अपूरो रंगशालामा चन्द्रकलाको कीर्तिमान
इटहरी: अपूरो भौतिक पूर्वाधारका कारण राष्ट्रिय कीर्तिमान बन्न नसक्ने अनुमान गरिएको इटहरी रंगशालामा भएको एथलेटिक्स प्रतियोगिताको पहिलो दिन शनिबार नेपाल पुलिस क्लबकी खेलाडी चन्द्रकला लाम्गाडेले आफ्नै नाममा रहेको पुरानो राष्ट्रिय कीर्तिमान भंग गरेकी छन् । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको दोस्रो दिन भएको सटपुट थ्रोको महिला स्पर्धामा चन्द्रकलाले ११.५६ मिटरको प्रदर्शनसहित नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
'आफ्नो प्रदर्शनबाट म निकै खुसी छु', राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेपछि निकै उत्साही देखिएकी २३ वर्षीया चन्द्रकलाले भनिन् । उनले आगामी दक्षिण एसियाली खेलकुद (साग) मा राष्ट्रका लागि पदक जित्नु आफ्नो लक्ष्य भएको प्रतिक्रिया दिइन् । 'मेरो प्रदर्शनमा क्रमशः सुधार आउँदै छ, आजको प्रदर्शनले उत्साह पनि निकै बढाएको छ । मेरो अबको लक्ष्य आफ्नै देशमा आयोजना हुने साग खेलकुदमा पदक जित्नु हो', एकताका फुटबल खेलमार्फत पनि आफ्नो भाग्य चम्काउने प्रयास गरेकी चन्द्रकलाले थपिन् ।
प्रशिक्षक नरबहादुर शाहीले पनि आगामी सागमा चन्द्रकलाले पदक जित्न सक्ने पर्याप्त सम्भावना रहेको बताए । 'चन्द्रकलाको प्रदर्शनमा क्रमशः निखार आउँदै छ, उनले आफ्नो प्रदर्शनलाई सुधार्दै १४ मिटरसम्म पुर्याइन् भने साग खेलकुदमा कांस्य पदक जित्न सक्छिन्', प्रशिक्षक शाहीले भने ।
ताप्लेजुङ घर भएकी चन्द्रकलाको नाममा यसअघि ११.०४ मिटरको कीर्तिमान रहेको थियो । उनले सन् २०१६ मै भारतको गुवाहाटीमा आयोजना भएको १२औं सागमा उक्त कीर्तिमान बनाएकी थिइन् । त्यसअघि महिला सटपुटको राष्ट्रिय कीर्तिमान मञ्जु श्रेष्ठको नाममा रहेको थियो । मञ्जुले सन् १९८७ मा रुसको मस्कोमा भएको प्रतियोगितामा १०.६९ को राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।
राष्ट्रिय कीर्तिमान बनाएबापत चन्द्रकलाले २५ हजार रुपैयाँ पुरस्कार पनि पाउने छिन् । महिला सटपुटमा १०.१२ मिटरको प्रदर्शनसहित त्रिभुवन आर्मी क्लबकी अमृता महतोले रजत पदक हात पारिन् । उक्त स्पर्धामा नेपाल पुलिस क्लबकी वसन्ती चौधरीले कांस्य पदक जितिन् । उनले ९.७४ मिटरको प्रदर्शन गरिन् ।
यसैगरी पुरुष सटपुटमा त्रिभुवन आर्मी क्लबका टंक दाहाल पहिलो भए । उनले १३.५५ मिटरको प्रदर्शन गरे । उक्त स्पर्धामा आर्मी क्लबकै पुष्कल खड्का १३.५० मिटरको प्रदर्शनसहित दोस्रो र सशस्त्र प्रहरी बलको एपीएफ क्लबका प्रेमप्रकाश खड्का १२.६८ मिटरको प्रदर्शनसहित तेस्रो भए ।
याम र कृष्णा तीव्र गतिका धावक
सातौं राष्ट्रिय खेलकुदको ट्र्याक स्पर्धाअन्तर्गत एक सय मिटर दौडमा महिलातर्फ त्रिभुवन आर्मी क्लबकी कृष्णा चौधरी र पुरुषतर्फ मध्यपश्चिमाञ्चलका यामसाजन सुनारले स्वर्ण पदक जितेका छन् । एथलेटिक्सको ट्र्याक स्पर्धामा एक सय मिटर दौडका विजेतालाई देशकै सर्वाधिक तीव्र गतिमा दौडने व्यक्तिका रूपमा लिइन्छ ।
पुरुषतर्फको स्पर्धामा यमसाजनले निर्धारित दूरी पूरा गर्न १०.७० सेकेन्ड समय खर्चिए । यमसाजनले बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्र्याक स्पर्धामा स्वर्ण पदक जितेको यो पहिलो पटक हो । यसअघि पाँचौं र छैटौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा उनले लङजम्पमा स्वर्ण पदक हात पारेका थिए । यमसाजन एक सय र दुई सय मिटर दौडका राष्ट्रिय कीर्तिमानधारी खेलाडी हुन् । एक सय मिटर दौडमा १०.३ सेकेन्डको राष्ट्रिय कीर्तिमान उनको नाममा छ ।
पुरुषतर्फको एक सय मिटर दौडमा निर्धारित दूरी ११.०८ सेकेन्डमा पार गर्दै एपीएफ क्लबका असिम चौधरी दोस्रो भए । निर्धारित दूरी ११.२० सेकेन्डमा पूरा गरेका आर्मी क्लबका आनन्ददेव चौधरीले कांस्य पदक हात पारे । महिलातर्फको स्पर्धामा भने कृष्णाले निर्धारित दूरी पार गर्न १३.१५ मिनेट समय खर्चिएकी थिइन् ।
उक्त स्पर्धामा निर्धारित दूरी १३.२० सेकेन्डमा पूरा गर्दै आर्मी क्लबकै दुर्गा देवकोटा दोस्रो र निर्धारित दूरी १३.३२ सेकेन्डमा पार गर्दै पुलिस क्लबकी चन्द्रकला थापा तेस्रो भइन् । 'ट्र्याकको अवस्था राम्रो भएको भए अझ छिटो दौड पूरा गर्न सक्थेँ, त्यै पनि म यो उपलब्धिबाट म निकै खुसी छु', स्वर्ण पदक जितेपछि कृष्णाले भनिन् ।
यसैगरी पुरुष हाइजम्पमा आर्मी क्लबका सूर्य खत्रीले स्वर्ण पदक जिते । उनले १.८२ मिटरको प्रदर्शन गरे । उक्त स्पर्धामा १.७९ मिटरको प्रदर्शनसहित मध्यमाञ्चलका अरुण राईले रजत र १.७५ मिटरको प्रदर्शनसहित पुलिस क्लबका गोपाल चौधरीले कांस्य पदक हात पारे ।
महिला हाइजम्पमा पुलिस क्लबकी केशरी चौधरीले स्वर्ण पदक जितिन् । उनले १.५४ मिटरको प्रदर्शन गरिन् । उक्त स्पर्धामा १.५३ मिटरको प्रदर्शनसहित एपीएफ क्लबकी शिला चौधरीले रजत र १.४४ सेकेन्डको प्रदर्शनसहित आर्मी क्लबकी प्रभा चौधरीले कांस्य पदक हात पारिन् ।
सातौं खेलकुदको पहिलो स्वर्ण हरिको पोल्टामा
पूर्वाञ्चल विकास क्षेत्रको विभिन्न जिल्लामा जारी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पहिलो स्वर्ण पदक त्रिभुवन आर्मी क्लबका धावक हरिकुमार रिमालको पोल्टामा परेको छ । उनले शनिबार इटहरीमा भएको एथलेटिक्सको पन्ध्र सय मिटर दौडमा स्वर्ण पदक जितेका हुन् । उनी निर्धारित दूरी चार मिनेट ०४.३८ सेकेन्डमा पूरा गर्दै सातौं खेलकुदमा पहिलो स्वर्ण जित्ने भाग्यमानी खेलाडी बनेका हुन् ।
बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो सहभागितामै स्वर्ण पदक जितेका हरिले आफ्नो आगामी लक्ष्य दक्षिण एसियाली खेलकुद (साग) भएको बताए । 'सातौं खेलकुदमा पहिलो स्वर्ण पदक जित्ने खेलाडी बन्न पाउँदा निकै खुसी लागेको छ, अब म आफ्नो सम्पूर्ण ध्यान आगामी साग खेलकुदमा केन्द्रित गर्नेछु', धादिङ घर भएका २८ वर्षीय हरिले भने ।
उक्त स्पर्धामा आर्मी क्लबकै छत्र दाहाल दोस्रो भए । उनले निर्धारित दूरी पार गर्न चार मिनेट ०४.७३ सेकेन्ड समय खर्चिए । चार मिनेट ११.४५ सेकेन्डमा दौड पूरा गर्दै पुलिस क्लबका करण खड्का तेस्रो भए । पन्ध्र सय मिटर दौडमा आर्मी क्लबका खेलाडीले आफ्नो वर्चस्व कायम गरे ।
महिलातर्फ आर्मी क्लबकी सरस्वती भट्टराईले स्वर्ण पदक चुमिन् । उनले निर्धारित दूरी चार मिनेट ४३.३६ सेकेन्डमा दौड पूरा गरिन् । उक्त स्पर्धामा एपीएफ क्लबकी फूलमती रानाले निर्धारित दूरी चार मिनेट ५३.९६ सेकेन्डमा पूरा गर्दै रजत पदक जितिन् । दौड पूरा गर्न चार मिनेट ५६.२८ सेकेन्ड समय खर्चिएकी आर्मीकी लक्ष्मी पाण्डेले कांस्य पदक हात पारिन् ।
भिडियो हेर्नुहोस्