श्रद्धाञ्जलि दिन समर्थककाे अाेइराे

श्रद्धाञ्जलि दिन समर्थककाे अाेइराे

रियो दी जेनेरियोः कोलम्बियामा मंगलबार भएको विमान दुर्घटनामा परी चापेकोन्स क्लबका १९ जना खेलाडीसहित ७६ जनाको मृत्यु भएपछि ब्राजिलियन सहर चापेकोन्स शोकमा डुबेको छ ।

हजारौंको संख्यामा आफन्त, समर्थक, खेलप्रेमी र क्लबका पदाधिकारीले बुधबार स्थानीय चर्च र रंगशालामा पुगेर मृतक आत्माको चिरशान्तिको कामना गरेका छन् । उनीहरूले चापेकोन्स क्लबका अफिसियल र समर्थकले हरियो—सेतो रङको जर्सी लगाएका थिए ।

उक्त दुर्घटनामा परेका ६ जनाको जीवितै उद्धार गरिए पनि एकको उपचारका क्रममा मृत्यु भएको थियो । विमानमा सवार कुल ८१ मध्ये पाँचजनामात्र बाँच्न सफल भए । ‘दुर्घटनापछि सिंगो सहर स्तव्धः भएका छ', श्रद्धाञ्जलि दिन सान्टो एन्टोनियो चर्च पुगेकी कार्ला भिलेमब्रिनीले भनिन् ।

दक्षिण अमेरिकाको दोस्रो ठूलो महादेशीय क्लब फुटबल प्रतियोगिता कोपा सुडामेरिकानाको फाइनलको पहिलो लेग खेल्न चापेकोन्सको टोली कोलम्बिया जाँदै थियो ।

चापेकोन्स र कोलम्बियाको एट्लेटिको नासियनलबीच खेल हुने कार्यक्रम थियो । चापेकोन्स ४३ वर्षअघि मात्र स्थापना भएको क्लब हो । अर्जेन्टिनासँग सिमाना जोडिएको चापेकोको कुल जनसंख्या दुई लाख रहेको जनाइएको छ ।

रंगशालाबाहिर पनि श्रद्धाञ्जलि अर्पण गर्न ओइरिएका मानिसहरू खचाखच थिए । ‘आज सहर शान्त छ । सायद मानिसले तबमात्र विश्वास गर्नेछन्, जब उनीहरूले शव देख्नेछन्', स्थानीय एक व्यापारी सेसिलियो हान्सले भने ।

क्लब फुटबलमा पछिल्लो समय चापेकोन्सले हासिल गरेको लगातारको सफलताले चापेको सहर निकै खुसी थियो । ‘म मेरो जीवनको सबैभन्दा खुसीको क्षण पर्खिरहेको थिएँ तर, यो घटनापछि मलाई थाहा छैन, मेरो जीवन कस्तो हुनेछ', स्थानीय फुटबलप्रेमी एलान हाइन्जले भने । सन् २००९ मा ब्राजिलको चौथो डिभिजनमा रहेको चापेकोन्स त्यतिबेलासम्म चापे नामले मात्र चिनिएको थियो । तर लगातारको उत्कृष्ट प्रदर्शनपछि क्लब सन् २०१४ मा पहिलो डिभिजनमा उक्लन सफल भएको थियो ।

दक्षिण अमेरिकामा युरोपको युरोपा लिग सरह मानिने सुडामेरिकानाको फाइनल पुग्ने क्रममा चापेकोन्सले अर्जेन्टिनाका दुई बलिया क्लब लान लोरेन्जो र इनडिपेनडेन्ट तथा कोलम्बियाको क्लब जुनियरलाई हराएको थियो । चापेकोन्समा ब्राजिलको राष्ट्रिय टोलीका सदस्य नरहे पनि ब्राजिल र दक्षिण अमेरिकाको क्लबबाट खेलेका खेलाडीहरू थिए ।

मृत्यु हुनेमध्ये क्लेबर सान्टानाले सन् २००७ देखि तीन वर्ष स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका लागि खेलेका थिए । यसैगरी स्ट्राइकरद्वय ब्रुनो रान्जेल र केम्पेस यो सिजन ब्राजिलियन लिगमा सर्वाधिक गोलकर्ताको होडमा थिए । घटनामा ज्यान गुमाएका क्लबका प्रशिक्षक काइयो जुनियर पनि चापेकोन्सको सफलताका निर्णायक कडी थिए । यसअघि उनले पालमेइरस, फ्लामेंगो र बोटाबोगो क्लबमा पनि प्रशिक्षण गरेका थिए ।

दुर्घटनामा २० जना खेल पत्रकारको पनि मृत्यु भएको थियो । ज्यान गुमाउने फक्स स्पोर्टसका कमेन्टेटर मारियो सर्जियो पोन्टेस डे पाइभा ब्राजिली राष्ट्रिय टोलीका पूर्वसदस्य पनि हुन् । उनले लामो समय ब्राजिलियन क्लबमा प्रशिक्षण पनि गरेका थिए । ‘फुटबलका लागि यो निकै दुःखको घडी हो', विश्व फुटबल महासंघ (फिफा) अध्यक्ष जियानी इनफान्टिनोले विज्ञप्तिमार्फत भनेका छन् । यसैगरी अर्जेन्टिनाका महान् फुटबल खेलाडी पेलेले पनि दुर्घटनालाई दुःखान्त क्षतिका रूपमा उल्लेख गरेका छन् । ब्राजिलको लिग विजेता पालमेइरसले घरेलु लिगको आफ्नो अन्तिम खेल चापेकोन्सको जर्सी लगाएर खेल्न राष्ट्रिय फुटबल संघसँग अनुमति मागेको छ ।

‘उपाधि चापेकोन्सलाई'

एट्लेटिको नासियनलले सुपर कोपासुडामेरिकानाको उपाधि चेपाकोन्सलाई दिन सम्बन्धित निकायसमक्ष प्रस्ताव गरेको छ । मृतक खेलाडीको सम्झनामा उक्त अवार्ड चापेकोन्सलाई दिइनुपर्ने माग कोलम्बियन क्लब नासियनलले गरेको छ । तर यस विषयमा दक्षिण अमेरिकी फुटबल महासंघले भने हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

यसैगरी ब्राजिलका केही शीर्ष क्लबले सन् २०१७ को सिजनका लागि आफूहरू केही खेलाडी निःशुल्क रूपमा चेपाकोन्सलाई उपलब्ध गराउन तयार रहेको बताएका छन् । उनीहरूले यो महाविपत्तिबाट नउठेसम्म चापेकोएन्सलाई दोस्रो डिभिजनमा पनि रेलिगेसन गर्न नहुने बताएका छन् ।

‘हाम्रो सपना सकिएको छैन । समयसँगै हामी फेरि फर्कने छौं', चापेकोन्सका कार्यवाहक अध्यक्ष जेल्सन डेल्ला कोस्टाले भने, ‘यो बेला हाम्रो कर्तव्य दुःखमा परेका सबै परिवारको हेरविचार गर्नु हो ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.