मोड्रिक भन्छन्,‘एल क्लासिकोमा ड्र खेल्दा जितेजस्तै महशुस हुन्छ’
काठमाडौंः रियल मड्रिडका मिड फिल्डर लुका मोड्रिकले एल क्लासिकोमा बार्सिलोनासँग १–१ गोलको बराबरी खेल्नु रियल मड्रिडका लागि खेल जितेजस्तै भएको बताएका छन्। मोड्रिकले अन्तिम समयमा बराबरी गोल फर्काएर अंक खोस्नु नै जित सरह भएको बताएका हुन्।
शनिबार राति बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउँमा भएको एल क्लासिको भिडन्तमा बार्सिलोनाले खेलको ५३ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता लिएको थियो। तर, खेलको अन्तिम मिनेटमा रियलका लागि सर्जियो रामोसले गोल गर्दै खेल बराबरीमा ल्याउँदै रियललाई हारबाट जोगाएनन् मात्रै, बार्सिलोनासँग एक अंक खोस्न पनि सफल भयो।
‘यो खेल हाम्रा लागि धेरै महत्वपूर्ण थियो र एक अंक लिन सफल भयौं। हामी सुरुदेखि खेलको अन्त्यसम्म लड्यौं र हामीले कहिल्यै पनि हार मान्दैनौं,' एल क्लासिकोमा बार्सिलोनासँग १-१ गोलको बराबरी खेलपछि क्लबको अफिसियल वेवसाइटसँग कुरा गर्दै मोड्रिकले भने। उनले भनेका छन्,‘हामीले राम्रो खेल्यौं, अझ भन्नुपर्दा पहिलो हाफ। उनीहरु (बार्सिलोना)ले दोस्रो हाफमा हामीमाथि दबाब सिर्जना गरे र गोल गर्न सफल भए। तर हामीले कहिल्यै हार खादैनौं। बराबरी खेलेर एक अंक भएपनि खोस्नु हाम्रा लागि जितेसरह हो।’
मोड्रिकले एक अंक खोसेर तालिकाको शीर्ष स्थानमा रहेको रियल मड्रिडले बाँकी खेल पनि यस्तै लय कायम गर्नु जरुरी रहेको बताए। ‘हामीले अहिले राम्रो लयमा छौं र कन्फिडेन्सका साथ खेल खेलिरहेका छौं। ३३ खेलमा अपराजित रहनु संयोग होइन। रियलमा विश्वकै चर्चित र राम्रा खेलाडी छन्, यदि हामीले टिम गेम खेले हामीलाई हराउन जो कोहीलाई हम्मेहम्मे पर्छ,’मोड्रिकले भनेका छन्।