउनेहरूको समर्थनमा नेपालमा जे गर्दा पनि हुन्छ भन्ने बुझे ।

उनीहरूले नेपालका मिर जाफर र जयचन्दहरूले धेरै काम फत्ते गर्न सक्छन् भन्ठाने । त्यसैले भारतको नेपाल नीति संकीर्ण र बलमिचाइमा आधारित रह्यो ।

यी आधारमा के निष्कर्षमा पुग्नुपर्ने हुन्छ भने वास्तवमा भारतले नेपालप्रति कहिल्यै मित्रतापूर्ण व्यवहार गरेन । मित्रताको रूपमा सदैव पिठ्युँ पछाडि छुरा रोप्ने कार्य मात्र गरिरह्यो । यसक्रममा नेपालमा जति पनि भारतीय राजदूतहरू आए, उनीहरूले आफूलाई बीएस दासको रूपमा लिए । यसरी आजसम्मको नेपाल भारत कूटनीतिक सम्बन्धको इतिहास भनेकै बीएस दासहरूको निरन्तरताको इतिहास मात्र बन्न पुगेको छ ।

यसो गरेर भारतले आफ्नो खुट्टामा आफैं बन्चरो हान्ने कार्य गरेको छ । त्यो कुन अर्थमा भने ऊ एकातिर कश्मीरमा पृथकतावादीहरूले पाकिस्तानी हस्तक्षेप निम्त्याउने कार्य गरे । पाकिस्तानले कश्मीरमा घूसपैठ गर्‌यो भनी अन्तर्राष्ट्रिय समुदायसामु हारगुहार गरिरहेको छ । अर्कोतिर नेपालमा दलालहरू सिर्जना गरेर उनीहरूमार्फत कहिले संविधान जारी गर्नबाट रोक्ने त कहिले कार्यान्वयन गर्न नदिने, त्यो पनि नभए देशै टुक्र्याउँछौं भन्न लगाइरहेको छ । यसबाट भारतको नियत प्रस्ट भएको छ । भारत आफैं नराम्रोसँग नांगिन पुगेको छ । यसबाट राजदूत रेले पोखरामा व्यक्त गरेका धारणा देखावटी मात्र भएको प्रमाणित हुन जान्छ ।

त्यसैले राजदूत रेमा थोरै मात्र नैतिकता र इमानदारी भए उनले बीएस दास बन्ने परम्परा छोड्नुपर्छ । एउटा असल कूटनीतिज्ञले गर्ने व्यवहार गर्नुपर्छ । जसले गर्दा नेपाल-भारत सम्बन्धमा आशा गरिएजस्तो आत्मीयताको विकास हुन सकोस् । यसमै उनको कूटनीतिक सफलता प्रकट हुनेछ । यसको लागि उनले ‘कुत्तेका बहिखाता’ खडा गरेर घटिया, अनैतिक र स्वाभिमानविहीनहरूसँग हिमचिम बढाउँदै आफूलाई तिनको कोटीमा झार्नुभन्दा राष्ट्रवादी, स्वाभिमानी नेपालीहरूको भावनाको सम्मान गर्दै नेपाल-भारत सम्बन्धमा लामो समयदेखि कायम अविश्वास र असमझदारीलाई हटाउने आँट गर्नुपर्छ ।

यससँगै रेहरूले के पनि ख्याल राख्नुपर्छ भने नेपालीले भारतीय स्वतन्त्रता संग्रामसँगै आधुनिक भारतको निर्माण र विकास कार्यमा प्रशस्त मात्रामा सघाइरहेका छन् । यसो गरिरहँदा उनीहरूले कहींकतै भारतलाई अस्थिर तुल्याउने क्रियाकलापमा संलग्नता जनाएका छैनन् । कसैलाई भारतविरुद्ध उक्साउने कार्य पनि गरेका छैनन् । के दुई देशबीचको मित्रताको लागि आवश्यक यस किसिमको उच्च संस्कार भारतीयहरूले नेपालीबाट सिक्दा हुँदैन र !

कुनै कुराको गुण सिक्नुभन्दा त्यस वस्तुलाई आफ्नो बनाउन तम्सने विकृत मानसिकतालाई मात्र त्याग्न सके भारत दक्षिण एसियाको अगुवा बन्न सक्नेछ । उसको अन्तर्राष्ट्रिय प्रतिष्ठामा वृद्धि हुनेछ । यसनिम्ति रे जस्ता कूटनीतिक पात्रहरूले पनि केही योगदान दिने आँट गर्नुपर्छ । कम्तीमा यो ज्ञान उनले नेपालबाट ग्रहण गर्न सके नेपाल-भारत सम्बन्ध अनि राजदूत रेकै लागि पनि ठूलो उपलब्धि हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.