रुस्लान अाठाैं सिमरा गोल्डकप माघमा
सिमराः मोफसलकै प्रतिष्ठित फुटवल प्रतियोगिताको रुपमा रहेको रुस्लान सिमरा गोल्डकपको आठौं संस्करण माघमा हुने भएको छ। प्रतियोगिता आयोजक नव जनजागृति युवा क्लबले सिमरामा पत्रकार सम्मलेन गरी विजय डिष्टिलरीले मुख्य प्रायोजन गर्ने प्रतियोगिता माघ २० देखि २९ गतेसम्म सिमरा रंगशालामा हुनेछ।
प्रतियोगितामा यस वर्षपनि ए डिभिजनका पाँचसहित १० टिमको सहभागिता रहने छ। आयोजकले प्रतियोगितामा सहभागी हुनसक्ने सम्भावित टिमको नाम सार्वजनिक गरेको छ। सम्भावित टिमहरुमा तेस्रो र चौथो संस्करणको विजेता लक्ष्मी हुण्डाइ मनाङ मस्र्याङ्दी क्लबसहित ए डिभिजनका विभागीय टिम नेपाल आर्मी क्लब, नेपाल एपिएफ क्लब, सिएमजी संकटा र सरस्वती युथ क्लब रहेका छन्। यस्तै मोफसलबाट साविकको बिजेता विजय युथ क्लब, उपबिजेता रुपन्देही–११, सहारा क्लब पोखरा, वीरगन्ज युनाईटेड क्लब र आयोजक नव जागृति युवा क्लब रहनेछन्।
आयोजक क्लबका अध्यक्ष कासिम मियाले सार्वजनिक गरिएको सम्भावित सहभागी टिममा केही परिवर्तन हुनसक्ने बताए। मियाले प्रतियोगितामा सहभागी हुनका लागि सबै टिमसंग कुरा भइरहेको पनि जानकारी दिए।
‘प्रतियोगितामा सम्भावित टिमहरु हामीले अहिले सार्वजनिक गरेका छौं, यसमा केही परिवर्तन हुनेछ,’ मियाले भने,‘प्रतियोगिता नजिकिँदै गएपछि टिम दर्तापछि सहभागी टिमको टुंगो लाग्नेछ तर यसमा बढी हेरफेर भने हुनेछैन।’ प्रतियोगिताको विजेताले पाँच लाख ५१ हजार रुपैयाँ र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले सुजुकी मोटरसाइकल पाउने छन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने प्रदान गरिने आयोजक क्लका सचिव शम्भुसिंह ठकुरीले जानकारी दिए। आयोजकले प्रत्येक खेलको म्यान अफ दि म्याचलाई यस वर्षदेखि नगद पाँच हजार नगदसहित ट्रफि दिने भएको छ।