माओवादी मन्त्रीको सम्पत्ति विवरणमा 'भारतमा पनि घडेरी र जग्गा'

काठमाडौँ : मन्त्रिपरिषद्का चार सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक आइतबार सार्वजनिक गरिएको छ ।
सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले बुझाएको सम्पत्ति विवरणअनुसार ओखलढुङ्गा माम्खा गाविस–१ मा स्व रत्नदेवीको नाममा खेती गर्न छोडिएको ४ रोपनी जमिन, मामाबाट स्वामित्व हस्तान्तरण भई आएको छोरोको नाममा रहेको भक्तपुर झौखेल–१ स्थित १० आना दुई पैसा जमिन र कार्कीकै नाममा भक्तपुर सिपाडोल–१ मा नौ आना जमिन रहेका छन् ।
आफ्नी पत्नीको स्वामित्वमा भारतको सिक्किम र दार्जिलिङ्मा केही जग्गा र घरहरु रहेको भन्दै कार्कीले त्यसलाई सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। मन्त्री कार्कीको नाममा विभिन्न बैंकमा गरी रु १४ लाख नगद मौज्दात रहेको छ । यस अतिरिक्त उहाँसँग दश तोला सुन रहेको छ ।
वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीले प्रस्तुत गरेको सम्पत्ति विवरणअनुसार उनकी श्रीमती अन्जना उप्रेती भण्डारीका नाममा पैतृक स्रोतबाट प्राप्त काठमाडौँमा अढाई तले घरसहित घडेरी र आमा श्रीमती दमयन्ती भण्डारीका नाममा तनहँुको पुर्कोटमा तीन तले घरघडेरी रहेका छन् ।
त्यस्तै, पैतृक स्रोतबाट प्राप्त श्रीमतीका नाममा काठमाडौँमा २६५।९ वर्गमिटर र आमाका नाममा तनहुँमा २९ रोपनी जग्गा रहेको पनि उनले उल्लेख गरेका हुन्। मन्त्री भण्डारीसँग ४५ तोला सुन र ६० तोला चाँदीका साथै विभिन्न बैंक तथा वित्तीय संस्थामा रु दुई लाख ५५ हजार नगद रहेको छ । उहाँले विभिन्न व्यक्तिबाट रु ३ लाख ५० हजार ऋण लिएको र ११ लाख ऋण दिएको पनि उल्लेख गरेका छन्। मन्त्री भण्डारीको नाङल क्रसर ढुङ्गा उद्योग काभ्रेपलाञ्चोकमा १० प्रतिशत शेयर रहेको छ ।
कानुन, न्याय तथा संसदीय मालिमामन्त्री अजय शङ्कर नायकले प्रस्तुत गरेको सम्पत्ति विवरणमा आमा ईश्वरीदेवीको नाममा सिराहा बड्हरामाल – ६ मा ८ कठ्ठा जग्गा र आफ्नै नाममा सिराहामै १७ धुर जग्गा जग्गा रहेको देखाइएको छ ।
त्यस्तै, आमाकै नाममा सिराहामा पाँच बिगाहा जग्गा र बाजे सरभुग नायकको नाममा सिराहा, उदयपुर र धनुषमा चार बिगाहा जग्गा रहेको उहाँले उल्लेख गर्नुभएको छ । यी सबै पैतृक सम्पत्ति भएको उल्लेख छ ।
मन्त्री नायकसँग सुन १५ तोला, चाँदी ४० तोला, नगद रु दुई लाख र एभरेष्ट बैंकमा रु दुई लाख नगद रहेको विवरणमा उल्लेख छ ।
सिँचाइमन्त्री दीपक गिरीले आफ्नो सम्पत्ति विवरणमा राजधानीमा दुई रोपनी नौ आना र राजधानी बाहिर ६ बिगाहा तीन कठ्ठा जमिन भोगचलनमा रहेको उल्लेख गरेका छन्।
काठमाडौँंको टोखा चण्डेश्वरी नगरपालिका–४ मा दुई रोपनी नौ आना जग्गा र सो जग्गामा बनेको तीन तले पक्की घर र दाङ, हेकुली वडा नं ९ मा ६ बिगाहा तीन कट्ठा जग्गा र सो जग्गामा पाँचवटा घर रहेको उहाँको सम्पत्ति विवरणमा उल्लेख छ ।
सम्पत्ति विवरणमा ५० तोला सुन, झन्डै दुई किलो चाँदी र तीन सेट हीराका गहना पैतृक सम्पत्तिबाट आर्जन भएको उल्लेख छ ।
त्यसैगरी, उनले ग्लोबल बैंकमा रु तीन लाख ९४ हजार नगद मौज्दात रहेको छ । यस अतिरिक्त स्वर्गद्वारी क्रसर उद्योगमा १० प्रतिशत र योगी ब्रदर्स क्रसर उद्योगमा २५ प्रतिशत सेयर र एक सवारीसाधन ९स्कोरपिया० रहेको उहाँले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
