कान्छी फुटबलर
काठमाडौः कक्षा ६ मा पढ्दै गरेकी नाबालिका छोरीलाई फुटबल खेल भन्न जोसुकै अभिभावकलाई गाह्रो छ । अझ नेपाली समाजमा त्यो परको विषय हो । यही परको विषय र नसोचेको कुरालाई साकार पारेकी छन्, नेपाली राष्ट्रिय महिला फुटबल टोलीमा हालै डेब्यु गरेकी अञ्जना रानामगरले । अञ्जना उमेरले भर्खर १५ वर्ष टेकिन् ।
रौतहटको दुर्गा माविमा कक्षा १० मा अध्ययनरत अञ्जनाको परिचय अहिले एकाएक फेरिएको छ । उनी नेपाली महिला फुटबल टोलीकी कान्छी खेलाडी भएकी छन् । टोलीका सबै खेलाडीले उनलाई कान्छी नै भनेर सम्बोधन गर्छन् ।
नेपाली महिला फुटबल टोली अहिले भारतको सिलगुडीमा पुस ११ देखि २० गतेसम्म सञ्चालन हुन लागेको चौथो साफ च्याम्पियनसिपको अन्तिम तयारीमा व्यस्त छ । टोलीको मुख्य आकर्षणको केन्द्र बनेकी छन्, उनै गोलरक्षक अञ्जना । नेपाली राष्ट्रिय महिला फुटबल टोलीबाट यति कम उमेरमै खेल्ने अञ्जना सम्भवतः पहिलो भएको प्रशिक्षक कुमार थापा बताउँछन् ।
रौतहट आफैंमा महिला फुटबलका लागि प्रख्यात छ । राष्ट्रिय र विभागीय टोलीमा रौतहटकै खेलाडीको वर्चस्व छ । चार वर्षअघिको कुरा, अखिल नेपाल फुटबल संघ (एन्फा)ले रौतहटमा एनसेल राष्ट्रिय महिला लिग फुटबल आयोजना गरेको थियो । घरनजिकै आयोजना भएको फुटबल प्रतियोगिताले अञ्जनाका बुवा क्षेत्रबहादुर र आमा सुशीला रानामगरलाई पनि लोभ्याएछ । कक्षा ६ मा पढ्दै गरेकी आफ्नी छोरीलाई पनि फुटबल खेलाउन पाए हुन्थ्यो भन्ने हुटहुटी क्षेत्रबहादुर र सुशीलालाई बढेछ ।
‘बा र आमाको सल्लाहले नै म फुटबलमा लागेकी हुँ । म सानी छँदैदेखि छरछेउमा दिदीहरूले फुटबल खेल्नुहुन्थ्यो । म पनि खेल्न जान्थेँ । एनसेल कप भएपछि मलाई अझै खेल्ने रहर जाग्यो । बाबा र आमाले खेल भनेर करै गर्नुभयो’, अञ्जनाले अन्नपूर्णसँग भनिन् । अञ्जनाको खेल विस्तारै स्कुल स्तरमा बलियो भयो । उनले गत भदौमा भएको कोकाकोला कप अन्तरविद्यालय छात्रा फुटबलमा आफू पढेको दुर्गा माविबाट खेलिन् ।
उनकै प्रेरणामा दुर्गा मावि राष्ट्रिय च्याम्पियन बन्यो । उनी प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक भइन् । त्यसपछि राष्ट्रियस्तरका प्रशिक्षकको नजर उनमा पर्यो । लगत्तै ताजकिस्तानमा एएफसी यू-१४ छात्रा च्याम्पियनसिप आयोजना भयो । त्यस प्रतियोगिताका लागि उनी नेपाली टोलीको पहिलो रोजाइको गोलरक्षक दरिइन् ।
त्यहाँ पनि उनको प्रदर्शन बेजोड रह्यो । त्यसपछि उनी डेढ महिनाअघि काठमाडौंमा भएको प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा मध्यमाञ्चल क्षेत्रबाट मैदानमा उत्रिइन् । अञ्जनाले त्यस प्रतियोगितामा पनि सर्वोत्कृष्ट गोलरक्षकको उपाधि जित्दै सिनियर राष्ट्रिय टोलीमा ढोका खोलेकी हुन् ।
उनकै उत्कृष्ट प्रदर्शनमा मध्यमाञ्चल पहिलोपटक महिला फुटबलको फाइनलमा पुगेको थियो । तर, फाइनलमा भने मध्यमाञ्चल विभागीय टोली एपीएफ क्लबसँग पराजित भयो । सिनियर राष्ट्रिय टोलीमा परेपछि अञ्जनाको परिवार अहिले झनै हौसिएको छ । ‘घरबाट राम्रोसँग खेल्नु, अगाडि बढ्दै जानुपर्छ भन्नुभएको छ । चार वर्षमै राष्ट्रिय टोलीमा पर्न पाउँदा निकै खुसी छु । फुटबल खेलेरै देशका लागि केही गर्ने विचारमा छु । पढाइलाई पनि सँगै अगाडि लैजानेछु’, उनी भन्छिन् ।
अञ्जनाले अघिल्ले साता काठमाडौंमा मलेसियासँग खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ७५औं मिनेटमा पहिलो रोजाइकी गोलरक्षक एन्जिला सुब्बालाई विस्थापित गर्दै अन्तर्राष्ट्रिय डेब्यु गरेकी हुन् । साफ टोलीमा पर्ने अञ्जना विभागीय टोलीबाहिरकी एकमात्र खेलाडी हुन् । प्रशिक्षक कुमारले टोलीमा तीनजना गोलरक्षक राख्नुपर्ने र अञ्जनाको खेल राम्रो भएकाले मौका दिएको बताए । राष्ट्रिय टोलीमा अञ्जनासहित अहिले सातजना नयाँ अनुहार छन् । मलेसियाविरुद्ध अञ्जनासँगै ६ जनाले डेब्यु गरिसकेका छन् ।
‘टोलीमा औसतमा सबै खेलाडी २२ देखि २३ वर्षका छन् । केही खेलाडीको उमेर २६ वर्षको छ । तर १५ वर्षका खेलाडीले २६ वर्षको साथीसँग खेल्दा पछिको लागि राष्ट्रिय टोलीलाई धेरै फाइदा हुन्छ’, कुमार भन्छन् । टोलीमा ६ जना रक्षक, चारजना स्ट्राइकर, तीन गोलरक्षक र सातजना मिडफिल्डर छन् । महिला साफ च्याम्पियनसिपको अघिल्लो तीन संस्करणमा उपविजेता बनेको नेपाली टोलीलाई यसपटक च्याम्पियन बन्ने चुनौती छ । त्यसका लागि टोलीका सबै खेलाडी प्राविधिक रूपले तयार देखिन्छन् ।
अञ्जनाको खेलले टोलीका सिनियर खेलाडीलाई पनि प्रभाव पारेको छ । ‘कलिलो उमेरमै यत्तिको खेल्नु धेरै राम्रो हो । अनुभव र एक्सपोजरको मात्र कमी हो तर अञ्जना निडर र साहसिक छिन् । पाएको अवसरलाई उनी राम्रोसँग ग्रिप गर्छिन्’, टोलीका सिनियर खेलाडी भन्छन् । किपरमा मात्र होइन, उनी डिफेन्समा पनि उत्तिकै राम्रो खेल्न सक्छिन् । उनको बल प्रहार गर्ने कला सशक्त छ । त्यसैले त उनलाई हौस्याउन टोलीका दिदीहरू भन्छन्, ‘ठोक कान्छी ठोक, नडराई ठोक ।’