दक्षिण एसियाली फुटसल च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित
काठमाडौंः तेस्रो दक्षिण एसियाली फुटसल च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित भएको छ। श्रीलंकामा सोमबार भएको फाइनलमा आयोजक राष्ट्रसँग श्रीलंकासँग २–१ गोलले पराजित हुँदै नेपाल उपविजेतामा सीमित भएको हो।
खेलमा अग्रता भने नेपालले लिएको थियो। नेपालका लागि खेलको सातौं मिनेटमा सुवास घलानले गोल गर्दै सुरुवाती अग्रता दिलाए। पहिलो हाफमा १–० गोलले अघि रहेको नेपालले दोस्रो हाफमा भने दुई गोल खायो। श्रीलंकाका लागि खेल सकिन ६ मिनेट बाँकी छँदा नादानले बराबरी गोल फर्काए। त्यसलगत्तै नादानले नै दोस्रो गोल थपेपछि नेपालको उपाधि जित्ने सपना चकनाचुर भयो।
पाँच देश सहभागी उक्त च्याम्पियनसिपमा नेपालले भारतलाई ५–०, मालदिभ्सलाई ३–२ र पाकिस्तानलाई ९–० गोलले हराएको थियो। नेपालले अन्तर्राष्ट्रिय स्तरको अफिसियल फुटसल प्रतियोगितामा सहभागिता जनाएको यो पहिलो पटक हो।