सफल विद्यार्थी बन्न यी कुरामा ध्यान दिनुहोस्
काठमाडौः
१.सधैं सक्रिय
असल विद्यार्थी सधैं आफ्नो पढाइमा सक्रिय रहनुपर्छ । कक्षामा शिक्षकले दिने जिम्मेवारीबाट पन्छिन खोज्नु हुँदैन । कक्षाका हरेक गतिविधिमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रयास गर्नुस् । कसैले केही भूमिका दिन्छ कि भनेर डराएर बस्नेभन्दा पनि कसरी आफूलाई नेतृत्वदायी भूमिकामा राख्ने भन्नेतर्फ ध्यान दिनुपर्छ ।
२.उद्देश्य निर्धारण
विद्यार्थीले पढ्नुभन्दा पहिला आफू केका लागि पढिरहेको छु भन्नेतर्फ सोच्नुपर्छ । मैले किन पढिरहेको छु ? मैले पढेका विषय उपयुक्त छन् कि छैनन् ? लगायत प्रश्न आफैंलाई सोध्नुस् । सोही आधारमा पठनपाठन क्रियाकलाप अघि बढाउनुस् ।
३.प्रश्न सोध्न नडराउनुस्
अनुशासित विद्यार्थी कहिल्यै पनि शिक्षकसँग प्रश्न सोध्न डराउँदैन । प्रश्न सोध्ने शैलीकै आधारमा कुन विद्यार्थी कति चलाख छ भन्ने भेउ पाउन सकिन्छ । प्रश्न सोध्ने विद्यार्थीप्रति शिक्षकको ध्यान पनि केन्द्रित हुने गर्छ । प्रश्न सोधेपछि उत्तर लिन नभुल्नुस् ।
४.शिक्षकसँगै बसेर समूह बनाउनुस
शिक्षक र विद्यार्थी भनेका एकअर्काका शत्रु नभएर असल मित्र हुन् भन्ने भावनाको विकास गर्नुपर्छ । विद्यार्थीको जिम्मेवारी कक्षामा शिक्षकसँग राम्रो वातावरणमा अध्ययन गर्नु हो भने शिक्षकको कर्तव्य विद्यार्थीलाई सहज रूपमा बुझ्ने गरी पढाउनु । यी कार्यलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि शिक्षक र विद्यार्थीबीच समूह गठन गरेर पठनपाठन गराउन सकिन्छ ।
५.कक्षाको अन्तिम सिटमा नबस्नुस्
कक्षामा निष्क्रिय रहने अधिकांश विद्यार्थीको चाहना पछिल्लो बेन्चमा गएर बस्ने हुन्छ । पछिल्लो बेन्चमा बस्दा शिक्षकले आफूलाई ध्यान नदिने र साथीभाइबीच कुराकानी गर्न पनि पाइने उनीहरूको ध्येय हुन्छ । तर असल र सफल विद्यार्थी बन्ने हो भने कहिल्यै पनि कक्षाको अन्त्मि बेन्चमा बस्नु हुँदैन । कक्षामा सक्रिय भएर नपढ्ने हो र पछिल्लो बेन्चमा बसेर गफमात्र गर्नु भनेको अनुत्पादक क्षेत्रमा समय खेर फाल्नुसरह हो ।
६.नियमित नोट बनाउनुस्
कक्षामा पढेको विषयलाई नियमित रूपमा नोटमा उतार्नुस् र यसलाई बारम्बार समीक्षा गर्नुस् । नबुझेको विषयवस्तुलाई नोटमा उतारेर मात्र नराख्नुस् । नबुझेको विषयमाथि तुरुन्त स्पष्ट हुनुस् । यसो गर्दा नोट पढ्न सजिलो हुन्छ । यति गरिसकेपछि विद्यार्थी परीक्षाादेखि डराउँदैन पनि ।