पुलिस र मध्यमाञ्चल विजयी
सुनसरीः सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको पुरुष फुटबल प्रतियोगिताको पहिलो दिन नेपाल पुलिस क्लब र मध्यमाञ्चल विकास क्षेत्रले विजयी सुरुआत गरेका छन् । धरान- १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा बिहीबार भएको पहिलो खेलमा नेपाल पुलिसले पूर्वाञ्चललाई २-१ गोलअन्तरले पराजित गर्यो । मध्यमाञ्चलले पश्चिमाञ्चललाई ३-० गोलले हरायो ।
घरेलु मैदानमा कडा रूपमा उत्रिएको पूर्वाञ्चलविरुद्ध पुलिसका तर्फबाट १९औं मिनेटमा सुमन लामाले खाता खोलेका थिए । ३१औं मिनेटमा पुलिसकै बुद्ध तामाङले पूर्वाञ्चलविरुद्ध दोस्रो गोल गरे । सुमनले भोला सिलुवाल र बुद्धले रवि पासवानको पासमा गोल गरेका थिए ।
पहिलो हाफमा २-० गालले पछि परेको पूर्वाञ्चल दोस्रो हाफमा खेलमा फर्किन कोसिस गरेको भए पनि पुलिसविरुद्ध आधा दर्जन गोल गर्ने उत्कृष्ट अवसर गुमाउँदा पराजित हुन पुग्यो । पुलिसविरुद्ध खेलको ६९ औं मिनेटमा गोल गरी खेललाई २-१ पुर्याएका उनले खेलको ७५औं मिनेटमा खाली पोस्टमा गोल गर्न नसक्दा पूर्वाञ्चलको गोल गर्ने प्रयास समाप्त भयो ।
दोस्रो हाफ अवधिभर पुलिसलाई दबाबमा राखेको पूर्वाञ्चलका तर्फबाट खेलको ५३औं मिनेटमा खामिर गिल्सन कन्दङ्वाले दुई पटक गोल गर्ने अवसर खेर फाले । खेलको ५४औं र ८१औं मिनेटमा पूर्वाञ्चलका निशान लिम्बू र ६१औं मिनेटमा दीपक राईको सशक्त प्रहारलाई पुलिसका गोलरक्षक रोशन खड्काले उत्कृष्ट बचाउ गरेका थिए ।
यसैगरी पश्चिमाञ्चलविरुद्धको जितमा मध्यमाञ्चलका तर्फबाट ५९औं मिनेटमा नीरबहादुर आलेले पहिलो गोल गर्दै खेललाई १-० को अग्रता दिलाए । खेलको ७२ औं मिनेटमा मध्यमाञ्चलकै रुमेश बर्तौलाले अर्को गोल गरी खेललाई २-० को अग्रता दिलाए । खेलको ७९औं मिनेटमा मध्यमाञ्चलका श्यामबाबुले तेस्रो गोल गर्दै खेललाई ३-० मा पुर्याए ।
राष्ट्रिय टिमका विमल घर्तीमगर र अनिल गुरुङलाई मैदानमा उतारेको पश्चिमाञ्चलले खेल अवधिभर कुनै चमत्कार भने देखाउन सकेनन् । खेलको १८ औं मिनेटमा पश्चिमाञ्चलका विश्व अधिकारीको कडा प्रहारलाई मध्यमाञ्चलका गोलरक्षक दिपेश यादवले विफल तुल्याए ।
३५औं मिनेटमा हेमन गुरुङको प्रहार पोस्ट माथिबाट बाहिरिएपछि पश्चिमाञ्चल हार खेप्न बाध्य बन्यो । मध्यमाञ्चलका सुशान्त लामा ३१ औं मिनेटमा र एरिक विष्ट ६०औं मिनेटमा गोल गर्न चुकेका थिए । शुक्रबारको एपीएफ क्लब र मध्यपश्चिमाञ्चल तथा त्रिभुवन आर्मी र सुदूरपश्चिमाञ्चलबीच प्रतिस्पर्धा हुनेछ ।