साताैं राष्ट्रिय खेलकुद आजदेखि सुरु

साताैं राष्ट्रिय खेलकुद आजदेखि सुरु

विराटनगरः विभिन्न कारणले पटकपटक स्थगित हुँदै निर्धारित समयभन्दा करिब पाँच वर्ष पछि सरेको बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको सातौं संस्करण शुक्रबारदेखि औपचारिक रूपमा सुरु हुने भएको छ । औद्योगिक नगरी विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भएपछि सातौं राष्ट्रिय खेलकुद औपचारिक रूपमा प्रारम्भ हुनेछ ।

विगतदेखि नै भौतिक पूर्वाधार, नियमित खेल गतिविधिजस्ता विषयमा अब्बल रहे पनि पूर्वाञ्चल विकास क्षेत्रमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन लागेको यो पहिलो पटक हो । प्रत्येक दुईदुई वर्षमा आयोजना हुने भनिए पनि छैटौं र सातौं संस्करणको बीचमा पाँच वर्षको अन्तराल रह्यो । सूदूरपश्चिमाञ्चलको कैलाली र कञ्चनपुरमा २०६८ साल फागुन १४ देखि २१ गतेसम्म सम्पन्न छैटौं राष्ट्रिय खेलकुदको समापन समारोहमा सातौं संस्करण पूर्वाञ्चलमा आयोजना गर्ने गरी झन्डा हस्तान्तरण गरिएको थियो ।

सातौं खेलकुदको उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्रीहरू, सरकारी निकायका उच्च अधिकारीसँगै विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वको समेत उपस्थिति रहनेछ । करिब दुई हजार दर्शक क्षमताको सहिद रंगशालामा अपरान्ह ३ बजे सुरु हुने उद्घाटन समारोह दुई घन्टा ३० मिनेट चल्ने जानकारी समारोह उपसमितिका सचिव कुलबहादुर थापाले दिए ।

थापाले सातौं खेलकुदको उदघाटन समारोहलाई सन् २०१९ मा नेपालमै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पूर्वतयारीका रूपमा लिइएको बताए । उद्घाटन समारोहमा प्रतियोगितामा सहभागी टोलीका खेलाडी र पदाधिकारीले मार्चपास्ट गर्नेछन् भने करिब तीन हजार पाँच सय कलाकार तथा विद्यालयका विद्यार्थीले राष्ट्रको कला र संस्कृति झल्कने विभिन्न प्रस्तुति दिनेछन् ।

प्रतियोगितामा पाँचवटा विकास क्षेत्रका टोलीसँगै तीनवटा विभागीय टोली त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लबका खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा खेलाडी, प्रशिक्षक, निर्णायक, पदाधिकारी गरी कुल पाँच हजार आठ सय ४९ जनाको सहभागिता रहनेछ । प्रतियोगितामा जिल्ला र क्षेत्रीय छनोट पार गरी आएका कुल तीन हजार नौ सय ७२ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

सातौं खेलकुदमा विभिन्न ३० वटा खेल समावेश गरिएको छ । तर स्क्वास, साइक्लिङ, आर्चरी र फेन्सिङको पदकलाई भने पदकतालिकामा जोडिने छैन । सातौं राष्ट्रिय खेलकुदअन्तर्गतका पौडी, ट्रायथलन र शारीरिक सुगठनका प्रतियोगिता भने करिब एक वर्षअघि नै सम्पन्न भइसकेका छन् ।

यसदेखि बाहेक गल्फ र विलियर्ड तथा स्नुकर प्रतियोगितामा भने सम्बन्धित संघले आफ्नै खर्चमा आयोजना गर्ने भएका छन् । यसैगरी प्रतियोगितामा रग्बी, डान्स स्पोटर््स, साम्बो, रक क्लाइम्बिङ र दोहोरीलाई प्रदर्शनी खेलका रूपमा समावेश गरिएको छ ।

प्रतियोगिताका खेलहरू पूर्वाञ्चलका सुनसरी, मोरङ, झापा, सप्तरी, सिराहा, धनकुटा र उदयपुरमा आयोजना हुनेछन् । यसैगरी भौतिक पूर्वाधारको अभावका कारण स्क्वास ललितपुरमा, लनटेनिस कास्कीमा र फेन्सिङ काठमाडौंमा आयोजना हुनेछन् ।

प्रतियोगितामा दुई सय ९४ स्वर्ण, दुई सय ९४ रजत र चार सय ४७ कांस्य पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । तर पदक तालिकामा भने दुई सय ६८ स्वर्ण, दुई सय ६८ रजत र चार सय १६ वटा कांस्य पदकमात्र गणना गरिनेछ । यो पदकमा यसअघि नै सम्पन्न भइसकेका पौडी, ट्रायथलन र शारीरिक सुगठनको पदक भने जोडिएको छैन ।

प्रतियोगितामा स्वर्ण पदक जित्ने व्यक्तिगत स्पर्धाका खेलाडीले १५ हजार रुपैयाँ र टिम स्पर्धाका खेलाडी सात हजार रुपैयाँ नगद पुरस्कार पनि पाउनेछन् । यसैगरी राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई थप २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । ‘खेलाडीलाई पदक जितेबापत प्रदान गरिने नगद पुरस्कार पदक वितरण समारोहमै तत्काल प्रदान गरिनेछ ।

यस पटक खेलाडीले नगद पुरस्कार लिन राखेप धाइरहने परम्पराको अन्त्य हुनेछ’, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले भने । प्रतियोगिता आयोजनाका लागि ३१ करोड रुपैयाँ माग गरिएकोमा सरकारले २८ करोड रुपैयाँ उपलब्ध गराइसकेको जानकारी पनि सदस्यसचिव विष्टले दिए ।

सातौं खेलकुदअन्तर्गतको महिला फुटबल सुनसरीको दुहवीमा र पुरुष फुटबल धरानमा सुरु भइसकेको छ । प्रतियोगितामा सहभागी हुन अधिकांश खेलाडी सम्बन्धित खेल स्थलमा पुगिसकेका छन् । खेलाडी र खेल पदाधिकारीहरू आउनेक्रम बिहीबार बिहानसम्म जारी रहने बताइएको छ ।

सातौं खेलकुदमा सहभागी हुन आउनेका कारण पूर्वाञ्चलका विभिन्न सहरमा चहलपहल पनि निकै बढेको छ । प्रतियोगिताको समापन पुस १५ गते धरानस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुनेछ ।

मोरङ कांग्रेसद्वारा प्रतियोगिता बहिष्कार

नेपाली कांग्रेस मोरङले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता बहिष्कार गर्ने निर्णय गरेको छ । प्रतियोगिताअन्तर्गत हुने उद्घाटन समारोहमा पनि कांग्रेसका कुनै पनि पदाधिकारी सहभागी नहुने निर्णय गरिएको जानकारी मोरङ कांग्रेसका सचिव नागेश कोइरालाले दिए ।

उनले भने, ‘विराटनगरमा भइरहेको यति ठूलो खेल उत्सवमा कुनै पनि पक्षबाट कांग्रेसलाई सहभागी गराइएको छैन् । हामीले यो प्रतियोगिता नै बहिष्कार गर्ने निर्णय गरेका छौं ।’ बिहीबार कांग्रेसको पदाधिकारीको छलफलपछि प्रतियोगिता बहिष्कार गर्ने निर्णय गरिएको उनले बताए ।

एक महिनाअघि मैत्रीपूर्ण फुटबल गर्ने भनेर प्रतियोगिता आयोजक समितिले पत्राचार गरे पनि त्यसयता भने कुनै छलफल नगरिएको कोइरालाले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रममा पनि मोरङका सांसद र मन्त्रीले सहभागिता नजनाउने निर्णय गरेको सचिव कोइरालाले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.