बारपाकदेखि बाजुरासम्म
काठमाडौं: वैशाख १२ को भूकम्पको केन्द्रबिन्दु बारपाकको आफ्नै उमेरका साथीहरूको अनुभव सुन्दा बाजुराका बालबालिकाका लागि पनि एउटा ठूलो सिकाइ भयो । मंसिर ११ गते युनिसेफको आयोजनामा भएको भिडियो कन्फ्रेन्स 'बारपाकदेखि बाजुरासम्म'ले करिब हजार किलोमिटरको दूरीमा रहेका बाजुराका बालबालिकाले भूकम्पसम्बन्धी धेरै जीवनोपयोगी जानकारी पाए ।
आफ्नो गाउँठाउँको परिचयपछि उनीहरूबीच भएको कुराकानीले भविष्यमा कुनै ठूलो भूकम्प आइहाले यसबाट कसरी सुरक्षित हुने र विपत्तिपछिको अवस्थामा जीवनलाई कसरी सहज बनाउने भन्नेबारेमा बालबालिकाले ज्ञान बटुले ।
'भूकम्पपछि बारपाकका बालिकाले के कस्तो समस्या भोग्नु पर्यो ? ' बाजुराबाट प्रियंका तिमिल्सेनाले सोधेकी प्रश्नमा बारपाकबाट उनकै हाराहारीको उमेरकी सपना घलेले यस्तो जवाफ दिइन्, 'भूकम्पपछि सबैजना एकै पालमुनि बस्नुपर्ने भएकाले समस्या आएको थियो । विशेषगरी महिनावारी भएको बेला र कपडा फेर्नुपर्ने बेलामा गाह्रो भयो । महिनावारीको बेलामा प्रयोग गर्ने सेनेटरी प्याडको व्यवस्थापन गर्न पनि धेरै समस्या भयो ।'
भूकम्पलगत्तै बारपाकमा बस्ने ठाउँ र खानेकुराको अवस्था कस्तो थियो भन्ने जान्न मन लागेको थियो बाजुराका धेरै बालबालिकालाई । बारपाककी सपना गुरुङले सबैका ती जिज्ञासालाई यसरी मेटाउने प्रयास गरिन्, 'यहाँका धेरै घर ढुंगा र माटोले बनेकाले भूकम्पमा परी ती सबै भत्किए । यसले गर्दा यहाँका मानिस अस्थायी पालमा वा घरमा बस्नु पर्यो । धेरै बालबालिकालाई यस्तो वातावरणमा निदाउन पनि डर लाग्थ्यो । भूकम्पपछि हामीलाई चाउचाउ, बिस्कुटजस्ता जंक फुड राहतका रूपमा दिइयो । यो खाएर हामीहरूमध्ये धेरैजना बिरामी पनि पर्यौं ।'
आफूहरूले त्यति बेला भोगेका पीडालाई अझै खुलाउँदै उनले भनिन्, 'परिवारसँगै एउटै कोठाभित्र बस्दा आफ्नो बुवा र दाजुभाइका अगाडि कपडा फेर्न पनि समस्या त भयो नै, पढाइमा पनि त्यति ध्यान दिन सकिएन । बिजुलीको समस्याका कारण विद्यालय खुलेपछि पनि होमवर्क गर्न गाह्रो भयो ।'
भूकम्पका बेला बारपाकमा घरसहित विभिन्न संरचना भत्किए । धेरैले ज्यान पनि गुमाए र बारपाकीहरूको दैनिकी पूर्ण रूपमा खल्बलियो । यस्तो भयावह अवस्थाबाट आफूले सिकेका कुरा बारपाककी जस्मिना घलेले बाजुराका साथीहरूलाई यसरी सुनाइन् ,'भूकम्प प्रतिरोधी घर बनाउनुपर्छ । आपत्कालीन अवस्थाका लागि आवश्यक खानेकुरा, टर्च, पाललगायतका सामान भएको झटपटे झोला राख्नुपर्छ । भूकम्प जानासाथ खुला स्थानमा जानुपर्छ । एक्लै बसेमा चिन्ता र पिर पर्नसक्छ । त्यसैले परिवारसँगै बस्नुपर्छ । जंक फुड सकेसम्म खानु हुँदैन । बिरामी पर्न सकिने हुनाले खानासँगै पिउने पानीमा पनि ध्यान दिनुपर्छ ।'
भूकम्पका बारेमा बाजुराका साथीहरूलाई धेरै कुरा बताइसकेका बारपाकका बालबालिकाले भने कुनै न कुनै माध्यमबाट छाउपडीका बारेमा सुनेका थिए । बारपाकका साथीहरूको त्यो जिज्ञासा मेटाउँदै बाजुराबाट सन्तोषी रावलले भनिन्, 'छाउपडी महिलालाई महिनावारीको बेलामा घरबाट टाढा राख्ने चलन हो । महिनावारी भएको बेला घरमा बसेमा देवीदेउता रिसाउने डरले घरभन्दा बाहिर राख्ने चलन चलेको थियो । उनीहरूलाई घर, मन्दिर, विद्यालय, पानीको धारामा जान दिइँदैनथ्यो । अहिले बालक्लब, सरकारी निकाय र विभिन्न संस्थाले ल्याएको सचेतना कार्यक्रमले छाउपडी प्रथा हट्दै गइरहेको छ ।'
बालबालिकाका संवादले कार्यक्रममा उपस्थित अन्य व्यक्तित्व पनि निकै प्रभावित भएका थिए । गोर्खाका जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले यस्ता खालका छलफल विद्यालय विद्यालयबीच र जिल्ला जिल्लाबीच नै गराउँदा अझै बढी प्रभावकारी हुने सुझाव दिए ।
त्यसैगरी बाजुराकै कार्यक्रममा सहभागी त्यहाँको जिल्ला शिक्षा कार्यालयका उपप्रमुख धर्मराज जैसीले बालबालिकाले आफूले सिकेका कुरा अन्य साथीहरू र परिवारमा पनि बाँड्ने भएकाले निकै लाभदायक हुने प्रतिक्रिया दिए । सबै बालबालिकालाई एकै ठाउँमा भेला गर्न गाह्रो हुने भएकाले एकातिरको सिकाइ अर्कोतिर सजिलो तरिकाबाट बुझाउने र उनीहरूमार्फत विद्यालय र परिवारसम्म पुर्याउने कार्यक्रमको उद्देश्य रहेको युनिसेफकी सञ्चार व्यवस्थापक रूपा जोशीले बताइन् ।