राष्ट्रकवि स्वस्थ हुनुको रहस्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे उमेरले ९८ वर्षमा टेके । स्वच्छन्दतावादी भावधारा र परिस्कारवादी शैलीका साहित्यकार उनी अहिले पनि उत्तिकै फूर्तिला र हँसिला छन् । मन सधैं चंगा बनाउन तल्लीन उनलाई बुढ्यौली शरीरले निराशा थप्न अझै सकेको छैन ।
बाल्यकालदेखि निरन्तर रूपमा नेपाली साहित्यलाई उचाइमा पुर्याउन सफल बहुमुखी प्रतिभाशाली घिमिरे अझै पनि सिर्जनशील काम र अध्ययनमा व्यस्त छन् । मजबुत स्वास्थ्यले उनको अध्ययन र सिर्जनालाई टिकाइराख्न सकेको हो । चिसो सिरेटोलाई छल्दै सबैरै लाजिम्पाटस्थित राष्ट्रकविको घर पुग्दा उनले तन्दुरुस्त हुनका लागि धेरै काम सकिसकेका थिए । भेटको केही बेरमै आफू स्वस्थ रहनुको रहस्य खोल्न थाले उनी ।
प्राणायामसहित योगासनको निरन्तरता
करिब ६ बजेतिर आँखा खुल्नासाथ उनी ओछ्यानबाटै झुल्केको घाम, हिउँले ढाकेको हिमाल, हरिया पातहरू र फूलहरूको सामीप्य महसुस गर्छन् । नित्यकर्म सकेपछि समय छुट्याएर कम्तीमा आधा घन्टा आफूलाई सहज हुने गरी प्राणायामसहितको योगासन गर्छन्। यसलाई उनले १६ वर्षकै उमेरमा अँगालेका थिए । तर, त्यो बेला आफ्नो सिर्जना र कामलाई ठूलो ठान्दा उनले त्यसलाई निरन्तरता दिन सकेका थिएनन् ।
जागिरे जीवनबाट अवकाश पाएपछि उनले दैनिक रूपमा प्राणायामसहितको योगासन गर्दै आएका छन् । एक दिन छुट्दा पनि उनलाई जीवनको केही महत्वपूर्ण कुरा छुटेजस्तो भान हुन्छ । ‘मैले प्राणायामसहितको योगासनलाई प्रेम गरेँ । त्यसलाई झन्झटको रूपमा लिएको भए आजसम्म मेरो स्वास्थ्य मजबुत हुने थिएन । प्रेमले कुनै पनि कामलाई निरन्तरता दिन सहयोग गर्छ’, यसो भन्दै गर्दा राष्ट्रकवि घिमिरे मुस्कुराइरहेका थिए ।
धेरै झरकमरक नगरी वैज्ञानिक पद्धतिमा प्राणायाम र योगासन गर्छन् उनी । त्यो गरेपछि उनलाई शरीर उडेजस्तो र बाहिरको हावा अमृत पिएजस्तो लाग्छ ।
आध्यात्मिक मन
योगासन र प्राणायाम सकेपछि उनी आफूलाई मन पर्ने वेदका केही मन्त्र र गीताका केही श्लोक पाठ गर्न कहिल्यै बिर्संदैनन् । ‘म बूढो भएँ, अब कति बाँचूँला र ? त्यसलै केही गुप्त कुरा पनि भनिदिऊँजस्तो लाग्यो’, उनले भने । उनको योगासन र प्राणायम अलि फरक छ । उनी मनभित्रको दिव्यश्वरनाथलाई सुन्ने प्रयास गर्छन् । घाँटी लगायतमा ठोकिएर आउने आवाज होइन त्यो । उनका लागि दिव्यश्वरनाथको त्यो आवाज स्वस्थ जीवनको आधार बनेको छ ।
उनलाई त्यो आवाज गहिरो साधना गरेपछि मात्र मिलेको थियो । १५ वर्षको उमेरमा एक उच्च व्यक्तिका साथमा साधना गरिरहेका बेला आधा रातमा उनको त्यो स्वर खुलेको थियो । त्यतिमात्रै होइन राष्ट्रकवि ध्यानका बेला ज्योतिनाथको दर्शनमा डुब्छन्, जसलाई योगीहरू ज्योत पनि भन्छन् । उनको शब्दमा एकान्तमा बसिरहँदा अँध्यारो हटेपछि मात्र मनभित्र ज्योति देखिन्छ । त्यस्तो ज्योति देख्न थालेपछि उनलाई आनन्द आउन थाल्यो । लेखाइपढाइको काम सकेपछि उनी त्यो ज्योति दर्शन गर्न आतुर हुन्छन् ।
शान्तको संगीत (पिस म्युजिक) सुन्दा उनलाई शरीर स्वस्थ भएको अनुभव हुन्छ । शिरबाट अमृत झरेजस्तो भान हुन्छ । उनी समय हेरेर योगासन गर्छन् तर संगीत भने मन लाग्ने गरी सुन्छन् । उनी भन्छन्, ‘अहिले रामदेव, ओशो वा बौद्ध भिक्षुहरूको साधना पछ्याउने धेरै छन् । कसैले पताञ्जलि शिक्षाबाट योगासन गर्न थालेका छन् । तर, मलाई ती सबैले छोएको छैन । छोयो त केवल त्यो रहस्यमय दिव्यश्वरको आवाज र ज्योतिले ।’ उनको मनभित्र तप्कने त्यो रहस्यमय दिव्यश्वरको आवाज र ज्योति अमृत पिएजस्तै लाग्छ उनलाई । मन आनन्दित बनाउँछ । रिसराग र चिन्ता हट्छ अनि स्वस्थ भएको अनुभव गराउँछ ।
तन, मन र आत्मा अनुशासित
भन्छन्, ‘शरीर, मन र आत्मालाई अनुशासनमा राख्नुपर्छ । राम्राराम्रा मन्त्रहरू पाठ ग¥यो भने मन र आत्मालाई अनुशासित बन्न प्रेरित गर्छ ।’ सधैं त्यसो गर्न सकिँदैन भने फूल, झुल्किन लागेको घाम, हिँउले ढाकेको हिमाल र हरिया पातहरू र त्यहाँबाट चुहिने पानीको थोपालाई हेरिरहँदा पनि मन चंगा हुने उनको अनुभव छ ।
उनका अनुसार शिवपुरी बाबाले भनेजस्तै ध्यान ग¥यो भने मन चञ्चल हुन्न । रिसाहा हुने र खराब चिन्तन गरेमा मन अनुुशासित बन्न सक्देैन । उनी भन्छन्, ‘आफ्नो मनलाई काबुमा राख्नुपर्छ । अरूको निन्दाले आफ्नो मनलाई नै क्षति पु¥याउँछ । अरूको भलो चिताउनुपर्छ ।’
उनका अनुसार शरीरभित्र मन र मनभित्र हुने आत्मालाई पनि अनुशासित बनाउनुपर्छ । त्यसका लागि पनि ध्यान आवश्यक पर्छ । तर, गहिरो ध्यान गरिसकेपछि मात्रै आत्माको दर्शन गर्न सकिन्छ । त्यहाँ शान्तिका सबै उज्यालो पाइन्छ । त्यहीँ अडिएको छ संसार पनि । जथाभावी खाइने खानेकुराले शरीरलाई अनुशासित बनाउँदैन । उनी भन्छन्, ‘मलाई मुटुको व्यथा लाग्यो, उच्च रक्तचाप भयो, मधुमेह भयो भन्नेहरू धेरै भेटिएका छन् । शरीरलाई अनुशासनमा नराख्दा त्यो उत्पात मच्चिएको हो । प्राणायाम र योगासन नजाने पनि अन्य शरीरिक अभ्यास गर्नुपर्छ ।’
खानपानमा सजग
योग आसन र प्राणायाम गरिसकेपछि उनी एकछिन पढ्छन् र चिनी कम हालेको एक कप चिया र दुई टुक्रा बिस्कुट खान्छन् । सकभर उनी खाली पेट राख्दैनन् । पहिले गहुँको पिठो घिउमा भुुटेर पातलो बनाएर खान्थे । दिनमा एउटा स्याउ छुटाएनन् उनले । उनले भने, ‘पैसा छ वा धनी छु भन्दैमा जति बेला जे पनि खानु हुन्न ।’ अरूले धेरै पानी पिउनुपर्छ भने पनि त्यति पिउँदैनन् । उनी स्वास्थ्यलाई ख्याल गर्दै माछामासुलाई प्राथमिकता दिन्नन् ।
अझै पनि गहिरो निद्रा
उमेर ढल्कँदै गएपछि धेरैको निद्रा भाग्छ । तर, राष्ट्रकविलाई दैनिक सात घन्टा गहिरो निद्रा लाग्छ । ‘मभन्दा धेरै कान्छाहरूले मेरो त निद्रा भाग्यो भन्छन् । खै मलाई त निद्रा धेरै नै प्यारो छ ।’ तर लेखेर थोकेको बेला त झन् आठ घन्टा सुत्नुपर्छ उनलाई । लेखिरहेका बेला राम्ररी निद्रा आउँदैन । लेखिसकेपछि भारी बिसाएझैं लाग्छ र गहिरो निद्रामा सुत्छन् उनी । २० वर्षको उमेरमा आफ्नो निद्रामा गडबडी थियो उनको । केमिकलयुक्त खानाले त्यसो गराएको हुनसक्ने उनको अनुभव छ । आफूलाई अनुशासित बनाएकाले नै आफू स्वस्थ भएको उनको भोगाइ छ । ‘स्वस्थ भएपछि मात्रै खुसी हुन्छ जीवन’, भेटको अन्तिम वाक्य थियो उनको ।