टोलीमा नयाँ खेलाडीको बाहुल्य

टोलीमा नयाँ खेलाडीको बाहुल्य

काठमाडौंः अर्को साताबाट श्रीलंकामा सुरु हुने एसियाली क्रिकेट काउन्सिल (एसिसी) यू-१९ एसिया कप क्रिकेटका लागि घोषित नेपाली राष्ट्रिय टोलीमा अधिकांश नयाँ अनुहारलाई समावेश गरिएको छ । छनोट समितिले आगामी मंसिर २८ देखि पुस ९ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि सोमबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीमा आधाभन्दा बढी नयाँ खेलाडी छन् ।

टोलीमा समावेश गरिएका १५ खेलाडीमध्ये ६ जनासँगमात्र यसअघि यू-१६ वा यू-१९ राष्ट्रिय टोलीबाट खेलेको अनुभव छ । त्यसबाहेकका सबै नौ खेलाडी नयाँ हुन् । पुरानामध्ये आदिल खान, दीपेन्द्रसिंह ऐरी र सन्दिप सुनारले गत वर्ष मलेसियामा भएको एसीसी यू-१९ प्रिमियर लिग खेलेका थिए । यसैगरी आफिस शेख, रवीन्द्रजंग शाही र पवन सर्राफ सन् २०१४ मा मलेसियामै भएको एसीसी यू-१६ प्रिमियर लिग खेलेका खेलाडी हुन् ।

चार वर्षअघि मलेसियामा सम्पन्न यू- १६ प्रिमियर क्रिकेटको उपाधि जित्दा कप्तान रहेका सुमित महर्जन भने अहिले टोलीमा परेका छैनन् । सुमितलाई छनोट समितिले ५२ जनाको प्रारम्भिक क्याम्पमा समेत समावेश गरेको थिएन ।

यद्यपि अन्तिम समयमा बोलाइएका सुमित १५ सदस्यीय टोलीमा अटाउन सकेनन् । सुमितसँगै सोही प्रतियोगितामा उत्कृष्ट बलर घोषित भएका जितेन्द्रसिंह र ‘प्रोमिसिङ' खेलाडी घोषित अनिल खरेल पनि टोलीमा परेनन् । अनिल ५२ जनाको प्रारम्भिक सूचीमै परेका थिएनन् ।

नेपाल क्रिकेट संघ (क्यान) को नौवटा क्षेत्रभित्र विभिन्न ६ केन्द्र बनाई सञ्चालन गरिएको ट्यालेन्ट हन्टमार्फत ५२ जना खेलाडी छनोट गरिएको थियो । उनीहरूलाई १० दिनसम्म आन्तरिक प्रतिस्पर्धा गराई १५ सदस्यीय अन्तिम टोली घोषणा गरिएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को एसिया क्षेत्र हेर्ने विकास निर्देशक बेन्कटपथि राजुको नेतृत्वमा रहेको प्रशिक्षकद्वय जगत टमाटा र विनोद दाससहितका तीन सदस्यीय छनोट समितिले टोलीको कप्तानीको जिम्मेवारी सिनियर राष्ट्रिय टोलीबाट समेत खेलिसकेका सन्दिप लामिछानेलाई दिएको छ ।

टोलीका अन्य सदस्यमा भीम सार्की, अनिलकुमार शाह, सुवर्णकर उराह, कमलसिंह ऐरी, नन्दन यादव, प्रकाश केसी, अभिनाश कर्ण र रोहितकुमार पौडेल छन् । यसैगरी समितिले चार वैकल्पिक खेलाडीको नामसमेत सार्वजनिक गरेको छ । वैकल्पिक खेलाडीमा साहव आलम, किशोर महतो, विक्रम भुसाल र सुशान्त थापा रहेका छन् ।

प्रतियोगितामा नेपाल टेस्ट मान्यता प्राप्त भारत र श्रीलंकाको युवा टोलीसमेत रहेको समूह ‘ए' मा परेको छ । उक्त समूहमा मलेसिया पनि छ । नेपालले मंसिर ३० गते श्रीलंकासँग खेलेर प्रतियोगितामा आफ्नो यात्रा सुरु गर्नेछ । यसैगरी पुस १ गते भारत र पुस ३ गते मलेसियासँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.