व्याकरण र लेखनरीतिका विषयमा भ्रम
नेपालमा वास्तविक शिक्षाको प्रचार कम भएकाले आफूले के बोलिँदै छ, त्यहाँ कुनकुन वर्ण कुन क्रमले आएका छन् र ती वर्णको ठीकठीक प्रतिनिधित्व गर्ने लिपि कुन हुन् ? भन्ने राम्रो ज्ञान भएका व्यक्ति दुर्लभ छन् । नेपाली भाषा धार्मिक कार्यमा प्रयुक्त नहुने हुनाले त्यसको यथार्थ लेखनतिर ध्यान नदिइने पनि गरेको बुझिन्छ ।
उदाहरण ईश्वर बरालका सयपत्रीमा, बालकृष्ण पोख्रेलका पाँच सय वर्षमा र मोहन खनालका नेपाली भाषाका हजार वर्ष भन्ने पुस्तकहरूमा संकलित विभिन्न कालका लेखकका लेखमा पाइन्छन् । पं. कुलचन्द्र गौतम नेपालीलाई व्याकरण चाहिँदैन भन्थे भन्ने कुरा बालकृष्ण समले लेखेका छन् ।
नेपाली व्याकरणकारहरूले कोष र व्याकरणका आधारमा संस्कृत वा अंग्रेजी सिकेका हुनाले पनि व्याकरण के हो भन्ने विषयमा उनीहरूको भ्रान्त धारणा बन्न गएको होला ।
प्रथम नेपाली व्याकरणकार वीरेन्द्रकेसरी अज्र्यालको व्याकरणको प्रवृत्ति मूल रूपमा वर्णनात्मक भए पनि व्याकरणको परिचय दिने बेलामा उनले पनि ‘व्याकरणको मुख्य प्रयोजन शुद्ध शब्दको ज्ञान ठहर्छ शुद्ध शब्दको ज्ञान भया पछि बोली शुद्ध गरी बोल्न र लेख्न शकिन्छ' भनेका छन् ।
अरूका पनि यस्तै भनाइ देखिन्छन् । जस्तै— ‘शुद्ध गरि बोल्न र लेख्न शिकाउने विद्यालाइ, व्याकरण भन्छन्' -राजा जयपृथ्वीबहादुर सिंह, प्राकृतव्याकरण ‑पर्वतीय भाषाको व्याकरण) ।
‘व्याकरण उसलाई भन्दछन जसद्वारा शब्दको व्युत्पत्ति अर्थात् शब्दमा धातु, प्रत्यय, लिङ्ग, वचन, कारक र समासको बोध हुन्छ । यो शास्त्र पढनाले शुद्ध लेखन र बोलन जानिन्छ' —विश्वमणि दीक्षिताचार्य, गोरखाव्याकरणबोध ।
‘वर्णबाट पद, पदबाट वाक्य, वाक्यबाट भाषा बन्दछ. शुद्धगरी कसरी बोलनू, कसरी लेखनू, सो संझाउने शास्त्रलाई व्याकरण भन्दछन्' -हेमराज शर्मा, चन्द्रिका. गोरखाभाषा-व्याकरण ।
‘भाषामा कुन शब्द कस्तो हो ? कसरी बन्दछ ? शुद्ध कसरी बोल्नू ? इत्यादि कुरा बुझाउने ग्रन्थलाई व्याकरण ‑ग्रामर) भन्दछन् । नेपाली व्याकरणबाट नेपाली भाषा शुद्ध गरी बोल्ने, लेख्ने कायदा जानिन्छ' —सोमनाथ सिग्देल, मध्यचन्द्रिका ।
‘नेपाली व्याकरण भनेको हामीलाई नेपाली कुरा शुद्ध गरी बोल्न र लेख्न सिकाउने शास्त्र हो' -पुष्करसम्सेर, नेपाली सजिलो व्याकरण ।
‘आप्mनो मातृभाषा पनि शुद्ध पढ्न, वोल्न, लेख्न व्याकरणको ज्ञानविना राम्ररी नसक्ने हुनाले यसको ज्ञान अति आवश्यक छ' —वृहद् नेपाली-व्याकरण, वनाउने व्याकरण समिति, ने.रा.प्र.प्र., लेख्ने रोहिणीप्रसाद भट्टराई, २०३३ ।
‘व्याकरण चाहिँ भाषाको व्यवस्थापन र त्यसलाई नियमबद्ध गर्ने विद्या हो । ...व्याकरण भाषालाई व्यवस्थित गर्ने तत्तव हो । ..यसले भाषाको ठिक प्रयोग गर्ने विधि र नियम बताउँछ' —मोहनराज शर्मा, प्रज्ञा नेपाली सन्दर्भ व्याकरण, ने.प्र.प्र. २०७१ ।
उपर्युक्त विवरणबाट व्याकरणकार भनिएका सबै ग्रन्थकारले व्याकरणको वास्तविक यथार्थ परिचय नपाएको वा दिन नसकेको देखिन्छ । उनीहरू व्याकरण शब्दानुशासन ‑त्यो भाषा बोल्ने लोकले उच्चारण गरेका शब्दको वस्तुस्थितिपरक वर्णन) हो भन्ने कुरा नै राम्ररी नबुझी व्याकरण लिपिविधान हो भन्न पुगेका छन् । वर्णको र लिपिको भेद नबुझेजस्ता भएर अरूलाई पनि भ्रममा पारिरहेका छन् । यस्तै अवस्थाको लेखननियमलाई बलै लादिँदै आइएको छ ।
१९७१ संवत्मा प्रकाशित गोपालदत्त पाँडेका व्यक्तचन्द्रिकामा चन्द्रिका व्याकरणका नियम लगाइएका थिएनन् । गो.भा.प्र.स.का १९७२ संवत्मा प्रकाशित संक्षिप्त रामायणमा र गोरखाशिक्षामा ‑पहिलो पुस्तक १९७२, दोस्रो पुस्तक १९७३, तेस्रो पुस्तक १९७४) पनि चन्द्रिका व्याकरणका नियम लगाइएका थिएनन् । १९७९ संवत्मा प्रकाशित गोर्खा-प्रबन्ध-रचना-शिक्षामा र १९८० संवत्मा प्रकाशित गोरखाशिक्षाको चौथो पुस्तकमा भने छपाइ चन्द्रिकाअनुसारको भएको छ ।
उक्त प्रकारको स्थिति हुनमा गो.भा.प्र.स.का अध्यक्ष राममणि आ.दी.का पुराना सम्झना भन्ने पुस्तकमा उल्लेख भएअनुसार चन्द्रशमशेरले बेलाबेलाका बोलेका ‘व्याकरण ठीक हुनलाई अझ धेरै टायम लागदछ भने, पछि व्याकरण वन्दै गर्छ, अहिलेवनेको जति छपाई दिनु' ‑पृ.७८), ‘ए, राममणि एउटा व्याकरण ‑चन्द्रिका) वनेकै छ भने तिमीले त्यसैको रूलनियमबमोजम गरि लेखीदीएत भैहालछ नि' ‑पृ.८१), ‘पढने पुस्तक ‑पाठशालामा पढाइने पुस्तक) जति चन्द्रिका वमोजिम गरी छापनू, अरू पुस्तकमा खाली विषय मात्र हेरनु व्याकरणको केही हेर्नु पर्दैन' ‑पृ.७०) इत्यादि कुरा कारण देखिन्छन् ।
त्यसमा विशेष गरी राममणि आ.दी.को ‘मैले अँचेटामा परी स्वीकार गरनू परेको १९७७ सालको चन्द्रिका' ‑पृ.८३) भन्ने भनाइबाट पनि कुरा स्पष्ट बुझिन्छ । चन्द्रशमशेरले चन्द्रिकाका नियम लागू गर्न लिखित आज्ञा नदिएको मौखिक निर्देशन मात्र दिएको तर जुद्धशमशेरले चाहिँ खड्गनिसाना नै गरिदिएको बुझिन्छ ।
सरकारी विद्यालयमा पनि तल्लो कक्षादेखि नै सबै विषय अंग्रेजी माध्यमले पढाउने भन्ने अराष्ट्रिय र नेपाली भाषाविरुद्धको निर्णय नेपालीको उपयोगिता घटाउने षड्यन्त्रबाट प्रेरित देखिन्छ ।सबै नेपाली जागेर आफ्ना राष्ट्रभाषालाई स्वाभाविक रूपमा व्यवस्थित, अभिव्यक्तिमा सबल, लेखनमा सरल, व्यवहारमा उपयोगी र आवश्यक विभिन्न विषयका ग्रन्थहरूमा धनी पनि बनाउनुपर्छ ।
जुद्धशमशेरका पालामा बनेको १९९२ संवत्को ऐनको अदलको ३१औं नं.मा ‘अबउप्रान्त जुनसुकै कुराको किताब छापनु छपाउनु पर्दा, गोर्खाभाषा प्रकास समितिमा लगी जँचाई, छापन छपाउन हुन्छ भन्न्ये निस्सा लगाई दिएपछि मात्र छपाउन हुन्छ' इत्यादि व्यवस्था गरेर गो.भा.प्र.स.को नियम नेपाली ग्रन्थकार-प्रकाशकले मान्नै पर्ने खण्ड पारिएको रहेछ ।
१९७६ संवत्मा मध्यचन्द्रिका प्रकाशित भएपछि १९८७ जेठ २७ देखि त्रिचन्द्र कलेजमा पढाउन थालेका बालकृष्ण समले मध्यचन्द्रिकाअनुसार शुद्ध लेखे मात्र परीक्षामा उत्तीर्ण हुने छौ ‑मेरो कविताको आराधन २, पृ.१०९) भनेर विद्यार्थीहरूमा नेपालीको लेखननियम विशेष लादेको देखिन्छ ।
नेपालमा एसएलसीको परीक्षा लिने व्यवस्था १९९१ संवत्मा भएपछि नेपाली कसरी शुद्ध लेख्ने भन्ने पुस्तिका बनाइएको र त्यसैअनुसार शुद्धाशुद्ध जाँच्ने कुरा शिक्षानिर्देशक मृगेन्द्रशमशेरले व्यवस्था गरेको सूचना प्रसारित भएको रहेछ । त्यो पुस्तिका केकस्ता विचारविमर्शबाट बनेको हो भन्ने कुरा बुझ्न पाइएको छैन । इतिहास लुकाउने र दबाउने काम पनि नेपालीहरूमा सामान्यजस्तै भएको छ । इतिहास केलाउने र विवेचन गर्ने सामग्री नै लुकाइएको छ ।
उपर्युक्त विवरणबाट नेपाली व्याकरणका विषयमा व्याकरणकार भनिएका मान्छे नै वस्तुस्थितिको आकलन गर्न असफल रहेको र मनगणन्ते ह्रस्वदीर्घ, श-ष-स, पदयोजन, पदवियोजन, पदरूपविशेषको मान्यता-अमान्यता, तत्सम तद्भव र आगन्तुक शब्दका नियम, कथ्य र लेख्यका भेद, शिष्ट र अशिष्टका भेद इत्यादि भाषाका मुख्य रूपका प्रतिकूल नियमहरू शासकीय बलका आडले लादिँदै आएको देखिन्छ । यस्तै अनुचित कुराको आड लिई अहिले पनि नेपाली लेखनव्यवस्थाका विषयमा खलबल गरिँदैछ । यस्ता रस्साकस्सीले कुनै स्थिति बस्न सक्तैन ।
यस विषयमा अनेक गम्भीर विचारहरू ‘जिम्दो-नेपालि-भासा' सिद्धान्तद्वारा झण्डै ५० वर्ष अघिदेखि प्रस्तुत भइरहेको देखिन्छ ‑शिवराज आचार्य, जिम्दो नेपालि भासा, १-२ खण्ड, २०३०, २०३७, नेपाली वर्णोच्चारण-शिक्षा, साझा प्रकाशन, २०३१, इत्यादि) । त्यसमा शासकको वा समूहविशेषको कुनै आड लिइएको देखिँदैन, केवल युक्ति-उपपत्तिका र वस्तुस्थितिका कुरा मात्र देखाइएका छन् । किन्तु लेखेपढेको समाज पनि स्वतन्त्र रूपले वस्तुस्थितिको आकलन गर्ने र अंगीकार गर्ने तहमा नउक्लेको हुनाले धेरैतिर समस्या भक्ष्रहेको छ ।
यस बेथितिको समाधानका लागि पाणिनीय व्याकरणादिका रचनाकारले व्याकरणलाई शब्दानुशासन मान्न अत्यावश्यक छ । पाणिनीय व्याकरणले एकै शब्दका चल्तीका सबै रूपलाई मान्यता दिन्छ, कुनैलाई स्तरीय र कुनैलाई अस्तरीय भन्दैन ।
नेपालीमा पनि उच्चरित शब्दको ठीकठीक लिपिले यथार्थ प्रतिनिधित्व हुने गरेर लेखनको व्यवस्था बाँध्नुपर्छ । यस विषयमा यिनै कुरालाई मुख्य रूपमा लिएर ‘जिम्दो-नेपालि-भासा' सिद्धान्तले २०२४ मंसिर २ मितिको गोरखापत्रमा प्रकाशित ‘लेखिने नेपाली भाषाको समस्या' भन्ने लेखदेखि भाषा-व्याकरण-विषयक विचार गर्दै आएको देखिन्छ ।
तथापि बोल्दा ‘एस्तो' बोल्ने लेख्दा ‘यस्तो' लेख्नुपर्छ भन्ने, बोल्दा ‘गाइ्' बोल्ने लेख्दा ‘गाई' लेख्नुपर्छ भन्ने इत्यादि भाषाका वस्तुस्थितिभन्दा प्रतिकूल कृत्रिम कुरामा आग्रह गर्नेहरूका बलले नेपाली भाषाका व्याकरणको र लेखनपद्धतिको स्थिति बस्न सकिराखेको छैन । यसले नेपाली भाषाको क्षमता बढ्न नदिएको र अंगे्रजीको एकच्छत्र साम्राज्य स्थापित गर्न चाहने परचक्रीलाई बल पुर्याइरहेको छ ।
सरकारी विद्यालयमा पनि तल्लो कक्षादेखि नै सबै विषय अंग्रेजी माध्यमले पढाउने भन्ने अराष्ट्रिय र नेपाली भाषाविरुद्धको निर्णय नेपालीको उपयोगिता घटाउने षड्यन्त्रबाट प्रेरित देखिन्छ । सबै नेपाली जागेर आफ्ना राष्ट्रभाषालाई स्वाभाविक रूपमा व्यवस्थित, अभिव्यक्तिमा सबल, लेखनमा सरल, व्यवहारमा उपयोगी र आवश्यक विभिन्न विषयका ग्रन्थहरूमा धनी पनि बनाउनुपर्छ ।
राष्ट्रभाषालाई प्राथमिक तहको शिक्षालाई पनि नधान्ने मानेर र बनाएर पहिलो कक्षादेखि नै विदेशी संस्कृतिको वाहक विदेशी भाषा सिक्न बाध्य हुनुपर्ने स्थिति नेपालमा ल्याउन हुँदैन । कतिपय नेपाली वर्णहरूको विवेचनाचाहिँ छुट्टै लेखमा गरिनेछ ।