दुर्इ मिलियन युरो खर्चन नसक्दा बार्सिलोनाले गुमाएका 'रोनाल्डो’
काठमाडौंः पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको बाल्यकालको क्लब हो, स्पोर्टिङ लिस्वन। त्यहीँबाट फुटबलको करियर सुरु गरेका रोनाल्डो सानै उमेरमा धेरैको आँखामा परेका थिए।
म्यानचेस्टर युनाइटेडका त्यतिबेलाका प्रशिक्षक एलेक्स फर्गुसनले रोनाल्डोको खेल हेरेपछि साह्रै प्रभावित भए। र, सन् २००३ मा १८ वर्षको उमेरमा रोनाल्डोलाई वर्ल्ड ट्राफोर्डमा भित्र्याए। तर, फर्गुसनले म्यानचेस्टर युनाइटेडमा रोनाल्डोलाई लैजानु अघि बार्सिलोनाले रोनाल्डोलाई क्लबमा भित्र्याउन खोजेको खुलेको छ। बार्सिलोनाका पूर्व अध्यक्ष जोन लापोर्टाले आफू बार्सिलोनाका अध्यक्ष हुँदा रोनाल्डोलाई म्यानचेस्टर युनाइटेडभन्दा अघि आफूले क्लबमा ल्याउन चाहेको र उनका एजेन्टसँग पनि कुराकानी गरेको खुलासा गरेका छन्।
लापोर्टाले बार्सिलोनाले त्यसबेला रोनाल्डो १८ वर्षका थिए, र उनलाई १७ मिलियन युरोमा स्पेन ल्याउन खोजेको बताएका छन्। सन् २००३ देखि २०१० सम्म बार्सिलोनाका अध्यक्ष रहेका लापोर्टाले रोनाल्डोका एजेन्ट जोर्जे मेन्डेससँग रोनाल्डोलाई स्पेन ल्याउनेबारे गहन कुराकानी गरेको तर, म्यानचेस्टर युनाइटेडले १९ मिलियन युरो खर्चिएपछि रोनाल्डोलाई क्लबमा भित्र्याउन असफल रहेको उल्लेख गरेका छन्।
स्पेनिस पत्रिका मार्काका अनुसार लापोर्टाले रोनाल्डोलाई भित्र्याउन कुराकानी गर्नुअघि ब्राजिलियन खेलाडी रोनाल्डिनो, रिकार्डो र राफेल माक्र्वेजलाई क्लबमा भित्र्याएका थिए। ‘हामी टिम पुनःनिर्माणको प्रक्रियामा थियौं। क्रिष्टियानो स्पोर्टिङ लिस्वनमा थिए। तर हामीले रोनाल्डोलाई भित्र्याउनु अघि नै रोनाल्डो म्यानचेस्टर युनाइटेडसँग आबद्ध भए,’लापोर्टाले भनेका छन्। ‘माक्र्वेजका एजेन्टले मलाई भनेका थिए,‘मसँग अर्को निकै राम्रो खेलाडी छन्, जो क्रिष्टियानो रोनाल्डो हुन्।’
लापोर्टाले रोनाल्डोलाई क्लबमा भित्र्याउन १७ मिलियन युरो खर्चन एजेन्टले भनेको तर, म्यानचेस्टर युनाइटेडले १९ मिलियन युरो दिएपछि भित्र्याउने कुरा समाप्त भएको उल्लेख गरेका छन्। रोनाल्डो १९ मिलियन युरोमा म्यानचेस्टर युनाइटेडसँग आबद्ध भएका थिए। युनाइटेडबाट तीन सय खेल खेलेका रोनाल्डोले १ सय १८ गोल गरेका थिए।
रोनाल्डो सन् २००९ मा विश्वकै महँगा खेलाडीका रुपमा ९४ मिलियन युरोमा म्यानचेस्टर युनाइटेडबाट स्पेनिस क्लब रियल मड्रिड आएका हुन्।