एल क्लासिको भिडन्त हेर्न किन बञ्चित हुनेछन् युकेका फ्यान?
काठमाडौंः विश्वका करोडाैं फुटबल फ्यानहरु आजको दिनको पर्खाइमा छन्। यो सिजनकै पहिलो एल क्लासिको (स्पेनिस महारथीबीच) प्रतिस्पर्धा हुँदैछ। बार्सिलोना र रियल म्याड्रिडबीच यो सिजन ला लिगामा पहिलो पटक अामनेसामने हुँदैछन्। तर, युकेमा रहेका फुटबल फ्यानहरु भने एल क्लासिको भिडन्त हेर्नबाट बञ्चित हुनेछन्।
किन बञ्चित हुनेछन् युकेका फ्यान?
बार्सिलोना र रियल मड्रिडबीच युकेको समय अनुसार शनिबार दिउँसो तीन बजेर १५ मिनेट जाँदा (नेपाली समय अनुसार बेलुका ९ बजे) खेल सुरु हुँदैछ। एफएको म्याच प्रशारण ऐन अनुसार युकेमा दिउँसो २ः४५ बजेदेखि ३ः१५ बजे सम्म हुने कुनै पनि खेल प्रशारण गर्न नपाइने नियम छ।
सन् १९६० मा लागू गरिएको यो नियम अहिलेसम्म फुकुवा गरिएको छैन्, जसका कारण एल क्लासिको युकेमा हुने फुटबलका समर्थकहरुले हेर्न पाउनेछैनन्।
एफएको प्रतिवन्धका कारण युकेका फुटबल फ्यानसँग बार्सिलोना र रियल मड्रिडबीचको खेल हाइलाइटमा हेर्नु बाहेक अन्य कुनै उपाय हुनेछैन्। ला लिगाका अध्यक्ष जाभिएर टेभेजले स्पपेनिस रेडियो स्टेशन ‘काडेना सेर’ सँग कुराकानी गर्दै खेल प्रशारणमा लगाइएको रोकले गर्दा युकेका फ्यानले एल क्लासिकोको शनिवारको खेल हेर्न नपाउने बताएका छन्।
उनले स्पेनिस समय अनुसार दिउँसो ४ः१५ भनेको एसिया, अमेरिकालगाएका सयभन्दा बढी राष्ट्रमा हेर्न सकिने भएपनि युकेका फ्यानहरु भने यसबाट बञ्चित हुने बताए। ‘हामीसँग एक बजे, ४ः१५ बजे र ६ः३० बजे तीनवटा समय छनोट गर्ने अवसर थियो,’टेभेजले भने,‘स्पेनिस समय अनुसार दिउँसो एक बजे अमेरिकामा अति नै चाँडो र ६ः३० बजे एसियामा अति नै ढिलो हुने भएकाले हामीले उपयुक्त समयको रुपमा ४ः१५ बजे लाई रोज्यौं। यो समयमा युकेका फ्यानहरु भने खेल हेर्नबाट बञ्चित हुन्छन्।’