बसाइँसराइ नयाँ नगरतिर
मुलुकमा संघीयताको अभ्याससँगै प्रदेश १ मा नयाँ सहर बन्ने क्रम बढेको छ । त्यसको बढी अभ्यास तराईका राजमार्ग आसपास क्षेत्रमा देखिन्छ । झापा, मोरङ र सुनसरीमा सरकारले नयाँ नगरपालिका घोषणा गरेपछि त पूर्वाधार विकाससँगै घनत्व पनि बढेको छ । बसाइँसराइको ‘ट्रेन्ड’ पनि बदलिएको छ ।
झापामा शनिअर्जुन, कन्काई र शिवसत्ताक्षी नगरपालिकामा घनत्व बढ्दो छ ।
ताप्लेजुङ, पाँचथर र इलामका विभिन्न भागबाट मानिस झापामा सर्ने प्रचलन पुरानै हो । यसअघि खेतीपातीमा रमाउनेहरूले ग्रामीण भेग रोज्थे भने सहरी जीवन खोज्नेहरू दमक, बिर्तामोड, भद्रपुर, चन्द्रगढीलगायत बजार क्षेत्रमा पुग्थे । मोरङका कोशीहरैंचा, सुन्दरदुलारी, बेलबारी, पथरीशनिश्चरे, लेटाङभोगटेनी नगरपालिका पनि विकासको दौडमा छन् ।
बेलबारीका राजनीतिकर्मी राजकुमार लिम्बु भन्छन्, ‘राजमार्ग आसपासमा बनेका नगरहरूमा बसाइँसराइको दर बढ्दो छ । विकासले गति लिएको छ र मिश्रित संस्कृतिको मेल पनि हुन थालेको छ ।
’लेटाङभोगटेनीमा तराई र पहाडको मिश्रित र अनुपम संस्कृति तयार भएको स्थानीय द्रोण पौडेल बताउँछन् । भन्छन्, ‘स्वास्थ्य र शिक्षाका लागि अन्यत्र भौंतारिनुपर्ने अवस्था अन्त्य हुँदैछ ।’ सुनसरीमा भलुवादुहबी र रामधुनीभासी नगरमा ग्रामीण भेगबाट बसाइँ सर्ने बढ्दै छन् ।