ज्येष्ठ नागरिकको व्यवस्थापन

 ज्येष्ठ नागरिकको व्यवस्थापन

नेपाली समाजमा ज्येष्ठ नागरिकको उचित व्यवस्थापनको बारेमा व्यापक चर्चा-परिचर्चा भइरहेको छ । पारिवारिक विशृंखल, बसाइँसराइ र वैदेशिक रोजगारले ज्येष्ठ नागरिकको पारिवारिक बसाइँ असजिलो र कष्टकर हुँदै गएको छ । सामाजिक परिवेश र मान्यतामा आएको परिवर्तनले पनि पारिवारिक सुखसुविधा र शान्ति कायम गर्न असजिलो भएको छ ।

कृषि पेसाबाट अन्य पेसामा लाग्नु, ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा बसाइँ सर्नु, ज्येष्ठ नागरिकको बाँच्ने उमेर लम्बिनु, छोराछोरीको विकसित देशमा स्थायी रूपले बसाइँ सर्नु, वैदेशिक रोजगारमा जानु, सामाजिक मान्यतामा आएको परिवर्तन, परिवारका सदस्यबीच सञ्चार आदानप्रदानको अभावमा अनुमान र अरूको कुरा सुनेर बनाइने धारणाले पुस्तान्तरण समस्या देखा परेको छ । एकै छानोमुनि बस्ने परिवारका सदस्यहरूको प्रत्यक्ष संवादको अभावमा पनि अनावश्यक भ्रम सिर्जना हुने गरिएको पाइएको छ ।

यही मंसिर ११ गते अन्नपूर्ण पोस्ट्मा ‘बुढेशकालमा बिचल्ली' शीर्षकमा प्रकाशित लेख पढेपछि सबै ज्येष्ठ नागरिकका मनमा चस्को पसेको पाइएको छ । नेपालको ऐन-कानुनले ६० वर्षमाथिकालाई ज्येष्ठ नागरिक र ७० वर्ष पुगेकालाई ज्येष्ठ नागरिक भत्ताको व्यवस्था गरेको छ । उमेरको आधारमा दिइने यो भत्ताले सम्पन्न र आयका अन्य स्रोत भएका वृद्ध र बेसहारा असहायलाई एकै कोटीमा राखेको छ ।

सामाजिक न्यायका दृष्टिले असहाय र बेसहारालाई मात्र यस्तो सुविधा बरु पर्याप्त दिनु राम्रो हुन्थ्यो होला । गोरखा जिल्लाको केरौंजा गाउँमा छोराछोरीले विवाहपछि आमाबाबुलाई छोड्ने पुरानो परम्पराका कारण बुढेसकालमा ज्येष्ठ नागरिकको बिचल्ली हुने गरेको छ ।

‘छोराले बाबुआमालाई लालनपालन गर्नुपर्छ भनेर मायाको भाव देखाए पनि बुहारीले मान्दैनन् । छुट्टिएर बसे पनि छोराले त माया गर्छ, तर बुहारी देख्नै मान्दिनँ । एक दिन त्यसले पनि मैलेजस्तै छोराछोरी सम्झीसम्झी मर्नुपर्छ । भर्खर बिहे गर्दा हामीले पनि सासू-ससुरालाई छोडियो होला तर आफूलाई परेपछि मात्र थाहा हुँदो रहेछ' भन्ने बूढाबूढीको भनाइ छ ।

गोरखाको केरौंजा गाउँको चलन संयुक्त परिवारबाट एकल परिवारमा रूपान्तरण भएका देशभरिको नै समस्या हो । सामाजिक परिवेशको यो परिवर्तनले वर्तमानका ज्येष्ठ नागरिकको उचित व्यवस्थापनमा समस्या परेको छ । पैत्रिक सम्पत्तिको बाँडफाँट, भविष्यको लागि आर्थिक सुनिश्चितता नगरी छोराछोरीको पढाइ, विवाह र नातिनातिनाको पढाइ खास गरेर मेडिकल र इन्जिनियरिङ शिक्षा र विकसित देशमा पढ्न जान ठूलो सञ्चित रकम खर्च गरेर सहरी क्षेत्रका सम्भ्रान्त र सम्पन्न परिवारका ज्येष्ठ नागरिकको पनि बिचल्ली हुने गरेको पाइएको छ ।

सम्पत्ति यस्तो चिज हो, जो भएर पनि दुःख हुन्छ र नभए पनि दुःख हुन्छ । असल सन्तानले आफैं राम्रो काम गरेर आयआर्जन गर्ने भएकाले पैत्रिक सम्पत्तिको आसमा बसिरहँदैनन् । अर्कोतर्फ खराब सन्तानले जतिसुकै पैत्रिक सम्पत्ति भए पनि कुलत र खराब आचरणले सबै सम्पत्ति सखाप पारेर परिवारको पाटीवास गराएको पनि देखिएको छ । अरूलाई गाली गरेर पुर्पुरोमा हात राखेर बस्नुभन्दा बेलैमा होसियारी लिनु नै बुद्धिमानी देखिएको छ ।

ज्येष्ठ नागरिकको व्यवस्थापन घरबाहिर वृद्धा श्रम र परिवारभित्रै व्यवस्थापन गरी दुई किसिमले गर्नुपर्ने हुन्छ । नेपालको हालको सामाजिक क्षेत्रमा सरकारले छुट्ट्याएको बजेट र व्यवस्थापन तथा ज्येष्ठ नागरिकको संख्याको हिसाबले सबै ज्येष्ठ नागरिकलाई वृद्धा श्रम खोलेर राख्न सकिने अवस्था छैन । त्यसैले असक्त र बेसहारालाई वृद्धा श्रममा राखे पनि अन्यलाई परिवारमै सम्मानपूर्वक बस्ने वातावरण बनाउनु समाज र राज्यको जिम्मेवारीभित्रै पर्छ ।

परिवार राम्रोसँग चल्नको लागि परिवारका सबै सदस्यको आफूले सक्दो योगदान अनिवार्य नै हुन्छ । ज्येष्ठ नागरिकको परिवारमा सम्मान र आदरपूर्वक बस्नको लागि सम्पत्तिको व्यवस्थापन महत्वपूर्ण रहेको छ । मुलुकी ऐनको अंशबन्डाको महलमा पैत्रिक सम्पत्ति बाबुआमा र छोरा तथा विवाह नगरेर बसेकी छोरीलार्ई बराबर अंश लाग्ने व्यवस्था छ ।

पैत्रिक सम्पत्तिबाहेक आफूले स्वआर्जन गरेको सम्पत्ति आफूखुसी गर्न पाउने व्यवस्था छ । त्यसैले हरेक ज्येष्ठ नागरिकले बुढेसकालको लागि स्वआर्जनको सम्पत्ति बाँडफाँट नगरी आफू श्रीमान्÷ श्रीमती दुवैको शेषपछि मात्र बाँडफाँट गर्नुपर्ने हुन्छ । शेषपछि बाँडफाँट नगरेको सम्पत्तिमा छोराछोरीले झगडा गर्लान् भन्ने लाग्छ भने शेषपछिको बकसपत्र वा इच्छापत्र लेखेर पनि सम्पत्तिको व्यवस्थापन गर्न सकिन्छ ।

नेपाली समाजमा परम्परादेखि नै चलिआएको संयुक्त परिवार सञ्चालनमा घरमूलीले घरको सबै खर्च र व्यवहार गर्ने, घरमुली र छोराले बराबर घर खर्च गर्ने, छोराले नै घरको सबै खर्च बेहोर्ने गरी परिवारिक सम्बन्ध निर्धारण गरेको हुन्छ । छोराले म बुबासँग बसेको छु, बुबा र म सँगै बसेका छौं, बुबाआमा मसँग बस्नुभएको छ भन्ने प्रचलन यसैका आधारमा रहेको छ । आम्दानी र खर्चको उचित व्यवस्थापन हुन नसक्दा घेरै परिवारमा बेमेल देखा परेको छ ।

ज्येष्ठ नागरिकले बुढेशकाल बोझ होइन, सुखमय बनाउनको लागि निम्न १० सूत्र व्यवहारमा प्रयोग गरेमा पनि परिवारमै स्थापित भएर बसिरहन सहयोग पुग्नेछ-
. आफ्नो घर वा आफू बसेको ठाउँमै रमाएर बस्ने जसले गर्दा आफ्नो गोपनीयता र स्वतन्त्रता कायम रहोस् ।
.आफ्नो चलअचल सम्पत्ति आफू र आफ्नो श्रीमान् वा श्रीमतीको नाममा राख्ने ।
.बुढेसकालमा हजुरहरूको हेरचाह गरिहाल्छौं भनेर छोराछोरीको भनाइमा नलाग्ने । विवाहपछि छोराछोरी जन्मेपछि उनीहरूको प्राथमिकता परिवर्तन हुँदै जान्छ ।
.साथीसंगतको घेरा विस्तार गर्दै सतसंगत र आफ्ना छिमेकी र सधैं भेटघाट हुनेसँग राम्रो सम्बन्ध कायम गरौं ।
. अरूसँग तुलना नगरौं र अरूसँग केही आशा नगरौं । आफूसँग जे छ, त्यसैमा सन्तोष लिने ।
.छोराछोरीको जिन्दगीमा हस्तक्षेप नगरौं ।
.बुढेसकाल भनेर अरूको हेरचाह, आदर, सम्मान र ध्यानाकर्षण गर्ने कोसिस नगरौं ।
. अरूको कुरा सुनौं तर आफ्नो निर्णय स्वतन्त्रतापूर्वक आफैंले गरौं । अरूले के भन्लान् भन्नेतिर नलागी अन्तरआत्माको आवाज सुनौं ।
. प्रार्थना गरौं, तर अरूसँग नमागौं, भगवान्सँग पनि कृपा र दया नमागौं ।
. अन्त्यमा जिन्दगीमा अवकाश लिने कोसिस नगरौं । बाँचुन्जेल र सकुन्जेल सक्नेजति काम आफैं गरौं ।
साभारः चिनमाया मिसन फेसबुकबाट)

ज्येष्ठ नागरिकको वर्तमान पुस्तालाई सकेसम्म परिवारमै बस्ने वातावरण सिर्जना गरौं । हिजो गइसक्यो, भोलिको के भरोसा जीवन भनेको आजै हो । आजको युवा पुस्ता नै भोलिका ज्येष्ठ नागरिक हुन् । अहिले युवाले आफ्ना बाबुआमालाई जस्तो व्यवहार गर्छन् भोलि उनीहरूले पनि त्यस्तै व्यवहार आफ्ना सन्तानबाट पाउनेछन् । यो संसारको जीवनचक्र नै रहेको छ ।

आजको युवा पुस्ता नै भोलिका ज्येष्ठ नागरिक हुन् । अहिले युवाले आफ्ना बाबुआमालाई जस्तो व्यवहार गर्छन् भोलि उनीहरूले पनि त्यस्तै व्यवहार आफ्ना सन्तानबाट पाउनेछन् । सबैले ‘मान्छे बूढो भए निहुँ खोज्छ, वस्तु बूढो भए भीर खोज्छ' भन्ने उखान बिर्सेर ज्येष्ठ नागरिकहरूले विगतमा गरेका राम्रा काम सम्झने गर्नुपर्छ ।

ज्येष्ठ नागरिकले पनि ‘मान्छे बूढो भए निहुँ खोज्छ, वस्तु बूढो भए भीर खोज्छ' भन्ने उखान बिर्सेर उनीहरूले विगतमा गरेका राम्रा काम सम्झने गर्नुपर्छ । अति नै भएपछि विकल्प पनि खोज्नुपर्छ । त्यसैको लागि उमेरमै आर्थिक व्यवस्थापनमा ध्यान दिनुपरेको हो ।

आर्थिक रूपले सक्षम भएपछि आफू बसेको घरमै सहायकको व्यवस्था गरेर स्वतन्त्र भएर बस्ने, नर्सिङहोम, सःशुल्क वृद्धा श्रम वा अन्य तीर्थस्थलका आ श्रममा बसेर पनि बाँकी जीवन शान्तिपूर्वक बिताउन सकिन्छ । असक्त, असहाय र बेसहारा तथा आर्थिक रूपले सक्षम नभएकालाई मात्र वृद्धा श्रममा राख्ने अन्यलाई परिवारमै बस्ने वातावरण बनाउनु राज्य समाज र परिवारका सबै सदस्यको दायित्व मान्नुपर्छ । वृद्धावस्थालाई बोझको रूपमा नभई जीवनको उत्तरार्धमा सबैले भोग्नुपर्ने अनिवार्य अवस्था मानेर सकेसम्म सुखमय बनाउनमै लाग्नु परिवारका सबै सदस्यको जिम्मेवारी त्यत्तिकै महत्वपूर्ण रहेको छ ।



प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.