एचआईभीको चुनौती

एचआईभीको चुनौती

काठमाडौं: एचआईभी संक्रमण एक उच्च रक्तचाप, चिनी रोगजस्तै औषधिको प्रयोग सधैं र उचित समयमा उचित मात्रामा गरेर व्यवस्थापन गर्न सकिने रोग हो । एचआईभी संक्रमणले शरीरको रोगसँग लड्ने प्रतिरक्षा प्रणालीको आवश्यक कोषिका 'सीडीफोर' को संख्यामा कमी ल्याइदिन्छ । सामान्यतया उक्त कोषिकाको संख्या मानव शरीरको रगतमा पाँच सयदेखि १५ सय हुन्छ । संक्रमण भएको सातदेखि १० वर्षमा यदि सीडीफोरको संख्या दुई सयभन्दा तल झर्‌यो भने विभिन्न किसिमका 'अवसरवादी' रोगहरूले आक्रमण गर्न थाल्छन् ।

अवसरवादी रोग भन्नाले सामान्य प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूमा असर नगर्ने तर संक्रमण पछि त्यसमा ह्रास भएपछि देखिने रोगहरू हुन । नेपालमा क्षयरोग, ढुसीको मेनेन्जाइटिस, निमोनिया, आँखाका झिल्लीमा असर गर्नेलगायत मुख्य अवसरवादी रोगहरू देखिएका छन् । जसको संक्रमणले बिरामीको मृत्यु पनि हुने गर्दछ । अवसरवादी रोग तथा अवसरवादी क्यान्सर देखिएको अवस्थालाई एड्स भनिन्छ । अवसरवादी क्यान्सरहरूमा पाठेघरको मुखको क्यान्सर, लिम्फोमाको क्यान्सर र लिउकेमिया जस्ता क्यान्सर पर्छन् ।

एचआईभी संक्रमणका लक्षणहरू कस्ता हुन्छन् ?

एचआईभी संक्रमणपछि केही हप्तामा 'एक्युट रेट्रो भाइरल बिड्रोम' एक प्रकारको भाइरल ज्वरोको लक्षणहरू देखिन्छन् । सामान्य ज्वरो आउने शरीरमा राता दाना देखिने गाँठागुठी सुन्ने र आफैं ठीक हुने गर्दछ । कतिपय संक्रमित व्यक्तिमा कुनै लक्षण देखिँदैन । जब सीडीफोरको संख्या पाँच सयभन्दा मुनि झर्न थाल्दछ सामान्य रोगहरू पटकपटक हुने गर्दछन् । झाडापखाला लाग्ने, घाँटी दुख्ने, निमोनिया हुने समस्या देखिन्छन् ।

जब सीडीफोरको संख्या तीन सय ५० भन्दा कम हुन थाल्छ छाला चिलाउने, खटिरा आउने, र बल्झिने घाउ खटिरा आउने, मुख तथा घाँटीमा ढुसी देखिने गर्छ । जब सीडीफोरको संख्या दुई सयभन्दा तल झर्न थाल्छ तब घाँटी, खाना नली, फोक्सो, पेट, गाँठागुठी, दिमागमा विभिन्न समस्या देखिन थाल्छ । ती अंगहरूमा क्यान्सर निम्त्याउँछ । बिस्तारै संक्रमितको तौल घट्ने, लामो समय ज्वरो आउने, पखाला लागिरहने, खाना अरुचि हुने, शरीरको रङ कालो हुने समेत गर्दछ ।

एचआईभी संक्रमण कसरी सर्दछ ?

- संक्रमित व्यक्तिसँगको असुरक्षित (बिना कन्डम प्रयोग) यौन सम्पर्क गर्दा,
- संक्रमित आमाले बच्चा जम्माउँदा
- संक्रमित व्यक्तिसँग सुईहरूको साट्दा
- संक्रमित रगत या रगत जन्य पदार्थका प्रयोग गर्दा

एचआईभीको परीक्षण कसरी हुन्छ ?

रगतको जाँचगरी एचआईभी संक्रमणको पहिचान गरिन्छ । अस्पताल तथा स्वास्थ्य संस्थामा यसको जाँच गर्न सकिन्छ । एचआईभीको उपचार संक्रमित भएको पत्ता लागिसकेपछि रगतको परीक्षणसँगै अरू अवसरवादी रोगहरूको परीक्षण गरिन्छ । परीक्षणपश्चात् अवसरवादी रोगको उपचारसँगै संक्रमणविरुद्ध जीवनभर खाने एन्टी रेट्रोमाइकल ट्रेटमेन्ट (एआरटी) नामक औषधि सुरु गरिन्छ । यो औषधि नेपाल सरकारअन्तर्गतका स्वास्थ्य तथा अन्य संस्थाहरूमा स्थापना गरिएका ६४ वटा एआरटी सेन्टरबाट उपलब्ध भइरहेको छ । एआरटी जिन्दगीभरि खाने औषधि हो ।

अहिलेसम्म संक्रमितहरूको पहिचान गरी सीडीफोरको संख्या पाँच सय (विशेष अवस्थाबाहेक) भन्दा कम भएको अवस्थामा मात्र एआरटीको प्रयोग गरिएको छ । विभिन्न अनुसन्धानबाट संक्रमित व्यक्तिहरूलाई समयमै एआरटीको प्रयोग गर्नाले शरीरमा कोषिका घट्न नपाउने र त्यसले गर्दा अवसरवादी रोगहरूका संक्रमण नहुने ती रोगहरूले गर्दा हुने अवस्थाबाट बचाउन सकिने देखिएको छ । शरीरको रोगसँग लड्न शक्ति नघटेपछि अवसरवादी रोगको जोखिम हुँदैन र संक्रमित व्यक्ति आफ्नो स्वास्थ्य जीवन बाँच्न सक्छन् ।

कस्ता व्यक्तिले रगतको जाँच गर्नु पर्छ ?

जोखिमपूर्ण व्यवहारमा संलग्न व्यक्तिहरूले संक्रमणको जाँच रगत जाँच गर्न जरुरी छ । संक्रमित व्यक्ति आफ्नो अवस्था थाहा नभई लामो समयसम्म स्वस्थ्य हुन सक्दछ । संक्रमित अवसरवादी रोगहरू देखिन सातदेखि १० वर्ष र कहिलेकाहीँ अझ बढी समयसम्म बिना लक्षण स्वास्थ्य रहन्छन् । मानिसको रूपरंग हेरेरमात्रै संक्रमित छ/छैन भन्न सकिँदैन । एचआईभी संक्रमणको पहिचान रगतको परीक्षणपछि मात्र निक्र्यौल गर्न सकिन्छ ।

एचआईभी रोग नियन्त्रणका लागि के के छन् चुनौती ?

एचआईभी संक्रमण नियन्त्रणका लागि सबैभन्दा पहिले अवसरवादी रोगहरूको परीक्षण तथा उपचार प्रक्रियालाई व्यापक बनाउन जरुरी छ । पहिचान भएका सबै अवसरवादी रोगहरूको उपचार हुन नसकेको अवस्था छ । यो समस्या विशेषगरी तराईका जिल्लामा व्यापक छ । अवसरवादी रोगको पहिचानपछिमात्रै एचआईभी संक्रमणको जाँच गर्न सहज हुन्छ । जुन सरकारका लागि चुनौती बनेको छ । एचआईभी संक्रमण ढिलो पहिचान हुँदा यसको उपचार प्रक्रिया जटिल बनेको छ । अधिकांश एचआईभी संक्रमित तीनसय ५० सीडीफोर पुगेको अवस्थामा अस्पतालमा उपचारका लागि जाने गरेका छन् ।

टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्लो तीन महिनामा एक सयभन्दा कम सीडीफोर भएका संक्रमितको उपचार भएको छ । एचआईभी संक्रमणको पहिचान समयमा नहुँदा अझै पनि नेपालमा धेरै व्यक्तिहरू अवसरवादी रोग लागि मृत्यु हुने र अवसरवादी रोगका जटिलताहरू भोग्न बाध्य छन् । त्यसैले समयमै जो व्यक्तिहरूको जोखिमपूर्ण व्यवहारमा रहेकाले जतिसक्दो चाँडो एचआईभीको रगत परीक्षण गराउन जरुरी छ ।

यस संक्रमणमा जति ढिलो पहिचान हुन्छ त्यति नै जटिलताहरू आउँदै जान्छ । त्यसैले समयमै पहिचान भएमा स्वस्थ जीवन बन्न सक्छ । संक्रमित व्यक्तिहरूलाई लगाइने लाञ्छना र विभेदलाई घरपरिवार, समाज र आमसञ्चार माध्यम मिलेर अन्त्य गर्नु जरुरी छ । लाञ्छना विभेद कारणले धेरै व्यक्ति एचआईभीको जाँच नगर्ने, संक्रमित भएपछि पनि एक प्रकारको हिंसा व्यहोर्नुपर्ने अवस्था छ जसलाई अन्त्य गर्न जरुरी छ ।

नेपालमा एचआईभी संक्रमितको अवस्था कस्तो छ ?

एक दशक अघिसम्म महामारीको रूप लिने गरेको एचआईभी संक्रमण नेपालमा ह्वात्तै घट्नुका साथै मृत्युदरमा समेत कमी आएको छ । चेतनाको विस्तारले पछिल्लो नौ वर्षमा ८० प्रतिशतले नयाँ संक्रमणलाई घटाउन सरकार सफल भएको हो । सन् २००७ मा नेपालमा बर्सेनि करिब २३ सय जना नयाँ मानिसमा एचआईभी संक्रमण पुष्टि हुने गरेको थियो भने हाल करिब १३ सयजनालाई मात्रै संक्रमण पुष्टि हुने गरेको सरकारी तथ्यांकले देखाउँछ ।

सन् २००७ मा नेपालमा रहेका करिब ७० हजार एचआईभी संक्रमितमध्ये बर्सेनि तीन हजार संक्रमितले ज्यान गुमाउने गरेका थिए । हाल ३९ हजार तीन सय ९७ जना एचआईभी संक्रमित रहेको नेपालमा वर्षमा दुई हजार दुई सय ६३ जना संक्रमितले ज्यान गुमाउने गरेको पाइएको छ । संक्रमित हुनेमा अहिले पनि पुरुष नै धेरै छन् । नेपालमा करिब ८५ प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौनसम्पर्कको माध्यमबाट सर्ने गरेको पाइएको छ ।

सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरू, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगीहरू, रोजगारीका लागि विदेश धाउनेहरू र कैदीहरूलगायतको समूहमा एचआईभी संक्रमणको दर पाँच प्रतिशतभन्दा बढी छ । तर सामान्य जनसंख्यामा एचआईभी संक्रमण दर एक प्रतिशतभन्दा कम छ । जनचेतनाको विस्तार र परीक्षण सेवाले एचआईभी संक्रमण दर घटाउन सफल भएको बताए । उनका अनुसार सन् २०१० को तुलनामा एक ४६ प्रतिशतले एआईभी उपचारमा पहुँच बढेको छ ।

सरकारले मुलुकका विभिन्न दुई सय ६५ केन्द्रमा एचआईभी परीक्षणको व्यवस्था गरेको छ भने ६५ वटा एआरटी साइट सञ्चालनमा ल्याएको छ । जसमा १२ हजार चार सय ४६ जना एआरटी उपचार पद्धतिमा रहेका छन् । यस्तै आमाबाट बच्चामा एचआईभी सक्रमण सर्नबाट रोक्न विभिन्न ५५ जिल्लामा विशेष कार्यक्रम सञ्चालनमा छ । एचआईभी संक्रमणको न्यूनीकरणमा नेपालले सहस्राब्दी विकास लक्ष्य नं ६ समेत प्राप्त गरिसकेको छ । तर अहिले पनि धेरै संक्रमित व्यक्तिहरू आफू संक्रमित भएका थाहा नपाएर बसिरहेका छन् । त्यसैले गर्दा मुलुकका विभिन्न क्षेत्रबाट अवसरवादी रोग लागिसकेका अवस्थामा बिरामी पहिचान भई अस्पताल भर्ना हुने गर्छन् ।

डा. बाँस्तोला कन्सलटेन्ट ट्रपिकल मेडिकल फिजिसियनका रुपमा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.