कस्तो होला ट्रम्पको विदेश नीति ?

कस्तो होला ट्रम्पको विदेश नीति ?

अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पको विजय पूर्णतः अप्रत्याशित थियो । यसले विपक्षी डेमोक्रेटिक पार्टी एवं त्यसकी उम्मेदवार हिलारी क्लिन्टनलाई ठूलो आघात पुर्‍यायाे । रिपब्लिकन ट्रम्पको जितको घोषणापछि अमेरिकाका कैयौं स्थानमा उनीविरुद्ध आन्दोलन गरियो । अहिले ग्रिन पार्टी, जसले मात्र एक प्रतिशत मत पाएको छ, विस्कान्सिन, मिसिगन र पेनसेलभेनिया राज्यमा ट्रम्पको जितमाथि प्रश्न उठाइरहेको छ र पुनः गणनाको प्रयास गरिरहेको छ ।

जानकारहरूका अनुसार, हिलारी क्लिन्टन नै यी सबै गतिविधिको प्रेरक हुन् । ग्रिन पार्टीका उम्मेदवार जिल स्टिनलाई परोक्ष रूपमा हिलारीकै समर्थन प्राप्त भइरहेको छ । मत पुनः गणना गर्न सात मिलियन डलर आवश्यक पर्छ । जिलले ६ मिलियन डलर संकलन गरिसकेका छन् ।

ग्रिन पार्टी जस्तो सानो पार्टी स्वयंले यतिका रकम संकलन गर्न सक्दैन भन्ने धेरैको विश्वास छ । शंकाको औंला सीधै हिलारीतर्फ सोझिएका छन् । पुनः मतगणना गर्दा चमत्कार भए मात्रै पराजित हिलारीले डोनाल्ड ट्रम्पको जितलाई खारेज गर्न सक्लिन् ।

तथापि यस्तो केही चमत्कार भइहालेमा पनि कानुनी लडाइँ सुरु हुनेछ र अमेरिकामा घोर सामाजिक खल्बली अवश्य मच्चिनेछ । किनभने राजनीति र राजनीतिज्ञको खेल अच्चमकै हुन्छ ।

तात्कालिक घटनाक्रमका परिणाम जेसुकै आए पनि समस्त विश्व ट्रम्पको भावी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिबारे जान्न उत्सुक छ । सर्वविदितै छ, अमेरिकाले अंगीकार गर्ने नीतिको प्रभाव विश्वव्यापी रूपमा पर्ने गर्छ । यतिबेला आम मान्यता यही छ कि पुनः मतगणनाको फन्डाले ट्रम्पबाट उसको ऐतिहासिक एवं अभूतपूर्व विजयलाई खोस्न सक्दैन ।

त्यसैले अन्य देश ट्रम्पको सम्भावित विदेश नीतिमाथि आँखा गाडेर बसेका छन् । के ट्रम्पको विदेश नीति पूर्णतः आश्चर्यचकित तुल्याउने खालको होला या उनले अमेरिकाको वर्तमान एवं पूर्वनीतिहरूको निरन्तरता कायम राख्नेछन् ? यो अहं प्रश्न हो । किनभने चुनावको रस्साकस्सीका बीचमा ट्रम्पले व्यक्त गरेका अनेकन बयानले सबैलाई आश्चर्यचकित तुल्याइदिएको थियो ।

विपक्षी डेमोक्रेटले मात्रै होइन, आफ्नै दल रिपब्लिकन पार्टीभित्रका कैयौं दिग्गजले समेत ट्रम्पलाई सनकी र नालायकको संज्ञाबाट कैयौंपटक विभूषित गरे । यसका कारणले ट्रम्प केही अस्तव्यस्तसमेत बने । तर उनको विवादास्पद भनाइको बाढी भने रोकिएन । सायद उनका समर्थकहरूले पनि यही चाहेका थिए ।

ट्रम्प राष्ट्रपति बनेपछि अमेरिका-रूस सम्बन्धमा सर्वाधिक काम हुने सम्भावना देखिन्छ । वर्तमान अमेरिकी राष्ट्रपति बाराक ओबामाले युक्रेन-क्रिमियाको मुद्दामा रूसलाई निकै कुनामा धकेलिदिएका थिए । यसमा कुनै शंका छैन, युक्रेनको हिस्सा क्रिमियालाई रूसले अधिग्रहण गर्नु अन्तर्राष्ट्रिय मान्यताको उल्लंघन हो ।

तर अमेरिकाले नै युक्रेनमा यस्तो स्थिति सिर्जना गरेको थियो, जसले गर्दा रूसलाई नाटो शक्तिले घेर्ने खतरा उत्पन्न भयो । यो पनि एउटा तथ्य हो कि क्रिमिया सन् १७८४ देखि रूसको एउटा प्रमुख सैनिक केन्द्रको रूपमा रहँदै आएको छ ।

ट्रम्पको विजयपछि उनको र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका बीचमा दुवै महाशक्तिबीचको सम्बन्ध सुधार्ने सहमति भएको छ । यो सहमतिले सिरियामा रूस र अमेरिकाको सहयोग बढ्न सक्छ । यसले गर्दा इस्लामिक स्टेट सिरियाबाट पछाडि फर्केको खण्डमा यसको श्रेय प्राप्त हुनेछ र अमेरिका बाहिर पनि उनको कद उँचो हुनेछ ।

साथै, ओबामा प्रशासनद्वारा तिरस्कृत रूस, चीनको निकट हुँदै गएको छ । ट्रम्पको नयाँ नीतिका कारण रूस आउँदा दिनमा चीन र अमेरिकासँग समान सम्बन्ध कायम राख्न चाहन्छ । यो अमेरिकाको हितमै हुनेछ । पश्चिमा देशहरूले भने अस्तव्यस्त बनेको रूस विश्वको नया“ आर्थिक महाशक्ति चीनको पोल्टामा सधैंका लागि पुग्नेछ भन्ने आशंका निर्मूल पार्न सकेनन् ।

ट्रम्प कालमा अमेरिकाले आफ्नो रक्षा बजेट अवश्य बढाउँछ नै । साथसाथै उनले यो पनि पटकपटक दोहोर्‍याउँदै आएका छन् कि आफू राष्ट्रपति बनेपछि नाटोका पश्चिमी देशहरू एवं अन्य अमेरिकी साथी देशजस्तै साउदी अरब, जापान र दक्षिण कोरियाद्वारा सुरक्षा सहायताको लागि अत्यधिक व्यय गर्नुपर्नेछ ।

ट्रम्पको यो कुरा उनका समर्थकले निकै मन पराए । अमेरिकाले विश्वभरिको चौकीदारीमा खर्च गर्नुको साटो आफ्ना नागरिकको प्रमुख आवश्यकता पूर्तिका लागि खर्च गरोस् भन्ने उनीहरूले चाहेका छन् ।

ट्रम्पको आगमनले चीनलाई अवश्य पनि चिन्तित तुल्याइरहेको हुनुपर्छ । सन् २०१५ मा अमेरिका-चीन व्यापारिक सम्बन्ध अमेरिकाको लागि ३६७ बिलियन डालर प्रतिकूल थियो । ट्रम्पले चीनमाथि आफ्नो मुद्रामा गोलमाल गरेको आरोप लगाएका छन् ।

अब हेर्नु छ, ट्रम्पले चीनबाट आयातित सामानमा ४५ प्रतिशत कर लगाउँछन् कि लगाउँदैनन् । अहिलेसम्म उनले कर लगाउनेतर्फ नै संकेत गरेका छन् । जे भए पनि एउटा सम्भावित वाणिज्य-व्यापार युद्धलाई अहिल्यै नकार्न सकिँदैन ।

एउटा कुरा स्पष्ट भइसकेको छ, ट्रम्पलाई नयाँ अमेरिकन फ्री ट्रेड एग्रिमेन्ट पूर्ण रूपमा मन परिरहेको छैन । सन् १९९४ मा भएको यो सम्झौताका कारण अनेकौं अमेरिकी कम्पनीहरूले आफ्नो उत्पादनको काम छिमेकी मुलुक मेक्सिकोमा रूपान्तरण गरेका छन् । किनभने त्यहा मजदुर/ श्रमिक निकै सस्ता छन् ।

ट्रम्पको विजयपछि उनको र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका बीचमा दुवै महाशक्तिबीचको सम्बन्ध सुधार्ने सहमति भएको छ । यो सहमतिले सिरियामा रूस र अमेरिकाको सहयोग बढ्न सक्छ ।

सन् १९९४ देखि अहिलेसम्म आइपुग्दा एउटा अटोमोबाइल उद्योगमा मात्रै अमेरिकाले ३५ हजार रोजगार गुमाउनुपरेको छ । यिनै रोजगार गुमाएका गोरा अमेरिकी र उनीहरूजस्ता अन्य देशवासीले चुनावमा ट्रम्पलाई जोडतोडले समर्थन गरे । त्यसैले ट्रम्पको कदम यसै दिशामा अघि बढ्ने अपेक्षा गरिएको छ । हो, ट्रम्पले मेक्सिको बोर्डरमा घूसपैठ रोक्न पर्खाल लगाउँछु भनेर बहुचर्चित अभिव्यक्ति दिए पनि चुनावको नतिजा आफ्नो पक्षमा आएपछि उनले केही नरमपन देखाउन सुरु गरेका छन् ।

विशेषज्ञहरूका अनुसार ओबामा कालको तुलनामा ट्रम्प प्रशासनमा अमेरिका र इजरायलबीचको सम्बन्ध थप सुदृढ हुनेछ । जहाँसम्म हाम्रो छिमेकी मुलुकसँगको सम्बन्धको प्रश्न छ, ट्रम्पले भारतलाई यस्तो मुलुकको रूपमा स्विकारेका छन्, जसको उच्च शिक्षित नागरिक वर्षौंदेखि अमेरिकी अर्थव्यवस्थामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

तैपनि ट्रम्प प्रशासनले भारतीयलाई दिइँदै आएको एच-वान बी भिसामा कटौती गर्ने सम्भावना प्रबल देखिन्छ । एच-वान बी भिसाअन्तर्गत अमेरिकी कम्पनीले आफ्ना देशवासीका साटो सस्तोमा भारतीय कम्प्युटर र अन्य प्राविधिज्ञलाई रोजगार दिँदै आएका छन् ।

यसमा कटौती हुने हो भने अवश्य पनि यो भारतको लागि कष्टप्रद हुनेछ तर अमेरिकी नागरिकको लागि लाभप्रद । अब हेर्नु छ, वैश्विक (ग्लोबल) व्यापारिक व्यवस्थामा केवल आफ्ना सीमित मानव संसाधनलाई लिएर अमेरिका प्रतिस्पर्धी बनिरहन सक्ला ?

यही यक्षप्रश्न ती तमाम पश्चिमी र गैरपश्चिमी धनी देशमा पनि लागू हुन्छ, जसले अर्धविकसित र विकासशील देशका नागरिकका विभिन्न क्षमताको दोहन गरेर आफूलाई समृद्ध तुल्याउँदै आएका छन् ।

ट्रम्पको विदेश नीतिमाथिको चर्चा आउँदा दिनमा अझ बढी सार्थक हुनेछ, जब ग्रिन पार्टीको मत पुनः गणनाको परिणाम आइसक्नेछ र ट्रम्प औपचारिक रूपमा राष्ट्रपति पदमा आसीन हुनेछन् ।



प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.