पछिल्ला ६ एल क्लासिको भिडन्त: जसमा मेसी गोलबिहीन छन्
काठमाडौंः बार्सिलोनाका लियोनल मेसी एल क्लासिको भिडन्तमा सवैभन्दा बढी गोल गर्ने खेलाडी हुन्। मेसीले एल क्लासिको भिडन्तमा २१ गोल गरेका छन्, जुन अहिलेसम्मकै बढी हो।
दोस्रो स्थानमा रहेका रियल मड्रिडका अल्फ्रेडो डी स्टेफानोले १८ गोल गरेका छन् भने रियल मड्रिडकै क्रिष्टियानो रोनाल्डोले १६ गोल गरेका छन्।
तर, मेसी पछिल्लो समय एल क्लासिको भिडन्तमा गोलविहीन छन्। उनले पछिल्ला ६ एल क्लासिको भिडन्तमा गोल गर्न सकेका छैनन्। शनिबार राति भएको एल क्लासिको भिडन्तमा पनि मेसी गोल गर्न चुके। उनले पाएको राम्रो गोल गर्ने मौका गुमाएका थिए।
सन् २०१४ को मार्चमा एल क्लासिको भिडन्तमा रियल मड्रिडमाथि ४–३ को जित निकाल्दा मेसीले ह्याट्रिक गरेका थिए। तर, त्यस यता भएका ६ एल क्लासिको भिडन्तमा भने मेसीले गोलको खडेरी तोड्न सकेका छैनन्।
रियल मड्रिडविरुद्ध ३३ औं पटक बार्सिलोनाबाट मैदान उत्रिएका मेसीले शनिबार राति भएको एल क्लासिको भिडन्तमा पहिलो पटक कप्तानको जिम्मेबारी सम्हालेका थिए।
शनिबार राति भएको एल क्लासिको भिडन्तमा बार्सिलोनाका लागि लुइस स्वारेजले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।तर, खेलको अन्तिम समयमा सर्जियो रामोसे गोल गरेपछि खेल १–१ गोलको बराबरीमा सकिएको थियो।