उखुबारीमा रोइरहेको १२ दिने नवजात शिशुको उद्धार

महोत्तरीः महोत्तरीको सम्सी-५ मा रहेको उखुबारीमा बेवारिसे अवस्थामा फेला परेको एक शिशुलाई प्रहरीले उद्धार गरेको छ। करिब १२ दिनका बालक बुधबार राति ९ बजे उखुबारीमा रोइरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
उद्धार गरिएको बच्चाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नलप्रसाद उपाध्यायले जानकारी दिए । बच्चालाई अहिले जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ । प्रहरीको निगरानीमा रहेको बच्चालाई आफ्नो बनाउने भन्दै स्थानीय अभिभावकले बच्चाको जिम्मेवारी सुम्पन माग गरेका छन् ।
हसिँलो अनुहार भएको शिशु हेर्दै लोभलाग्दो रहेको स्थानीयले बताएका छन्। तर, प्रहरीले कसलाई जिम्मा लगाउने भन्ने बारेमा जिल्ला प्रशासन, महिला तथा बालबालिका कार्यालयलगायतसँग छलफल गरेर मात्र निष्कर्ष निकाल्न सकिने बताएको छ। बच्चा कसले र किन फालेको भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच बच्चाको पालनपोषणको जिम्मा कसलाई दिने र शर्त के हुने भन्ने विषयमा निर्णय लिन प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवको अध्यक्षतामा बालकल्यण समितिको बैठक बसिरहेको छ। बच्चाको जिम्मा कसरी लगाउने भन्ने बारे महिला तथा बालबालिका कार्यालय लगायतका बालबालिका संरक्षक निकायहरुको वैठकको निर्णय लिनेछ ।
प्रतिक्रिया दिनुहोस !
