लोकमान विरुद्धका सबै मुद्दाको सुनुवाई पुस सातमा हुने

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध दायर पुनरावलोकन मुद्दामा सुनुवाइका लागि आगामी पुस सात गतेको पेशी तय भएको छ ।
पुनरावलोकन निवेदनमा सुनुवाइका लागि बिहीबारको पेशी तय भए पनि कार्कीका कानुनव्यवसायी वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने बिरामी परेका कारण पेशी स्थगित भएको हो ।
आग्रह बमोजिम सर्वोच्चका न्यायाधीश जगदिश शर्मा पौडेल, इश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई संलग्न पूर्ण इजलासले अर्को सुनुवाईका लागि पुस सात गतेको पेशी तय गरेको हो ।
पुस सातगते पेशी हटाउन नपाउने गरी सुनुवाइमा उपस्थित हुन इजलासले पक्ष विपक्षका कानुन व्यवसायीलाई आदेश दिएको छ । कार्कीको योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता ओमप्रकाश अर्यालले दिएको पुनरावलोकनलगायत विभिन्न ६ वटा मुद्दामा एकैसाथ सुनुवाई गरी निर्णय हुने भएको छ ।
बिहीबार नै निलम्बित प्रमुख आयुक्त कार्कीले सर्वोच्चमा उपस्थित भएर मुद्दाको तारिख बुझेका छन् ।
प्रतिक्रिया दिनुहोस !
