युवा संघ रुपन्देहीका अध्यक्ष तिवारीको गोली हानी हत्या
बुटवलः नेकपा एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको अज्ञात समुहले गोली हानेर हत्या गरेको छ।
रुपन्देहीको देवदहमा अज्ञात समूहले गोली हानेर अध्यक्ष तिवारीको हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए।
अज्ञात समुहले प्रहार गरेको गोली लागेर गम्भीर घाइते भएका तिवारीको उपचारका क्रममा देवदह मेडिकल कलेजमा मृत्यु भएको मरासिनीले बताए।
रातो मोटरसाइकल चढेर आएका दुईजनाको समूहले तिवारीमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तिवारीमाथि गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले मरासिनीले बताए। देवदह नगरपालिका–६ खैरेनीका ४० वर्षीय तिवारी स्थानीय केविआइ इट्टा भट्टका सञ्चालकसमेत हुन्। तिवारीमाथि ६ महिनाअघि पनि आक्रमण भएको थियो । त्यसबेला आक्रमणबाट बाचेका तिवारीलाई सोही समूहले नै हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।