मेसीको नयाँ सम्झौताबारे छलफल गर्न जार्जे बार्सिलोनामा
काठमाडौंः अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेसीले यो सिजनको अन्तिममा बार्सिलोना छोड्ने निर्णयमा पुगेको भन्ने चर्चा चलिरहेका बेला उनका एजेन्टसमेत रहेका बाबु जोर्जे बार्सिलोना आएका छन्।
बार्सिलोनासँग मेसीको करार सम्झौता थप गर्ने कि नगर्ने भन्ने विषयमा क्लबका अध्यक्षसँग छलफल गर्न जोर्जे बार्सिलोना आएको बताइएको छ। बार्सिलोनाका अध्यक्ष जोसेप मारियाले मेसीसँगको नयाँ सम्झौता गर्नेबारे कुराकानी गर्न उनका एजेन्टसमेत रहेका बाबु जोर्जेलाई बोलाएका हुन्। जोसेपकै आग्रहमा मेसीका बाबु बार्सिलोना आएको बताइएको छ।
मेसीको बार्सिलोनासँगको सम्झौता सन् २०१८ मा सकिँदैछ। तर, मेसीले आफूले मागे जति पारिश्रमिक नदिने यो सिजनको अन्तिममा बार्सिलोना छोड्ने बताइसकेका छन्। त्यसैले पनि क्लबका अध्यक्ष जोसेपले उनका एजेन्ट तथा बाबु जोर्जेलाई छलफलका लागि बोलाएका हुन्।
सन स्पोट्सका अनुसार मेसीले बार्सिलोनामै बस्नका लागि ८ लाख २५ हजार पाउन्ड प्रतिसाता पारिश्रमिकको माग गरेका छन्।
बार्सिलोनाले मेसीसँग नयाँ सम्झौता हुनेमा विश्वास व्यक्त गरेको छ। बार्सिलोनाले मेसीसँग छिट्टै नयाँ सम्झौता पनि हुने र बार्सिलोनाबाटै करियरको अन्त्य गर्ने विश्वास लिएको छ।