मझधारमा महिला फुटबल
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) वरियतामा महिला फुटबल एक सय १२ औं स्थानमा छ । पुरुष फुटबलको स्थान भने एक सय ८१ औं हो । नेपालबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्ने खेलाडी पनि महिला टोलीकै पूर्वकप्तान अनु लामा हुन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने पनि महिला खेलाडी नै हुन्छन् । पुरुष टोलीको तुलनामा चर्चाबाट भने बाहिरै छन् ।
२०३९ सालमा काठमाडौंमा सम्पन्न खुला प्रतियोगितासँगै महिला फुटबलको सुरुवात भयो । त्यसपछि पहिलो र दोस्रो महिला राष्ट्रिय फुटबल प्रतियोगिता भए । सन् १९८६ मा नेपालले हङकङसँग पहिलो आधिकारिक महिला फुटबल प्रतियोगिताको नेतृत्व रमा सिंहले गरेकी थिइन्, जसमा सफलता हात लागेन । ०४९ सालसम्म राष्ट्रिय फुटबल प्रतियोगिताहरूले निरन्तरता पाए ।
०४९ देखि ०५५ सालसम्म भने महिला फुटबल प्रतियोगिता लगभग बन्द रहे । ग्यालेक्सी पब्लिक स्कुलकी संस्थापक गीता राणाले मेयर कप राष्ट्रिय प्रतियोगिता सुरु गरेर महिला फुटबलमा नयाँ मोड ल्याइन् । पुरानै खेलाडीहरूको सहभागितामा यसले पुनर्जीवन पायो । त्यसपछि नै हो, राष्ट्रिय प्रतियोगिताहरूको टुटेको तार गाँसिएको । पोखरामा आठौं, हेटौंडामा नवौं र धनगढीमा १० औं राष्ट्रिय महिला फुटबल प्रतियोगिता भए ।
महिला फुटबल टोली स्थापनासँगै सन् १९८६, ८९, ९९ मा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनायो । दक्षिण एसियाली फुटबल (साफ) र खेलकुद (साग) मा नेपाल निरन्तर सहभागी छ । नेपाली महिला टोलीले साफमा दोस्रो स्थानसम्म हासिल गरेको छ । सबै साफका उपाधि दौडमा भारतसँग पराजित हुँदै आएको छ । महिला टोलीले ‘एसियन विमिन्स च्याम्पियनसिप’ पनि खेलिसकेको छ । फिलिपिन्स, चीनलगायत मुलुकका टोलीसँग पनि प्रतिस्पर्धा गर्दै आएको छ ।
अहिले महिलाको राष्ट्रिय टोली कुमार थापाको प्रशिक्षणमा साफ च्याम्पियनसिपको अभ्यासमा व्यस्त छ । सोहीक्रममा २ पुसदेखि मलेसियासँग मैत्रीपूर्ण प्रतियोगितामा सहभागी हुँदैछ, जसको कप्तानी सम्हालेकी छन्, रेणुका नगरकोटीले । यसपटकको साफ च्याम्पियनसिप ११–२० पुसमा भारतको सिलिगुडीमा हुँदैछ ।
छैन सुविधा
निरन्तर सक्रियता सहभागिताका बाबजुद घरेलु मैदानमा आफूहरू विभेदमा परेको गुनासो रह“दै आएको छ महिला टोलीको । प्रशिक्षक अरुणा गुरुङ भन्छिन्, ‘महिलालाई हरेक क्षेत्रमा पछाडि पार्ने चलन छ । फुटबल टोली पनि त्यसबाट अछुतो छैन ।’ पुरुषलाई दिनेजति सुविधा महिला खेलाडीले पाउने हो भने राम्रो नतिजा दिन सक्ने उनको ठम्याइ छ ।
पूर्वकप्तान अनु लामाका अनुसार पुरुष टोलीलाई १२ औं साग जितेपछि पाँच लाखभन्दा बढी रकम प्रोत्साहनस्वरूप दिइयो । महिला टोलीलाई भने दोस्रो भएको बताउ“दै सरकारले एक लाख मात्र दिने निर्णय गर्यो ।
दक्षिण एसियाकै पहिलो महिला अम्पायर कल्पना शर्माको भनाइमा कानुनमा समानता देखाइए पनि महिलालाई कमजोर नै ठानिने प्रवृत्ति कायम छ । शर्मा भन्छिन्, ‘जबसम्म महिला फुटबल व्यावसायिक हुँदैन र क्लबहरू तयार हुँदैनन्, तबसम्म फुटबलको विकास टाढाको कुरा हो । क्लब नभएपछि त्यही साग र साफ खेल्ने र बस्ने मात्र हो ।’
हुन पनि, राज्यले अहिलेसम्म महिला टोलीको हौसला बढाउन स्वागत र सम्मानको तत्परता देखाएको छैन । माघ ०७१ मा सम्पन्न सागमा रजत पदकसहित दोस्रो भएर फर्किंदा धेरै नेपालीलाई थाहासमेत थिएन । तर, एकै दिन साफमा नेपालको ‘यु–२३’ पुरुष फुटबल टोलीले स्वर्ण जित्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरियो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले त नगर परिक्रमा नै गरायो ।
राष्ट्रिय महिला फुटबल संघकी अध्यक्ष कल्पना पियाका अनुसार त्यतिबेला महिला टोलीलाई पनि नगरपरिक्रमा गराउने प्रयास गरियो । तर, खेलाडी थाकेर आएकाले मानेनन् । त्यतिबेला विमानस्थल पुगेका युवाले महिला टोली पनि दोस्रो भएर सँगै फर्किंदै गरेको थाहा नै पाएनन् । ‘महिला फुटबल टोलीको चर्चा कतै सुनिदैन । चर्चा भए पो जानकारी हुन्छ,’ रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातक दोस्रो वर्ष अध्ययनरत हेमराज
लिम्बु भन्छन् ।
जिल्लास्तरमा हुने प्रतियोगिताबाट छनोट हुँदै महिला खेलाडी राष्ट्रिय टोलीमा आइपुग्छन् । ‘विभागीय टोलीमा मात्र सीमित राखेर हुँदैन, अलग्गै क्लबहरू गठन गर्नुपर्छ,’ अम्पायर शर्मा भन्छिन्, ‘त्यसपछि मात्र महिला टोलीको व्यावसायिकता विकास हुनेछ ।’
हुँदैन अभ्यास
महिला टोलीलाई प्रभावकारी बनाउन राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगिताले निरन्तरता पाउनुपर्ने प्रशिक्षक थापा औंल्याउँछन् । ‘अभ्यास एकदमै कम भयो,’ उनी भन्छन्, ‘वर्षमा कम्तीमा चार वटा प्रतियोगितामा सामेल गराउन सके मात्र प्रभावकारी प्रदर्शन गर्न सक्छन् ।’ महिला टोली सन् १९९९ यता एसियाली खेलकुदमा सहभागी हुन सकेको छैन ।
प्रशिक्षक गुरुङ त्यो राज्यले ध्यान नदिनुको परिणाम बताउँछिन् । भन्छिन्, ‘नेपाली टोली सधैं भारतसँग हार्दै आएको छ । किनभने उनीहरूको टोली तगडा छ । भारतीय खेलाडीले जस्तो तालिम नेपालीले पाएका छैनन् । राम्रो सुविधा भए मात्र अन्तर्राष्ट्रिय मैदानमा उत्कृष्ट प्रदर्शन गर्न सक्छन् ।’ महिला टोलीकी पूर्वकप्तान जमुना गुरुङ भने पहिलेभन्दा धेरै सुधार आएको देख्छिन् ।
तर, राष्ट्रिय प्रतियोगिता नभएपछि एकै पटक अन्तर्राष्ट्रिय मैदानमा उत्रिन गाह्रो भइरहेको उनको भनाइ छ । राष्ट्रिय महिला फुटबल संघकी अध्यक्ष पिया पनि राष्ट्रिय टोलीको प्रदर्शन उत्कृष्ट हुँदै गएको बताउँछिन् । ‘पुरुष फुटबलको तुलनामा चर्चा कम हुनु स्वाभाविकै हो,’ उनी भन्छिन्, ‘पुरुष विश्वकप भएको धेरैपछि मात्र महिला विश्वकप सुरु भएको हो । समय लाग्छ, महिला फुटबल एकदिन चर्चित हुनेछ ।’
यद्यपि, अहिलेकै पाराले महिला फुटबल अगाडि बढ्न नसक्ने गुरुङको भनाइ छ । भन्छिन्, ‘जिल्लाहरूमा अभ्यासका लागि सामान नै पठाइ“दैन । यस्तो तालले कसरी खेलाडीले खारिने मौका पाउँछन् ?’ प्रतियोगिता आयोजना हुने २/३ महिनाअघि मात्र अभ्यास सुरु हुने नेपालको परम्परा नै छ । प्रशिक्षक थापाका अनुसार फुटबलमा पुरुषको प्रभुत्व रहेकाले महिलाका कपडा र जुत्ता पनि उनीहरूकै नापमा आउँछन्, जसले गर्दा महिला टोलीलाई असजिलो भएको छ ।
‘महिला टोलीका समस्या तत्काल हल गर्नै नसक्नेखाले छन्,’ उनी भन्छन् । पियाका अनुसार विनासकारी भूकम्पयता प्रायोजक कम्पनीहरू पनि सहयोग गर्ने अवस्थामा छैनन् । ‘प्रतियोगिताहरू कम हुँदै जानुको एक कारण पनि हो यो,’ उनी भन्छिन् । पछिल्लो समयमा महिलालाई हौसला दिने क्रम भने सुरु भएकामा अम्पायर शर्मा उत्साहित छिन् । भन्छिन्, ‘पहिले महिला खेलाडीलाई नकारात्मक ढंगले हेरिन्थ्यो, अहिले नजर बदलिंदै गएको छ, जुन सुखद पक्ष हो ।’
जस्तो : पूर्वराष्ट्रिय खेलाडी मीरा चौधरीलाई परिवारले नै फुटबलमा लाग्न प्रेरित गरेको थियो । उनलाई बाबुले नै मैदानसम्म पुर्याएका हुन् । परिवारको साथ पाएपछि उनले कहिल्यै समाजको कर्के नजर सामना गर्नु परेन । महिला टोलीकै पूर्वकप्तान लामाको परिवारले सुरुमा फुटबल खेलेको मन पराएन । जब उनले गोल गरेको तस्बिर पत्रपत्रिकामा प्रकाशित हुन थाल्यो, परिवारमा पनि खुशी छायो । त्यसपछि खेल्न उनलाई कसैले छेकेन ।