समृद्ध प्रदेशको आधार

 समृद्ध प्रदेशको आधार

सात वर्षको समयावधिमा दुइटा संविधानसभामार्फत भएका अनेक रस्साकस्सीबीच गत साल संविधान घोषणा त भयो तर यसको कार्यान्वयन अधुरै रहेको छ । घोषणाको क्रममा दलहरूबीच अभूतपूर्व एकता त भयो तर त्यसले न्वारानै गर्न पाएन ।

प्रमुख दलहरूबीचको एकता टुटाउन भएको भयानक बाह्य दबाबले सार्थकता त पायो तर आन्तरिक राजनीतिको केन्द्र कहाँ छ, पत्तो नपाउने स्थिति बन्न पुग्यो । संविधान घोषणाअघिदेखि नै असन्तुष्ट तराईकेन्द्रित केही दलहरू लगातार आन्दोलनमा रहे । न गत साल थोपरिएको नाकाबन्दीले उनीहरूको माग पूरा भए न घोषणापछि गरिएको संविधान संशोधनले नै । बहुजातीय देशमा बहुआयामिक द्वन्द्व पैदा गर्ने अनेक प्रयत्न भइरहेका छन् ।

गतिलो मनोविज्ञान बिथोल्ने र भड्काउने अनेक प्रयत्न अझै जारी छ । जहाँ सद्भाव कायम छ, त्यहाँ घम्साघम्सीको बीउ रोप्ने प्रयास गरिँदै छ । प्रस्तावित ‘बुद्ध सर्किट' को केन्द्र र भूराजनीतिक तथा भूरणनीतिक हिसाबले धेरै महत्वपूर्ण मानिएको लुम्बिनीसहितको पाँच नम्बर प्रदेशबाट पहाडी इलाका छुट्ट्याउने खेल सुरु भएको छ । आधा जमिन समतल फाँटमा र आधा पहाडमा अनि आधा परिवार तराईमा र आधा उच्च भागमा मिलेर बसेका समुदायको जबर्जस्ती टाउको र पेट छुट्ट्याउने खेल सुरु भएको छ ।

देश प्रदेशको संरचनामा गइसकेपछि प्रदेशहरूको आजको सीमा के होला, यसै भन्न सकिन्न तर अब आफ्नो प्रदेशलाई कसरी समृद्ध र सम्पन्नशाली बनाउने भन्ने बहस भने आजैदेखि सुरु हुनु अनिवार्य छ । आफ्नो प्रदेशमा केकस्ता खालका समृद्धिका प्रचुर सम्भावना, अवसर र चुनौती छन्, आजैदेखि अध्ययन र छलफल हुन जरुरी छ ।

हरेक प्रदेश सम्पन्न हँुदा राष्ट्र सम्पन्न हुन्छ र यसले देशमा समृद्धि ल्याउँछ । त्यसैले सम्बन्धित प्रदेशका नागरिकलाई आआफ्नो प्रदेशमा आर्थिक, भौतिक, राजनीतिक र मनोवैज्ञानिक रूपमै केन्द्रित गर्ने खालका कार्यक्रम ल्याइनुपर्छ । ‘समृद्ध प्रदेश' को नारालाई अभियानमा ढाल्दै स्रोत परिचालनको खाका तयार गरिनुपर्दछ । खाकासँग स्थानीय राजनीति र जनपरिचालनलाई जोड्दै अघि बढ्न सके समृद्धि सम्भव हुनेछ ।

प्रदेश नम्बर ६ को हकमा कुरा गर्दा यो क्षेत्र धेरै सम्भावना बोकेको हुनाले राजनीति, अर्थ, जनपरिचालन र समृद्धिको खाकाबीच राम्रो तालमेल हुँदा भविष्यमा देशकै समृद्ध प्रदेशमध्ये एक हुने यहाँका विज्ञहरू बताउँछन् । कर्णालीका पाँच जिल्लासहित जाजरकोट, दैलेख, सुर्खेत, रुकुम र सल्यान गरी दस जिल्ला समावेश भएको यो प्रदेश इतिहासदेखि नै राज्यले बेवास्ता गरेको भूगोलको रूपमा परिचित छ ।

कतिसम्म भने काठमाडौँले कर्णालीलाई विकटभन्दा कर्णालीका जनताले काठमाडौंलाई दुर्गम र आफ्नो भूगोल आफ्नो लागि सुगम भनी गर्व गर्ने गर्छन् । एउटा टुक्की र २० किलोग्राम चामल वितरण गर्नु जस्ता कुरालाई नै त्यहाँको विकास ठान्ने राज्यलाई त्यस क्षेत्रको वास्तविक विकास र समृद्धि के रहेछ भनी सिकाउनुपर्ने बेला आउँदैछ ।

यो प्रदेशको समृद्धिका आयामलाई पाँच प्रमुख आयामका रूपमा अघि बढाउनु उचित हुनेछ, जो यस प्रकार छन् । उत्तरी नाका, हाइड्रोपावर, कृषि, जडिबुटी र पर्यटन भूपरिवेष्ठित राष्ट्रको अवधारणा भूजडित राष्ट्रमा परिवर्तन भए पनि नेपालले गत साल नराम्ररी कष्ट भोग्नुपर्‍यो । आधा वर्षको नाकाबन्दीले निम्त्याएको कष्टकर र अस्तव्यस्त नेपाली जीवनबाट नयाँ बहस सुरु गरिदियो ।

व्यापारको विश्वव्यापीकरण र भूमण्डलीकरणतर्फ राष्ट्रहरू तीव्र गतिमा अघि बढे पनि नेपालको भारतनिर्भर सम्बन्ध र व्यापारलाई नयाँ ढंगले सन्तुलनमा ल्याइनुपर्छ भनी मतहरू प्रकट हुन थाले । व्यापारको विविधीकरणतर्फ अघि बढेको भए कुनै पनि नाकाबन्दीले खासै कुनै असर गर्ने थिएन ।

तर अवस्था उल्टो थियो र नेपाली जीवन नराम्ररी अस्तव्यस्त बन्न पुग्यो । चीनले नेपाललाई पारवहन सुविधा दिन सहमति जनायो तर पूर्वाधारको अभावमा ती अलपत्र पर्नु स्वाभाविक थियो । नेपालका सबै उत्तरी नाकाहरूको याद त्यतिबेला गजबले आयो, जतिबेला मानिसहरू देशैभर चिउरा र पानी खाएर बाँचिरहेका थिए । तर पनि चीनसँगको पहुँचसँग सम्बन्धित पूर्वाधारको विकास रोक्नु वर्तमान सरकारको कर्म बनिरहेको देखिन्छ ।

प्रदेश नम्बर ६ को समृद्धिको पहिलो आधार पनि उत्तरी नाका नै हो । मुगुको गमगढी—नाक्चेनांग्ला सडक (८५ किलोमिटर), हुम्लाको सिमिकोट —लिमी—लाप्चा सडक (९० किलोमिटर), हुम्लाकै सिमिकोट—हिल्सा सडक (७८ किलोमिटर) र डोल्पाको दुनै—धो—मुरिम्ला सडक (१६० किलोमिटर) निर्माण गरी तिब्बतसँग नजोडेसम्म त्यस क्षेत्रको समृद्धि सम्भव हुने छैन ।

उक्त नाका खुलेपछि यो प्रदेशका जम्मा १६ लाख २३ हजार ६ सय दुई मानिस लाभान्वित हुने मात्र होइन, प्रदेश नम्बर पाँचका बाँके र बर्दियासहित उत्तरी भारतले समेत भविष्यमा लाभ लिन सक्नेछ । उत्तरी भारत र तिब्बतबीचमा भविष्यमा हुन सक्ने व्यापारले नेपालको यो प्रदेशको अर्थतन्त्र मजबुत हुनेछ र यसले समृद्धिमा टेवा पुग्नेछ ।

देश प्रदेशको संरचनामा गइसकेपछि प्रदेशहरूको आजको सीमा के होला, यसै भन्न सकिन्न तर अब आफ्नो प्रदेशलाई कसरी समृद्ध र सम्पन्नशाली बनाउने भन्ने बहस भने आजैदेखि सुरु हुनु अनिवार्य छ । आफ्नो प्रदेशमा केकस्ता खालका समृद्धिका प्रचुर सम्भावना, अवसर र चुनौती छन्, आजैदेखि अध्ययन र छलफल हुन जरुरी छ । ‘समृद्ध प्रदेश' को नारालाई अभियानमा ढाल्दै स्रोत परिचालनको खाका तयार गरिनुपर्दछ ।

यस क्षेत्रको समृद्धिको अर्को आधार भनेको पानीको प्रचुर उपयोग र जलविद्युत् निर्माण हो । सानी भेरी, ठूली भेरी, मुगु कर्णाली, हुम्ला कर्णाली, गंगा र सेती मिलेर बनेको कर्णाली नदी यो प्रदेशको मात्र होइन, समग्र देशकै जलशक्ति हो, जसबाट निकालिने जलविद्युत्ले समग्र प्रदेश मात्र होइन, देश नै उज्यालो बनाउनेछ ।

प्रदेशभित्र बग्ने सयौं साना खोलाहरूबाट लघु जलविद्युत् निर्माण गर्दै जाने हो भने यो प्रदेश यसैबाट विद्युत्मा आत्मनिर्भर हुने सम्भावना छ । त्यस्तै राप्ती र सल्यानको शारदा पनि महत्वपूर्ण नदी हुन् । यी सबैको क्षमता २२ हजार मेघावाट रहेको विज्ञहरूको भनाइ छ ।

समृद्धिको अर्को आधार भनेको कृषि हो । हिमाली जिल्लाका स्याउ यदि समयमै निर्यात हुने हो भने त्यहाँको स्याउमा आधा नेपाल आत्मनिर्भर हुने स्थिति छ । सल्यानको अदुवा देशमै चर्चित छ भने सोही जिल्लाको कपुरकोट तरकारी उत्पादनमा सुप्रसिद्ध छ ।

त्यहाँको तरकारी त्यो क्षेत्रमा मात्र होइन, नेपालको पूर्वपश्चिम सबैतिर निर्यात हुन्छ । पशुपालनमा उत्तरी जिल्लामा चौंरी गाई, च्यांग्रा र पहाडी जिल्लातिर बाख्रा, बंगुर, कुखुरा, भैंसीपालन आदिको थप व्यवस्थापन र लगानीले भविष्यमा त्यहाँको जीवनशैली बदलिने मात्र होइन, समग्र अर्थतन्त्रकै महत्वपूर्ण पाटो बन्नेछ ।

समृद्धिको चौथो आधार भनेको जडिबुटी हो । बर्सेनि हुने करोडौंको यार्सागुम्बाको निकासीलाई सबैलाई लाभ पुग्ने गरी थप व्यवस्थित बनाउने र त्यसको सही वितरण मात्र होइन, त्यसको उत्पादनमा समेत वैज्ञानिक ढंगले काम सुरु गर्ने हो भने यो प्रदेशको समृद्धिको मेरुदण्ड हुने सम्भावना छ ।

अन्य हिमाली जडिबुटीको उत्पादन र प्रशोधनसँग सम्बन्धित उद्योगहरूको निर्माण गर्नु त्यत्तिकै महत्वपूर्ण पक्ष हुनेछ ।समृद्धिको पाँचौं आयाम भनेको पर्यटन हो । उत्तरी नाका मात्र खोल्न सकियो र यसलाई व्यवस्थित गर्न सकियो भने चीन र भारतबाट देशकै सबैभन्दा बढी पर्यटक त्यहाँ आउने सम्भावना छ ।

त्यहाँका मानिसहरूको जीवनशैली, प्राकृतिक सुन्दरता, मुगुको राराताल, डोल्पाको से फोक्सुन्डो ताल, रुकुमको स्यार्पु ताल, सल्यानको कुविन्डे दह, सुर्खेतको बुलबुले ताल आदि त्यहाँको पर्यटन विकासका महत्वपूर्ण आधार हुन् । धार्मिक पर्यटकहरूको पनि प्रचुर सम्भावना छ त्यहाँ । जुम्लाको चन्दननाथ, सुर्खेतको देउती बज्यै र काँक्री विहार, दैलेखको ज्वाला जी श्रीनाथ जो कहिल्यै निभ्दैन, सल्यानको खैराबाङ र छत्रेश्वरी मन्दिर आदिको ‘बढोत्तरी' गर्न सकियो भने धार्मिक पर्यटकको निकै सम्भावना हुनेछ । यी सबै कुराले अन्ततः सो प्रदेशको समृद्धिमा टेवा पुग्नेछ ।

त्यसैले यस्ता प्रचुर सम्भावनालाई ख्याल गर्दै आजैदेखि केन्द्रीय सरकार, भोलि बन्ने प्रदेश सरकार र स्थानीय निकाय सबैले निश्चित खाका, विस्तृत योजना र प्रतिबद्धतासहित जनसहभागिता र व्यापक परिचालनलाई सशक्त बनाउने हो भने यो प्रदेश राष्ट्रकै समृद्ध प्रदेश बन्ने देखिन्छ ।

अतः त्यहाँका जनताले आफ्नो प्रदेशमाथि गर्व गर्ने दिन ल्याउन राजनीतिक नेतृत्व दृढ संकल्पका साथ लाग्नैपर्ने हुन्छ, आफ्नो भूगोलको समृद्धि चाहने हो भने । आज देशमा भइरहेको आन्तरिक र बाह्य दबाब र हस्तक्षेपले निम्त्याइरहेको अस्थिरताको घाउ त्यतिबेलाको समृद्ध प्रदेशले पूरा गर्नेछ ।
—शाह एमाले केन्द्रीय सदस्य हुन् ।



प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.