सचिन पछ्‌याउँदै विराट

सचिन पछ्‌याउँदै विराट

विराट कोहली र सचिन तेन्दुलकरमध्ये को सर्वोत्कृष्ट ? अधिकांशलाई यो प्रश्न अनावश्यक लाग्नसक्छ । हुन पनि सचिनलाई भारतमा भगवान्का रूपमा लिइन्छ भने विश्वभर महान् क्रिकेटर । ब्याट्सम्यानका रूपमा सचिनको पहिचान व्यापक छ । रनसँग उनको विशेष नाता रह्यो । अन्तर्राष्ट्रिय क्रिकेटमा शतकको पनि शतक पूरा गर्ने उनी एकमात्र क्रिकेटर हुन् ।

एकदिवसीय र टेस्ट क्रिकेटमा सर्वाधिक शतक र सर्वाधिक रन जोड्ने पनि सचिन नै हुन् । उनको यो सफलताभन्दा अघि बढ्न अहिले र भविष्यमा आउने खेलाडीले समेत मैदानमा थुप्रै पसिना बगाउनुपर्ने हुन्छ । यही तथ्यांक पर्याप्त छ, सचिन कति महान् खेलाडी हुन् भनेर आकलन गर्न । त्यसैले भन्ने गरिन्छ, सचिनसँग के छैन ? तर के सचिनसँग कोहलीको तुलनै हुन सक्दैन त ? आँकडाले भन्छ, कोहलीसँग पनि धेरै कुरा छ । त्यसैले सचिन र कोहलीबीच तुलना हुनसक्छ र तुलना गरिनु पनि पर्छ ।

कोहली टीट्वेन्टी, एकदिवसीय र टेस्ट क्रिकेटमा कम्तीमा ५० रनको औसतमा रन बनाउने विश्वकै एकमात्र ब्याट्सम्यान हुन् । भारतीय क्रिकेटमा उनी सबैभन्दा छिटो एकदिवसीय शतक बनाउने, एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो पाँच हजार रन र १० शतक पूरा गर्ने क्रिकेटर हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो २५ शतक पूरा गर्ने विश्वकीर्तिमान पनि कोहलीको नाममा छ । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार चार वर्ष कम्तीमा एक हजार रन बनाउने विश्वकै दोस्रो ब्याट्सम्यान पनि हुन् । टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा उनी सबैभन्दा छिटो एक हजार रन पूरा गर्ने, एकै वर्षमा सर्वाधिक रन बनाउने र सर्वाधिक अर्धशतक प्रहार गर्ने ब्याट्सम्यान हुन् ।

कोहली टेस्ट क्रिकेटमा एकै वर्ष तीनपटक दोहोरो शतक बनाउने पाँचौं ब्याट्सम्यान हुन् । यसअघि अस्ट्रेलियाका डन ब्राडम्यान, रिकी पोन्टिङ र माइकल क्लार्क तथा न्युजिल्यान्डका ब्रेन्डन म्याककुलुमले मात्र यो सफलता चुम्न सकेका थिए । कोहली यस्तो सफलता हात पार्ने विश्वकै तेस्रो टेस्ट कप्तान हुन् । यसअघि म्याककुलुम र क्लार्कले पनि कप्तानकै रूपमा उक्त सफलता हात पारेका थिए ।

यसैगरी कोहली एउटै टेस्ट शृंखलामा कम्तीमा पाँच सय रन बनाउने दोस्रो भारतीय कप्तान पनि हुन् । कोहलीले सन् २०१६ मा टेस्ट क्रिकेटमा एक हजारभन्दा बढी रन बनाइसकेका छन् । उनी टेस्ट क्रिकेटमा एकै वर्ष कम्तीमा एक हजार रन बनाउने तेस्रो भारतीय ब्याट्सम्यान हुन् । पक्कै पनि यी महत्त्वपूर्ण सफलताले कोहलीलाई सचिनभन्दा माथि देखाउँछ । भनिन्छ, विश्व खेलकुदमा तथ्यांक बोल्छ र यी तथ्यांक पक्कै पनि कोहलीकै पक्षमा देखिन्छ ।

सचिनले सिनियर अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको झन्डै १९ वर्षपछि सन् २००८ मा कोहलीले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा 'डेब्यु' गरेका थिए । कोहलीले खेल्न थालेयता नै सचिनले पनि आफ्नो करिअरकै सबैभन्दा सुखद समय अनुभव गरे । सचिनले सन् २०१० मा एकदिवसीय क्रिकेटमा दोहोरो शतकको पाली खेल्दै विश्व क्रिकेटमा सनसनी मच्चाए । एकदिवसीय क्रिकेटमा कुनै पनि ब्याट्सम्यानले दोहोरो शतक बनाएको यो पहिलोपटक थियो । त्यसको एक वर्षपछि भारतले एकदिवसीय विश्वकप जित्यो ।

राष्ट्रिय टोलीबाट एकदिवसीय विश्वकप जित्ने तेन्दुलकरको सपना लामो पर्खाइपछि पूरा भयो । सन् २०१२ मा बंगलादेशविरुद्ध भएको एकदिवसीय खेलमा शतक बनाएपछि सचिनले अन्तर्राष्ट्रिय क्रिकेटमा शतकहरूको शतक पूरा गर्दै अर्को कोसेढुंगा पार गरे । सचिन कीर्तिमान आफ्नै लागि बनाउँथे र आफैं तोड्थे । एक खेलका क्रममा टेस्ट क्रिकेटमा आफूले बनाएको सर्वाधिक एकल रनको कीर्तिमान तोडिएपछि वेस्ट इन्डिजका महान् खेलाडी ब्रायन लाराले भनेका थिए, 'विश्व खेलकुदमा कीर्तिमानहरू तोडिनैका लागि बन्ने गर्छन्' । तर जति बेला विश्व क्रिकेटमा सचिनको ब्याटको जादु चलिरहेको थियो, त्यति बेला उनको कीर्तिमानलाई चुनौती दिने साहस कुनै खेलाडीमा देखिँदैन थियो ।

सन् २०१३ मा सचिनले अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिँदा भावी पुस्ताका लागि थुप्रै चुनौती तेर्सिएका थिए । खासगरी सचिनको ब्याटिङमा जुन जगजगी थियो, त्यसलाई चुनौती दिने कुनै खेलाडी जन्मिएला वा नजन्मिएला भन्ने कुरा ठूलै बहसको विषय हुन्थ्यो । तर, यति बेला छोटो समयमै कोहलीले सचिनसँग आफूलाई तुलनायोग्य बनाइसकेका छन् ।

बेलायती समाचार संस्था रोयटर्सले केही दिनअघि 'सचिनको पदचिह्न पछ्याउँदै कोहली' शीर्षकमा समाचार लेखेको थियो, 'तीन वर्षअघि सचिनले सन्न्यास लिएयता पहिलोपटक उनले जस्तै कोहलीले पनि ब्याटिङ गर्न मैदान छिर्दा दर्शकदीर्घाबाट व्यापक हुटिङ पाए ।' इङ्ल्यान्डविरुद्धको चोथो टेस्ट क्रिकेटबारे लेखिएको उक्त समाचार सचिनले सानैदेखि खेलेर हुर्किएको मुम्बईको वांखडेमा आयोजित खेलबारे थियो । विराट भने आफूलाई सचिनसँग तुलना गरिएको फिटिक्कै रुचाउँदैनन् ।

सचिनकै खेल हेरेर उनले क्रिकेटर बन्ने सपना देखे । सन् २००८ मा आफ्नै कप्तानीमा भारतलाई आईसीसी यू-१९ को विश्व विजेता बनाउनु कोहलीका लागि लामो अन्तर्राष्ट्रिय यात्राको प्रस्थान बिन्दु थियो । उनले सोही वर्ष सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरे । सन् २०१० मा उनले टेस्ट टोलीमा डेब्यु गरे । त्यसको एक वर्षपछि भारतले एकदिवसीय विश्वकपको उपाधि जित्दा विराट पनि टोलीमा थिए । सन् २०१३ मा उनी एकदिवसीय ब्याट्सम्यानको वरीयताक्रममा शीर्ष स्थानमा पुगे । सन् २०१४ र सन् २०१६ को टीट्वेन्टी विश्वकपमा उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बने । अहिले उनी टीट्वेन्टी ब्याट्सम्यानको सूचीमा पनि शीर्ष स्थानमा छन् ।

कोहलीले सिनियर अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको आठ वर्ष पूरा भएको छ । यी २८ वर्षीय ब्याट्सम्यानले अन्तर्राष्ट्रिय क्रिकेटमा एकदिवसीयतर्फ २६ शतक र ३८ अर्धशतक, टेस्ट क्रिकेटमा १५ शतक र १४ अर्धशतक तथा टीट्वेन्टी क्रिकेटमा १६ अर्धशतक बनाएका छन् । ठूला टोली र ठूला खेलाडीविरुद्ध जमेर खेल्नसक्ने क्षमताकै कारण उनी 'बिग म्याच प्लेयर'का रूपमा स्थापित छन् ।

कोहलीसँग खेलाडी करिअरको अझै लामो समय बाँकी छ । कोहलीको नेतृत्व क्षमता पनि उत्तिकै अब्बल छ । उनी हाल टेस्ट टोलीको कप्तान छन् । सन् २०१२ यता उनी एकदिवसीय टोलीको उपकप्तान छन् । कोहलीकै कप्तानीमा भारतले टेस्ट क्रिकेटमा १७ खेलयता पराजय बेहोरेको छैन र लगातार पाँच टेस्ट शृंखला जितेको छ । भारतले यी दुवै सफलतामा राष्ट्रिय कीर्तिमानको बराबरी गरेको छ ।

यस आधारमा कोहलीले आफ्नो विशिष्ट पहिचान स्थापिन गरिसकेका छन् । यी सब उपलब्धिका कारण पनि कोहली र सचिनबीचको तुलना नरोकिने निश्चित छ । यी दुवै खेलाडीको सफलता आपसमा अतुलनीय छन् । चार वर्षअघि बंगलादेशविरुद्ध शतक बनाउँदै शतकको शतक पूरा गरेपछि सञ्चारकर्मीसँग सचिनले भनेका थिए, 'सयौं शतक बनाउनु मेरा लागि कठिन समय थियो । खासमा मैले यो सफलताबारे कहिल्यै पनि सोचेको थिइनँ । म जहाँ गए पनि सयौं शतककै बारेमा कुरा हुन्थ्यो । कसैले पनि मैले बनाएको ९९ शतकका बारेमा कुरा गरेन । यसले मानसिक रूपमा पीडा दिन्थ्यो ।'

सायद सचिनको कीर्तिमान भंग गर्ने विषय विराटले खेलाडी जीवनबाट सन्न्यास नलिउन्जुलेसम्म सामना गरिरहनुपर्ने प्रश्न हुनेछ । सचिनका सबै कीर्तिमान भंग गरेमा कोहली उनीभन्दा उत्कृष्ट हुनेछन् त ? यो अर्को बहसको विषय हो ।

सर्बोत्कृष्टतालाई तथ्यांकका आधारमा मात्र हेर्न नहुने तर्क गर्ने जमात पनि निकै ठूलो छ । सचिनसँगै टोलीमा रहेर खेल्ने खेलाडीहरू आफूलाई भाग्यमानी ठान्छन् । कोहली आफैं पनि सचिनबाट धेरै कुरा सिकेको बताउँछन् । सन् २०१४ मा इङ्ल्यान्डमा घरेलु टोलीसँग भएको टेस्ट शृंखलामा व्यक्तिगत कमजोर प्रदर्शन भए पनि विराट सुधारको सल्लाहका लागि सचिनको घर पुगेका थिए । 'इङ्ल्यान्डविरुद्धको उक्त प्रदर्शनपछि मैले आफ्नो प्रदर्शनमा निकै सुधारको आवश्यकता महसुस गरेको थिएँ । त्यति बेला सचिनले नै मलाई मिडियाको पछाडि नलाग्न सल्लाह दिएका थिए । वास्तवमा त्यो निकै राम्रो सल्लाह थियो । त्यहीँबाट सक्षम क्रिकेटर बन्ने मेरो यात्रा सुरु भएको थियो', विराट भन्छन् ।

चर्चित स्पोर्टस् च्यानल ईएसपीएनले सन् २०१६ को सर्वाधिक चर्चित खेलाडीको सूचीमा कोहलीलाई आठौं स्थानमा राखेको छ । कोहलीको क्रेज दिनानुदिन बढ्दो छ, सचिनको जस्तै । यति बेला कोहली आफ्नै लागि कीर्तिमान बनाउँदैछन् अनि आफ्नै कीर्तिमान तोड्दै पनि छन्, सचिनेले जस्तै ।

(एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.