के हो होमियोप्याथिक

तपार्इं रोग उपचारका लागि कुनै होमियोप्याथिक चिकित्सककहाँ पुग्नुभयो भने चिकित्सकले तपाईंले भनेका समस्यालाई टिपोट गर्छन् । यससबाहेक तपाईंको इच्छा, अनिच्छा, भोकप्यास, निद्रा, सपना, जाडो, गर्मी, रिसराग, द्वैष, सामाजिक अवस्था एवं बिरामीको स्वभावका बारेमा सोध्छन् ।
तपाईंलाई एकप्रकारको अनौठो अनुभव हुन्छ किनभने होमियोप्याथीमा रोगको निदान गर्ने प्रक्रिया एलोप्याथिकभन्दा अलि भिन्न छ । होमियोप्याथिक चिकित्सकलाई तपाईंको शारीरिक तथा मानसिक संरचनाको बारेमा जान्नुपर्ने हुन्छ । त्यसैले बिरामीको केसहिस्ट्री लिँदा अलिक बढी समय लाग्नसक्छ ।
तपाईंको व्यक्तिगत अवस्थाको चित्रण गरेर केही सोचविचारपछि साबुदानाजस्तै आकारका गुलियो स्वाद भएका केही गोली औषधिका रूपमा सेवन गर्न दिइन्छ । तपाईंले चिकित्सकको निर्देशनअनुसार औषधि सेवन गर्नुहुन्छ । त्यसको केही समयपछि तपाईंको रोग निको हुन्छ । तपाईंलाई आश्चर्य लाग्छ, यो कुनै जादु वा चमत्कार त होइन ? होमियोप्याथीको सम्बन्धमा सबैले जान्नैपर्ने कुराः
के हो होमियोप्याथिक ?
होमियोप्याथी शब्द युनानी भाषाको दुई शब्द ‘होमोइज' अर्थात् सदृश्य र ‘प्याथोज' अर्थात् रोग सफरिङ मिलेर बनेको हो । यसको अर्थ हो, सदृशरोगचिकित्सा । यसअनुसार जुन औषधीय पदार्थ एउटा स्वस्थ मानिसमा प्रयोग गर्नाले जुन प्रकारको रोगको लक्षण उत्पन्न हुन्छ । औषधिले त्यस्तै प्रकारका लक्षण भएका रोगीलाई सूक्ष्म रूपमा सेवन गराउनाले आरोग्य प्रदान गर्छ ।
यो चिकित्सा विज्ञानको जन्मदाता डा. हैनिमैन एमडी (१७५५–१८४३) हुन् । सन् १८०५ मा हैनिमैनले यस सिद्धान्तको खोज गरे । सन् १८९० तिर यसलाई प्रतिपादित गरे । यो प्रकृतिको सिद्धान्त ‘समानताले समानताको उपचार'मा आधारित छ । चिकित्सा विज्ञानका रूपमा आज संसारको प्रत्येक मुलुकमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को एक सर्वेक्षणअनुसार एलोप्याथीपछिको दोस्रो चिकित्सापद्धति होमियोप्याथी हो ।
औषधि
होमियोप्याथिक चिकित्सामा प्रायः गरेर उही औषधि प्रयोग गरिन्छ, जुन एलोप्याथी, आयुर्वेदिक तथा युनानी चिकित्सा प्रणालीअन्तर्गत प्रयोगमा ल्याइन्छ । फरक यतिमात्र हो कि अन्य चिकित्सा पद्दतिमा औषधिको प्रयोग स्थुल रूपमा गरिन्छ भने होमियोप्याथिकमा अत्यन्त सूक्ष्म रूपमा गरिन्छ ।
यी चिकित्सा विधिमा वनस्पति, खनिज पदार्थ, पशुहरू तथा रोगजन्य विषबाट तयार गरिएका औषधिहरू प्रयोगमा ल्याइन्छ । मूल रूपमा हेर्ने हो भने यी सबै एकै हुन् तर औषधि निर्माणको प्रक्रियामा भने फरक छ । होमियोप्याथिकमा प्रयोग हुने औषधिको परीक्षण स्वस्थ व्यक्तिहरूमा गरिएको हुन्छ । जनावर या रोगीहरूमा गरिएको हुँदैन । औषधिको कुनै प्रकारको दुष्प्रभाव छैन ।
कसरी काम गर्छ ?
होमियोप्याथिक औषधिले हामीभित्र रहेको डिफेन्समेकानिजमलाई एक्साइट गरी स्वउपचार प्रक्रियालाई क्रियाशील बनाई रोग मुक्तिको पथमा लम्कन सहयोग गर्छ ।
एकल औषधि
होमियोप्याथीमा रोगीलाई उसको रोग निदानपछि एक समयमा एउटा औषधि दिइने प्रावधान छ । हैनिमैनले आफ्नो अनुभवका आधारमा एकपटकमा एउटा औषधि दिने विधान निश्चित गरेका थिए । अहिले आएर यसमा पनि पर्याप्त परिवर्तन भइसकेको छ ।
होमियोप्याथिक चिकित्सकमध्ये केही त हैनिमैनले देखाएको बाटोमै हिँडिरहेका छन् कोही भने आफ्नो स्वतन्त्र बाटो बनाएर हिँड्न थालेका छन् । एकपटक आफ्ना रोगीलाई पाँचसातवटा औषधिको सेवन गर्न निर्देश दिन्छन्, जुन होमियोप्याथिकको सिद्धान्तविपरीत हो ।
औषधिको न्यून मात्रा
होमियोप्याथी चिकित्सा विज्ञानको आधारमा रोगीलाई उसको रोग निदानपश्चात् दिइने औषधिको मात्रा अति न्यून हुनुपर्छ । औषधिको कुनै दुष्परिणाम नदेखियोस् । होमियोप्याथी यस्तो उपचार पद्धति हो जसमा निकै कम औषधिको प्रयोगपछि शरीरभित्रै रहेको स्वउपचार प्रक्रियालाई क्रियाशील बनाइन्छ । रोगबाट मुक्तिको प्रयास गरिन्छ । रोगीलाई कुनै प्रकारको शारीरिक एवं मानसिक कष्ट नदिईकन प्राकृतिक रूपले रोगबाट मुक्त गरी स्वस्थ बनाउँछ ।
व्यक्तिपरक चिकित्सा
यो एउटा मूल प्रसंग हो । सत्य पनि हो कि होमियोप्याथीमा रोगको नाउँले उपचार गरिँदैन । रोग लागेको व्यक्तिको मानसिक एवं शारीरिक तथा भावनात्मक आदि सबै पक्षको उपचार गरिन्छ । जस्तै निमोनियाका पाँचजना रोगीको होमियोप्याथीमा एउटै औषधिले उपचार गरिँदैन । समष्टिगत लक्षणका आधारमा यी पाँचैजना रोगीलाई भिन्दाभिन्दै औषधिको प्रयोग गराइन्छ । किनभने होमियोप्याथीको मूल सिद्धान्त ‘रोगीको उपचार गर रोगको होइन' भन्ने हो ।
औषधि छनोट
एलोप्याथीमा प्रत्येक रोगका केही निश्चित औषधि छन् । तर होमियोप्याथिक चिकित्सा प्रणालीमा त्यस्तो छैन । लक्षण समष्टिगतको आधारमा उपयुक्त औषधि छनोट गरी रोगीलाई दिइनाले मात्र बिरामी ठीक हुन्छ, नभए हुँदैन । होमियोप्याथिक चिकित्सामा एकल औषधि चयन गर्नु एउटा कठिन कार्य हो । किनभने यस चिकित्सा प्रणालीमा कुनै निश्चित रोगको निश्चित औषधि हँुदैन न त एउटा औषधिको अभावमा अर्को औषधि दिने चलन नै छ ।
होमियोप्याथीबारे भ्रम
होमियोप्याथी औषधि सेवन गर्दा एलोप्यागी औषधिको व्यवहार गर्नु हँुदैन । यो गलत हो । कुनै बिरामी लामो समयदेखि एलोप्याथिक औषधिको नियमित सेवन गरिरहेको छ, खासगरी दम, हाई ब्लडप्रेसर, मधुमेह, छारेरोग, डिप्रेसन, थाइरोइडका लागि भने त्यस्ता बिरामीले आफूले सेवन गर्दै गरेको औषधि तुरुन्तै बन्द गर्नु हुँदैन । औषधि बन्द गर्नाले रोगको लक्षण बढ्न सक्छ ।
राम्रो त के हो भने रोगमा सुधारको क्रम आरम्भ भएपछि विस्तारै एलोप्याथिक वा अन्य औषधिको सेवन चिकित्सकको सल्लाहअनुसार कम गर्दै जानुपर्छ । एलोप्याथिक औषधि र होमियोप्याथिकको बीचमा एक घन्टाको फरक राखेर औषधि सेवन गर्न सकिन्छ ।
रोगलाई बढाउँछ
होमियोप्याथिक औषधि रोगीको लक्षणको सामानताका आधारमा दिइन्छ । औषधि सेवनपछि पहिलो प्रभाव रोगीलाई उसको रोग बढेको अनुभव हुनसक्छ । यो होमियोप्याथीको एग्राभेसन हो । यस किसिमको रोग वृद्धि प्रायः छालासम्बन्धी रोगमा देखिन्छ, जुन उपचारात्मक प्रक्रियाको अंश हो । केही समयपछि आफैं साम्य भएर जान्छ । सबै किसिमको रोगमा भने हुँदैन ।
केटाकेटीको औषधि हो
होमियोप्याथिक औषधिहरू बाल, वृद्ध, युवा तथा गर्भवती महिलालगायत सबै उमेरका बिरामीका लागि सामान्य रूपले प्रभावकारी छ । बालबालिकालाई सुरुबाट नै होमियोप्याथीमा उपचार गराइन्छ भने उसको रोग त निको हुन्छ नै, शरीरको प्रतिरोधात्मक क्षमतामा पनि वृद्धि हुन्छ ।
विस्तारै काम
औषधिको ढिलो वा चाँडो प्रभाव रोगको अवस्था र रोगीको स्थितिमा भर पर्छ । रोग एक्युट हो या दीर्घकालीन । एक्युट रोग हालसालै उत्पन्न हुन्छ, जस्तै रुघा लाग्नु, ज्वरो आउनु, टाउको दुख्नु आदि । यी रोग तीव्र गतिले बढ्छन् । समयमै औषधि रोगीलाई दिइयो भने चाँडै नै परिणाम देखिन्छ । दीर्घकालीन रोगको लामो इतिहास हुन्छ ।
जस्तै दम, ब्रोंकाइटिस, छालाको रोग, अर्थराइटिस आदि, जसको अन्य चिकित्साद्वारा निरन्तर दबाउने कार्य हुन्छ । यसप्रकार क्रोनिक डिजिज ठीक हुन निश्चित रूपले समय लाग्छ । यस्ता रोगको जटिलताले गर्दा उपचारमा बढी समय लाग्छ ।
आवश्यक पर्दा मात्र ल्याब टेस्ट
रोगको निदान गर्न पेथोलोजिकल परीक्षण आवश्यक हुन्छ । होमियोप्याथीमा पनि रोगको उपेक्षा गरिँदैन । तर, प्याथोलोजिकल रिपोर्टको अध्ययन सबै रोगका लागि आवश्यक पर्दैन । रोगको अवस्थाअनुसार आवश्यक पर्यो भनेमात्र ल्याब टेस्ट गराइन्छ । यसबाट रोगीको समुचित व्यवस्था मिलाउन, भविष्यफल थाहा पाउन र बिरामीको फलोअपमा मद्दत गर्छ ।
सबै औषधि उस्तै
होमियोप्याथिकमा औषधिहरूको एउटै किसिमको आकारप्रकार देखेर शिक्षित व्याक्ति पनि भ्रममा पर्छ । कुनै पनि रोगका लागि एकै प्रकारको (सेतो दाना) औषधिका रूपमा दिइन्छ । वास्तवमा दाना (ग्लोबुल्स) स्वयंमा कुनै औषधि होइन । रोगीको शरीरमा औषधि पुर्याउने एउटा माध्यममात्र हो । होमियोप्याथीमा तयार भएका औषधि सबै एकैनासको देखिन्छन् । तर, यी औषधिको काम भने फरक हुन्छ । भौतिक रूपमा समान देखिए पनि प्रभाव एकैनास हुन्छ भन्ने होइन ।
लसुन, प्याज, चिया, कफी, पानको प्रयोग गर्नु हुन्न
यी सब कुरा गलत हुन् । यी चिजको प्रयोगले औषधिको प्रभावकारितामा कुनै असर पार्दैन । होमियोप्याथिक औषधिले चिया, कफी, पान, खैनी, गुट्का खाने बानी भएका रोगीमा पनि उत्तिकै काम गर्छ । जति धूमपान नगर्ने मानिसमा काम गर्छ, उत्ति नै गर्नेलाई पनि गर्छ । मात्र पिपरमिन्ट तथा कालो कफीको प्रयोग उपचारका क्रममा गर्नु हुँदैन । यसले होमियोप्याथिक औषधिको प्रभावलाई मात्र होइन, अन्य औषधिको प्रभावलाई समेत नष्ट गरिदिन्छ ।
योग्यता
होमियोप्याथी एउटा अन्य रेगुलर मेडिकल कोर्सजस्तै हो । यसमा पनि साढे पाँच वर्षको मेडिकल पढाइ हुन्छ, जसमा एक वर्ष इन्टर्नसिप (व्यावहारिक ज्ञान) अनिवार्य रूपले गराइन्छ । विश्वविद्यालयको निर्धारित पाठ्यक्रमअनुसार एनाटोमी, फिजियोलोजी, मेटेरियामेडिका, अर्गेनन्, रिपोटए, पेथोलोजी, जुरिसपुडेन्स, सर्जरी, प्राक्टिस अफ मेडिसिन, स्त्रीरोग तथा प्रसूति विज्ञान, मनोविज्ञान, माइक्रोबायोलोजी आदि पढ्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस !
