हत्याको अनुसन्धान गर्न छानबिन समिति बनाउन युवा संघको माग

काठमाडौंः नेकपा एमालेको भातृ संगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानेर हत्या गरेको आरोपमा युवा संघले आज दिउँशो १ बजेदेखि २ बजेसम्म देशभर चक्काजाम गर्ने भएको छ। त्यस्तै लुम्बिनी बन्दसमेत गरिने भएको छ।
युवा संघले मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै घटनाको छानबिन गर्न सरकारसँग माग समेत गरेको छ । छानबिन समिति बनाउन दबाब दिनका लागि मंगलबार साढे ११ बजे गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने युवा संघका प्रवक्ता प्रभात विक्रम कटवालले जानकारी दिए ।
सरकारले उक्त घटनामाथि बेवास्ता गरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने युवा संघले निर्णय गरेको छ ।
युवा संघले घटनाको सत्यतथ्य बुझ्न युवा संघका उपाध्यक्ष दिलु पन्तको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति बनाएको छ । समितिमा महासचिव किरण पौडेल, अकोश चन्द, नरेश ज्ञवाली छन् ।
समितिले घटनास्थल पुगी थप अनुसन्धान गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । त्यस्तै युवा संघले मंगलबार र बुधबार युवा संघको झण्डा झुकाउने निर्णय गरेको छ।
प्रतिक्रिया दिनुहोस !
