जो बाबु बन्ने खबर सुनेर नाचेका थिए

जो बाबु बन्ने खबर सुनेर नाचेका थिए

मेदेजिनः ब्राजिलियन फुटबल क्लब चापेकोन्सका स्ट्राइकर टियाग्विन्हो एक साताअघि खुसीले गद्गद् भएका थिए । उनी खुसीले नाच्नुको कारण भने उनकी श्रीमती ग्राजिल थिइन् । ग्राजिलले एक साताअघि श्रीमानलार्इ उनी बाबु बन्न लागेको खबर सुनाएपछि टियागुन्हिओ खुसीले उफ्रिएका थिए ।

उनकी श्रीमतीले उनी बाबु बन्न लागेको खबरसहित एउटा सानो बक्समा बच्चाले लगाउने एक जोडी जुत्ता पनि पठाएकी थिइन् । त्यो सुखद समाचार पाएपछि टोली बसेको होटेलमै उनले सहकर्मी खेलाडी साथीसँग खुसी साटासाट गरेका थिए । २२ वर्षीय टियाग्विन्हो पहिलो पटक बाबु बन्न लागेको खुसीमा टोलीका साथी पनि उनीसँग होटेलमा मजैले नाचेका थिए ।

टियाग्विन्हो र उनका साथीहरूले मनाएको खुसीको भिडियो दृश्य अहिले सामाजिक सञ्जालहरूमा समेत भाइरल भएको छ । त्यतिबेलै टियाग्विन्हो बाबु बन्न लागेको खुसीलाई उनका साथीहरूले सामाजिक सञ्जालमा फैलाएका थिए ।

तर त्यसको एक साता पनि बित्न नपाउँदै मंगलबार बिहान कोलम्बियाको मेदेजिनमा भएको विमान दुर्घटनामा परी टियाग्विन्होको दुःखद् निधन भयो । विमान दुर्घटनाको हृदयविदारक समाचारले अहिले टियाग्विन्होको परिवारमात्र होइन, ब्राजिल र विश्व फुटबललाई नै शोकाकुल बनाएको छ ।

ब्राजिलको ‘ए’ डिभिजन फुटबल क्लब चापेकोन्सका खेलाडी सवार उक्त विमानमा परेका खेलाडीमध्ये मिडफिल्डर एलन रस्चेल, रक्षक हेलियो नेटो जाम्पियर र गोलरक्षक ज्याक्सन फोलम्यानमात्र जीवित बचे । गोलरक्षक मार्कोस डानिलोलाई समेत जीवितै उद्धार गरिए पनि पछि उपचारका क्रममा अस्पतालमा उनको निधन भएको थियो ।

उक्त दुर्घटनामा परी प्रशिक्षक काइयो जुनियर, फिजियो एन्डर्सन पिएक्सो, मिडफिल्डर क्लेबर सान्टाना, गोलरक्षक डानिलो, स्ट्राइकरहरू ब्रुनो रन्जेल, एभर्टन केम्पस अनानियास, रक्षक फिलिप माचाडो र मिडफिल्डर जोसिमरको मृत्यु भयो ।

खेलाडी, प्रशिक्षक, पदाधिकारी र सञ्चारकर्मीसहित ८१ जना बोकेर बोलिभियाको सान्ता क्रुजबाट उडेको उक्त जहाज कोलम्बियाको मेदेजिननजिक दुर्घटना हुँदा ७६ जनाले ज्यान गुमाए । दुर्घटनामा परी उद्धार गरिएको पाँचजनाको भने हाल उपचार भइरहेको छ । उक्त खेलको समाचार संकलन गर्न २१ जना खेलपत्रकार पनि सोही विमानमा गएका थिए ।

जो भाग्यले बाँचे

फुटबल खेल्नका लागि विभिन्न कारण ब्राजिल जान नपाएका केही खेलाडी, पदाधिकारी र अफिसयल भने भाग्यले बाँच्न सफल भएका छन् । टोलीका खेलाडीमध्ये स्ट्राइकर अलेजेन्ड्रो मार्टिनुसियो र हायोरन तयारीका अभ्यासका क्रममा घाइते भएकाले उनीहरू टोलीसँग कोलम्बिया जान पाएनन् । सोही कारणले उनीहरू दुर्घटनामा पर्नबाट जोगिए ।

यसैगरी प्रशिक्षक काइयोका २५ वर्षीय छोरा म्याथ्यु सारोली पनि सोही विमानमा कोलम्बिया जाने कार्यक्रम थियो । उनी कोलम्बिया जान विमानस्थल पनि पुगिसकेका थिए । तर विमान चढ्न जानुअघि उनले आफ्नो राहदानी घरमै छुटेको थाहा पाए । त्यसपछि उनी अर्को विमानमा कोलम्बिया जाने गरी पुनः घर फर्किएका थिए । सोही कारणले उनी पनि दुर्घटनामा पर्नबाट जोगिएका थिए ।

यसैगरी फाइनल खेल हेर्न जाने तर्खरमा रहेका चापेकोका मेयर लुसियानो बुलिगोन पनि भाग्यवश उक्त विमानमा चढ्नबाट जोगिएका थिए । अन्तिम समयमा आएर आकस्मिक बैठक परेकाले उनले उक्त विमानमार्फत कोलम्बिया जाने कार्यक्रम रद्द गर्नु परेको थियो । अघिल्लो दिन अबेरसम्म पनि मेयर बुलिगोन फाइनल खेल हेर्न सोही विमानबाट कोलम्बिया जाने कार्यक्रम थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.