एल क्लासिको भिडन्त आज, तोड्लान त मेसीले गोलको खडेरी?
काठमाडौंः विश्वकै ठूलो प्रतिस्पर्धाका रुपमा लिइन्छ, स्पेनिस दुई महारथी रियल मड्रिड र बार्सिलोनाबीचको खेललाई। जुन भिडन्तलाई एल क्लासिको भनिन्छ। विश्वकै सवैभन्दा महँगो भिडन्त हो एल क्लासिको, जसमा विश्वकै महँगा खेलाडी मैदान उत्रिन्छन्।
एल क्लासिकको भिडन्त बार्सिलोना र रियल मड्रिडबीचको प्रतिष्ठाको लडाइका रुपमा पनि लिइन्छ। ला लिगा फुटबलमात्रै होइन जुनसुकै प्रतिस्पर्धामा पनि सवैभन्दा ठूलो खेलका रुपमा लिइन्छ एल क्लासिको भिडन्तलाई। ला लिगा फुटबल अन्तर्गत एल क्लासिको भिडन्त नेपाली समय अनुसार शनिबार साँझ ९ बजे सुरु हुँदैछ।
अझ, सन् २००९ मा क्रिष्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिडमा आबद्ध भएयता एल क्लासिको भिडन्त थप रोचक बन्न थालेको हो। एल क्लासिको भिडन्तलाई अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेसी र पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोबीचको प्रतिस्पर्धाका रुपमा पनि कतिपयले लिने गर्छन्।
एल क्लासिको भिडन्तमा सवैभन्दा बढी गोल बार्सिलोनाका मेसीले गरेका छन्। मेसीले सवैखाले एल क्लासिको भिडन्तमा अहिलेसम्म २१ गोल गरेका छन् भने क्रिष्टियानोले १६ गोल गरेका छन्। एल क्लासिकोमा सर्वाधिक गोल कर्ताको सूचीमा मेसी पहिलो स्थानमा हुँदा क्रिष्टियानो रोनाल्डो तेस्रो नम्बरमा छन्। दोस्रो नम्बरमा भने रियल मड्रिडकै खेलाडी अल्फ्रेडो डी स्टेफानो छन्, उनले एल क्लासिको सवै खाले भिडन्तमा १८ गोल गरेका छन्।
जिनेदिन जिदानले नेतृत्वमा रहेको रियल मड्रिड ३२ खेलमा अपराजित रहेको छ। बार्सिलोनाले आफ्नो घरेलु मैदान क्याम्प नाउँमा रियल मड्रिडलाई हराउन सके ३२ खेलमा अपराजित रियलको यात्रामा पूर्णविराम लाग्नेछ।
तोड्लान त मेसीले गोलको खडेरी?
एल क्लासिको भिडन्तमा सवैभन्दा बढी गोल गर्ने खेलाडी हुन् मेसी। मेसीले सन् २०१४ मार्चमा रियल मड्रिडलाई ४–३ गोल अन्तरले हराउँदा ह्याट्रिक गरेका थिए। तर, त्यस यता भने एल क्लासिको भिडन्तमा मेसीले गोल गर्न सकेका छैनन्। मेसीले रियल मड्रिडसँग भएका पछिल्ला पाँच खेलमा गोल गर्न सकेका छैनन्।
रियल मड्रिड बार्सिलोनाभन्दा ६ अंकले अगाडि छ, यो सिजन ला लिगामा। यस्तो अवस्थामा रियलविरुद्ध पछिल्ला पाँच खेलमा गोल गर्न नसकेका मेसीमाथि थप दबाब पर्नेछ। अघिल्लो सिजन रियलको घरेलु मैदानमा बार्सिलोनाले ४–० ले हराउँदा पनि मेसीले गोल गर्न सकेका थिएनन्। बार्सिलोनाले पछिल्ला पाँच खेलमा दुईमा जित हात पारेको छ।