महिला फुटबलको स्वर्ण सशस्त्रलाई
इटहरी: सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबलको उपाधि विभागीय टोली एपीएफले जितेको छ । शनिबार सुनसरीको दुहबीमा भएको फाइनल खेलमा अर्को विभागीय टोली नेपाल प्रहरीलाई ट्राइबेक्ररमा ४-२ गोलअन्तरले पराजित गर्दै एपीएफले स्वर्ण जितेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट गोल हुन नसकेपछि टाइब्रेकरमार्फत निर्णय लिइएको थियो ।
एपीएफलाई उपाधि दिलाउन ट्राइबेकरमा उषा भण्डारी, लक्ष्मीकुमारी पौडेल, मञ्जु दोङ र अनिता केसीले गोल गरे । पुलिसका लागि भने घिमकुमारी गुरुङ र सिर्जना खड्काले मात्रै गोल गरे । निर्मला उपाध्यायको प्रहार बाहिरिएको थियो भने अमृता जोशीको प्रहार एपीएफकी गोलरक्षक रूपा राना मगरले विफल तुल्याइदिएकी थिईन् । खेलको अधिकांश समय बलमाथि आफ्नो नियन्त्रण कायम गरेर पनि प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा पुलिस टोली उपाधिको नजिक पुगेर रोकियो ।
एपीएफकी गोलरक्षक रानामगर फाइनल खेलकी उत्कृष्ट खेलाडी चुनिइन् । समग्रमा पाँच गोल गरेकी पुलिसकी नीरु थापा प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बनिन् । स्वर्ण पदक विजेता एपीएफका खेलाडीलाई खेलकुदमन्त्री दलजित श्रीपाइलीले पदकसहित जनही सात हजार प्रदान गरेका थिए ।
अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबले तेस्रो स्थान हात पारेको छ । शनिबार नै भएको खेलमा मध्यमाञ्चललाई २-१ गोलअन्तरले पराजित गर्दै आर्मीले तेस्रो स्थान हात पारेको हो । आर्मीको जितमा सुस्मिता तामाङ र इन्दिरा राईले एकएक गोल गरेका थिए । मध्यमाञ्चलका लागि मेनुका नगरकोटीले एक गोल गरेकी थिइन् ।