१५ वर्षभित्र सबैलाई सुलभ स्वास्थ्य सेवा
काठमाडौः सरकारले मुलुकका सबै नागरिकलाई सुलभ स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने महत्वाकांक्षी राष्ट्रिय रणनीति तयार पारेको छ । स्वास्थ्य मन्त्रालयले लामो गृहकार्यपछि आगामी १५ वर्षभित्र मुलुकका सबै नागरिकलाई सुलभ स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने राणनीति तय गरेको हो ।
रणनीतिले सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्याउने उद्देश्य पूरा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्वास्थ्यमन्त्री गगन थापाले बताए । रणनीतिअनुसार केके काम कसरी गर्ने भन्ने पनि तय भइसकेको मन्त्रालयका नीति तथा अन्तर्राष्ट्रिय समन्वय शाखाका प्रमुख राजीव पोखरेलको भनाइ छ ।
रणनीतिका उद्देश्य
पहुँचबाहिर रहेका वर्ग र समुदायसम्म स्वास्थ्य सेवाको पहुँच र उपभोगमा वृद्धि गर्ने रणनीतिको पहिलो उद्देश्य हो । पिछडिएका जातजाति र धार्मिक समूहको आधारभूत स्वास्थ्य सेवामा पहुँच एवं उपभोग बढाउने उद्देश्य पनि छ । रणनीतिअनुसार दूरदराजमा आधारभूत स्वास्थ्य सेवाको पहुँच र उपभोग वृद्धि गरिनेछ ।
विपन्न, सुकुमबासी, सडक बालबालिका र आप्रवासी कामदारको आर्थिक पक्षलाई लक्षित गरी आधारभूत स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्ने रणनीतिको उद्देश्य हो । एचआईभी संक्रमित, महिला यौनकर्मी, कैदीबन्दीलगायत अल्पसंख्यक समूहको आधारभूत स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्ने, फरक क्षमताका साथ समुदायमा कार्यरत मानिसका लागि आधारभूत स्वास्थ्य सेवा पहुँच एवं उपभोग बढाउने योजना छ ।
एचआईभी संक्रमित, महिला यौनकर्मी, कैदीबन्दीलगायत अल्पसंख्यक समूहको आधारभूत स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्ने उद्देश्य ।
नेपालको स्वास्थ्य सेवा सुधारका लागि र संविधानले व्यवस्था गरेको स्वास्थ्य अधिकार सुनिश्चित गर्न रणनीति निर्माण गरिएको स्वास्थ्यसचिव डा. सेनेन्द्रराज उप्रेतीले बताए ।