जसले नेपाललाई धानेको छ

जसले नेपाललाई धानेको छ

नेपालको अस्मिता कसरी बचाउने ? कसरी जोगाउने ? परम्पराबारे थाहा हुनुपर्छ । आपसी सद्भाव कायम गर्न सक्नुपर्छ । रामलाई भगवान् भनिएको छ, तर सीतालाई हरण गरेर लग्यो रावणले । राम भगवान् हुन् भने त लंकामा गएर सीतालाई टप्प टिपेर ल्याउन सक्नुपथ्र्यो नि ।

भगवान् भएर बाँदरसँग मीत लगाएका छन् । गयो बाँदरको सेना, समुद्रको किनारमा तर अघि बढ्न सकेनन् । अंगद भन्ने वीरले भने- 'हे हनुमान, तिमीहरू बाँदर जस्तो हो र ? तिमीहरू त पवनपुत्र हौ । पवनलाई त डाँडाकाँडा कसैले पनि छेक्दैन । तिमी सानो छँदा आमाले तिमीलाई कोक्रोमा हालेर चहचह गर्नुभएको थियो, त्यसबेला सूर्यनारायण उदय भए । तिमीले लड्डु भनेर त्यही सूर्यलाई कप्लक्क निलेका थियौ । तिमी यस्ता वीर पो त ।'

हनुमानलाई यो कुरा थाहा थिएन । उनले आफ्नो इतिहास, गौरव अंगदबाट थाहा पाएका थिए । उनले जय श्रीराम भने, फिटिक्क फटकिए । त्यो वास्तविक घटना हो । यतातिर हामी नजाऊँ । तर रावणले एउटा प्रेरणा दिएको छ । भर्खरै एक कार्यक्रममा आफूलाई क्रान्तिकारी भन्ने माओवादी नेता शक्ति बस्नेतले भने, 'इतिहासलाई वर्तमानमा थोपर्नु हुँदैन र भविष्यमा के हुन्छ, हामीलाई थाहा छैन, भविष्यको निर्माण भविष्यले नै गर्नुपर्छ ।' त्यस्तो पनि कुरा गर्ने ? त्रितालको कुरा थाहा छ हामीलाई- भूतमा के थियो, वर्तमानमा के छ र भविष्यमा के हुन्छ । अहिले नेपालमा गणतन्त्र छ, भोलि के हुन्छ, भविष्यको पुस्ताले त्यसको निर्धारण गर्छ भनेको छ ।

माओवादीबाट फुटेर गएका बाबुराम भट्टराईले भने, 'जनताले चाहे भने हिन्दु राष्ट्रपति हुन्छ, राजतन्त्र पनि आउँछ ।' त्यस्ता कुरा पनि गर्ने हो ? सय चुहा खाकर दिल्ली हज गर्न चले गए । उहिले मान्छे काट्नुसम्म काटे, अहिले जनताले चाहे भने राजतन्त्र पनि आउन सक्छ, हिन्दु धर्म पनि आउन सक्छ रे, त्यस्ता कुरा पनि भन्ने हो र ? इतिहास पढेपछि हामीलाई आफ्नो गौरव गाथा हुन्छ ।

पृथ्वीनारायण शाहले यहाँ अंग्रेजलाई पनि जिते, मुसलमानलाई पनि जिते । हिन्दु नागाहरूलाई पनि जिते । हिन्दुहरूलाई यो त हिन्दु हो भनेर उनले छोडिदिएका थिए । हतियार बोकेर ल्याएका रहेछन्, उनीहरूलाई पनि आक्रमण गरे । क्रिस्चियन धर्मसँग पृथ्वीनारायणको कुनै वैरभाव थिएन । क्रिस्चियनहरूलाई किन लखेटे त ? किन खेदे ? ती सात समुद्रबाट आएका फिरंगीहरूको धर्मकर्म त राजनीति र जासुसी गर्ने रहेछ । त्यो राजनीति र जासुस नगरेको भए उनीहरू नेपालबाट खेदिने नै थिएनन् ।

हाम्रो नेपालले हामीलाई के भन्छ भने भक्तपुरमा बिस्केट जात्रा हुन्छ वैशाख १ गते, त्यहाँको तौमडी टोलमा भैरवनाथको मन्दिर छ ठूलो । माथिल्लो तलामा गएर हेर्‌यो भने मूर्ति छैन, मुकुन्डा छन् दुइटा । त्यहाँका पुजारी यो भैरवनाथ र यो काशीनाथ भनेर चिनाउँछन् । काशी विश्वनाथ त्यहाँ किन स्थापना गरेको भने बिस्केट जात्रा भनेको विश्व केतु । केतु भनेको झन्डा । विश्वमा कल्याण होस् । विश्वलाई विजय गर्न सकियोस् भनेर विश्वध्वजको उठान लिंगो ठडाएर जात्रा बनाएको छ । विश्वलाई विजय गर्न सकोस् नेपालले । विश्वमा शान्ति कायम होस् ।

सबैभन्दा ठूलो जात्रा हेर्ने काशी विश्वनाथ मान्छे भएर आएका रहेछन् । यहाँका तान्त्रिक र ज्योतिषीहरूले यो कुरा थाहा पाए । पछ्याउँदै पच्छाउँदै गए । मलाई त मान्छेले पछ्याए भनेर सुत्न धर्तीभित्र पस्दा टाउको मात्रै फेला पारे । त्यसपछि चट्ट काटे टाउको । त्यही टाउको यहाँ राखेको छ । काशीमा त उनको शरीर मात्रै छ । पेटमा तण् फोहोरमैला मात्रै हुन्छ । टाउको भनेको ज्ञानेन्द्रीय जति सबै भएको ठाउँ हो । नेपाल भनेको भारत वर्षको मस्तिष्क हो । काशीमा विश्वनाथ छन् भनिन्छ, तर त्यहाँ उनको शरीर मात्रै छ । परमेनिन्द्रीय मात्रै छ, ज्ञानेन्द्रीय जति सबै नेपालमा छ । त्यो कथाले यस्तो भन्छ । भारतचाहिँ नेपालअन्तर्गत हो भन्ने भनाइ छ ।

टुँडिखेलमा एउटा महांकाल छ । शनिबार भयो कि शनिग्रह शान्ति भनेर मारामार हुन्छ । कहाँबाट आयो त्यो महांकाल ? महाकाल चीनबाट आएको हो । कुरुक्षेत्रमा कौरव र पाण्डवको लडाइँ भयो । आफ्नै भाइभाइको त्यो लडाइँ हेर्छु भनेर महांकाल चीनबाट हररर उडेर आयो यहाँ । यहाँका गुभाजुहरूले थाहा पाए, त्यसको गति र बाटो । हामी सानो छँदा रूस र अमेरिकासँग आकाशमा दुस्मनको जहाज उडेको छ, त्यसलाई तल झार्न सक्ने यन्त्र छ रे भनेको सुनेका थियौं ।

उहाँका गुभाजुहरूले होम, पाठ गरेर यन्त्र स्थापना गर- भ्रमण गर्न लागेको छ, माथि आएपछि ठप्प त्यसको गति अडियो । हे, मलाई के गरे म यस्तो बलवान्लाई ! किन रोकेको भन्दा तल होम, पाठ गर्न लागेको छ । के गरेको तिमीहरूले ? मलाई छोड । तिमी नेपालमा आउनुपर्छ । हैन म त कुरु क्षेत्रको लडाइँ हेर्न भनेर आएको भने । तर तिमी जान पाउँदैनौ । उसो भएदेखि म गएर आउँछु, लडाइँ हेरेर आउँछु । पक्का हो त ? पक्का ।

त्यसपछि छोड्दिए । रिमोट कन्ट्रोल त आफ्नो हातमा राखे । अनि त्यो युद्ध हेरेर आएपछि ऊ यहाँ बसेको हो । चीनजस्तो महान देशको महांकाल पनि यहाँ राखिएको छ भनेपछि चीनलाई पनि नेपालले परास्त गरेको छ । यस्तो छ हाम्रो गौरवको इतिहास । त्यो इतिहास कायम राख्न अब हामीले चीन र भारत दुवैलाई अधीनमा पार्न सक्दैनौं, तर अनुकूलमा पार्न सक्छौं । अनुकूलमा नपारी नेपालको अभीष्ट लागू हँदैन । त्यसैले हाम्रा नेताहरूले पुण्य आर्जन गर्नुपर्छ ।

स्वर्गद्वारी महाप्रभु बाहुन होइनन् । तीचाहिँ गौतम उपाध्याय बाहुनले खड्का क्षत्रिनीबाट जन्माएको छोरा रहेछन् । त्यसरी गौतम क्षेत्री भएका रहेछन् । बाबु उपाध्याय बाहुन गौतम र आमा खड्का क्षेत्रीबाट जन्मिएको । त्यहाँबाट स्वर्गद्वारी महाप्रभु भए । त्यसपछि हंसानन्द गिरिजी महाराज भएर जन्मिनुभयो । आधा दान स्वर्गद्वारीको गुठीमा जान्थ्यो । २००७ सालमा प्रजातन्त्र आयो भने, तर नेताहरूले अलिकति खोसेर खाइदिए, २०१५ सालमा पनि अलिकति खोसेर खाइदिए । नेपालमा गणतन्त्र आएपछि २५ प्रतिशत मात्रै छ स्वर्गद्वारीको गुठी । बाँकी ७५ प्रतिशत गुठी उठ्दैन ।

चन्द्रशमशेर चितवनको ठोरीमा सिकारमा जाँदा स्वर्गद्वारी महाप्रभु भिक्षा माग्न आए । अहिलेका जोगी सरासर हाम्रो बैठकमा आउँछ, जोगी भएर भिक्षा माग्नेचाहिँ आँगनमा गएर अलख जगाउने हो । बास बस्नुपरे पिँढीमा बस्ने हो । द्वारभित्र पस्नु हुँदैन । ढोकामा आएर अलख जगाउँदा म दान लिन आएको होइन, दानमा स्वर्गद्वारीको जनताको गुठी धेरै भयो, त्यसको माफ माग्न आएको भने । चन्द्रशमशेरले भित्रबाट मालपोत त माफ हुँदैन भने । स्वर्गद्वारी महाप्रभुले के-के भने भने, यो चन्द्रे र म एउटै गुरुकुल आ श्रममा तपस्वी थियौं, यसको तपस्या भ्रष्ट भयो । त्यहाँबाट यो राजा भयो । अर्को जन्ममा यसको पतन हुन्छ । मेरो अलिकति तपस्या पुगेको थिएन म जोगी भएँ । अर्को जन्ममा म मुक्त हुन्छु भनेका छन् ।

त्यसैले तपस्याबाट भ्रष्ट भएकाहरू राजा, राष्ट्रपति, प्रधानमन्त्री, नेता र उद्योगपति भएर जन्मिन्छन् । त्यसैले पुण्य आर्जन गर्नुपर्छ । त्यो पुण्य आर्जन भनेको बिहानभरि पाठ गर्ने र रातमा खरानी घस्ने होइन । जनताको कल्याण गर्नुपर्छ । त्यस्तो किसिमको कल्याण गर्‌यौं भने आफ्नो पनि कल्याण हुन्छ ।

अब यहाँ आयो किसुनजीको कुरो । किसुनजी बिहान-बिहान सधैं गीता पाठ गर्ने । डायरी लेख्नुहुन्थ्यो साँझमा । पुण्य आर्जनको लागि होइन गीता पाठ गरेको उहाँले । प्रेरणा लिनको लागि हो । संविधानसभाको निर्वाचन भयो । संविधान पनि जारी भयो, तर कार्यान्वयन हुन सकेको छैन । किन त ? त्यहाँ सत्य छैन ।

अहिले ईश्वरको नामबाट शपथ नलिनेहरूको सरकार छ, जो किसुनजीलाई शान्ति पुरस्कार दिलाउँछ । यो आ श्रममा त कसरी खाने, कसरी चलाउने भन्ने धरमर छ । पूर्वप्रधानमन्त्री केपी ओलीले म दिउँला भन्नुभएको थियो भनेपछि केही पुण्य आर्जन गर्नुभयो उहाँले । त्यसकारणले प्रेरणा लिन गीता पाठ गर्नुभयो । गीताको निचोड के हो त ? ध्रुव नीति, अटल नीति । अटल नीति भनेको के त ? संविधान ? जहाँ सत्य हुन्छ, त्यहाँ संविधान कार्यान्वयन हुन्छ । नेपालमा सत्य नभएकाले संविधान कार्यान्वयन हुन सक्दैन ।

नेपालको कुरा गर्दा तराई वा मधेसको कुरो आयो । पहिले गंगासम्म नेपालको सीमा थियो । कसरी गंगासम्म नेपालको सिमाना हो भने पूर्वमध्यकालको अन्तिमतिर मिथिलाको प्राचीन वैभव पनि हराइसकेको थियो । कपिलवस्तुको वैभव पनि हराइसकेको थियो । सिम्रौनगढमा एउटा राज्य थियो । सिम्रौनगढ राज्यको लेनदेन भक्तपुर राज्यसँग हुन्थ्यो । त्यतिखेरको राजधानी भक्तपुर थियो । हरिसिंहदेवको ससुराली भक्तपुर ।

हरिसिंहदेवको पतन भयो मुसलमानको आक्रमणले । हरिसिंहदेव भागेर ससुरालीमा शरण लिन आउँदाआउँदै बाटोमै उनको मृत्यु भयो । त्यसपछि उनकी श्रीमती आफ्नो माइतीमा शरण लिन आइन् । त्यसपछि जयस्थिति मल्लले यहाँ थिति बाँधे । उनी पनि मधेस तराईबाट आएका हुन् । सिम्रौनगढको सीमा गंगासम्म थियो । अनि जयस्थिति मल्ल र उनका नाति यक्ष मल्लको पालासम्म गंगासम्म नेपालको सीमा जोडिएको थियो । पछि मुसलमानको आक्रमणले तराईजति सबै उनीहरूले खाइदिए ।

पृथ्वीनारायणको पालामा पूर्वीतराईको समस्या भएन, तर पश्चिम तराईको समस्या भयो । पश्चिम तराई पृथ्वीनारायणभन्दा पछाडि जितिएको हो । त्यतिखेर अहिलेका रूपन्देही, कपिलवस्तु आवतको नवाफले भोग गरेको थियो । यता पाल्पालाई नेपालले जित्यो, आवतको नवाफलाई अंग्रेजले जित्यो । नवाफ निहुँ खोज्न थाल्यो- हाम्रो जग्गा हामीलाई फिर्ता दे । नेपालले हामी फिर्ता दिँदैनौं भन्यो ।त्यहींबाट नेपाल र अंग्रेज युद्ध सुरु भएको हो ।

राजतन्त्र, गणतन्त्र, धर्म निरपेक्षता, जातीय धरालत र जातीय संकुचित भावनाको धरातलभन्दा माथि उठेर पहिले राष्ट्र जोगाउनुपर्‌यो । राजनीतिक व्यवस्था भनेको राष्ट्रको अवस्थाअनुसार हुन्छ । अहिलेको गोरखपुरको केही कुरा चन्द्रशमशेरले ल्याएका हुन् । तिनलाई हामीले सामन्ती भनेर गाली गर्नु हँदैन । तिनले जे गरेका थिए, त्यो पनि गर्न सकेका छैनौं हामीले ।

सुगौली सन्धिभन्दा पहिले लुम्बिनीमा बुद्ध जन्मेका र तिलौराकोट कपिलवस्तुको राजधानी भएको थाहा पाएका भए त्यो नेपालको रहन्थ्यो र ? रहने थिएन । जनकपुरमा सीता जन्मेको थाहा पाएको भए त्यो नेपालमा रहन्थ्यो र ? नेपाललाई सीमा कायम गराएको कहाँ त ? जनकपुरको अहिलेको मन्दिर त पछि बनेको हो । त्योभन्दा पहिले बडाकाजी अमरसिंह थापाले त्यहाँ राममन्दिर बनाएका थिए, अहिलेको जनकपुरको रामजानकी मन्दिरभन्दा धेरै तल सिमानानिर ।

कल्यश्वरीको मन्दिर बनाइएको थियो, काठमाडौंका नेवार कालिगढ लगेर । त्यसैले नेपाललाई धानेको छ, चिनाएको छ । नेपाल र भारतको कित्ता कसरी जोड्ने त भन्दा भारततिर अलि खुकुलो र नेपालमा अलि कडा रहेछ । उताकाले हामी नेपाली होइनौं भनेर भारततिर गए । बडाकाजी अमरसिंह थापाले बनाएको कल्यश्वरीको मन्दिरले अहिलेको नेपाल भनेर चिनाएको छ । जनकपुर, लुम्बिनी भन्ने थाहा भएको भए सुगौली सन्धिबाट त्यो रहने थिएन ।

अन्यत्र किचलो नहुने यो ५ नम्बर प्रदेशमा मात्रै किन किचलो भयो त ? लुम्बिनी खान थालेको छ । मद्रासमा बुद्ध जन्मेको भनेर किताब लेखिएको छ । पिपरहवामा नक्कली कपिलवस्तु खडा गरिएको छ । तर हामीसँग पुरातात्विक प्रमाण छन्, इतिहास प्रमाण छन् । ती प्रमाणको व्याख्या गर्ने काम कसको त ? विश्वविद्यालयहरूको, प्रज्ञाप्रतिष्ठानहरू हो नि त । सरकारका मन्त्रीहरूलाई त यो कुरा यस्तो हो है भनेर अथ्र्याउनुपर्छ प्रज्ञा प्रतिष्ठानहरूले । तर विश्वविद्यालय र प्रज्ञा प्रतिष्ठानमा राजनीति मात्रै छ, प्राज्ञिक कसरत नै भएको छैन ।

काशी विश्वनाथको टाउको काटेर राख्न सक्ने, चीनको महांकाल राख्न सक्नेलाई यो कुरा यो हो भनेर किन बार्गेनिङ गर्न सकिन्न ? अथ्र्याउन किन सकेन ? यहाँ निरीह भएका छन् जनता । त्यसैले प्राज्ञहरूले राम्राराम्रा सुझाव राजनीतिज्ञहरूलाई दिए भने बल्ल राम्रो हुन्छ । त्यसैले तथ्यमा आधारित भयो भने संविधान कार्यान्वयन पनि हुन्छ । जनता भनेका जनार्दन, भगवान्को स्वरूप हो ।

त्यसैले नेताहरूले पुण्य आर्जन गर्नुपर्छ भन्ने मेरो अभिमत हो । म एउटा स्वतन्त्र व्यक्ति हुँ, त्यसैले नेपाल राष्ट्रको संरक्षण गर्नुपर्छ भन्ने हो । अहिले नेपाली संस्कृति खस्किएको छ, राष्ट्रियता धमिलिएको छ, नेपाल राष्ट्र विखण्डनको दिशातिर धकेलिएको छ । सन्तुलन ल्याउने कसले त ? नेपाली जनताले सन्तुलन ल्याउनुपर्‌यो । राजतन्त्र, गणतन्त्र, धर्म निरपेक्षता, जातीय धरातल र जातीय संकुचित भावनाको धरातलभन्दा माथि उठेर पहिले राष्ट्र जोगाउनुपर्‌यो । किनभने राजनीतिक व्यवस्था भनेको राष्ट्रको अवस्थाअनुसारको हुन्छ ।

अहिले अवस्था संकटमा छ । अहिलेको गोरखपुरको चन्द्रशमशेरले ल्याएको हो केही कुरा । हामीले तिनलाई सामन्ती भनेर गाली गर्नु हँदैन । तिनले के गरे त ? तिनले जे गरेका थिए, त्यो पनि गर्न सकेका छैनौं हामीले, अहिलेका प्रगतिवादीहरूले र गणतन्त्रवादीहरूले । त्यसैले इतिहास हेरेर, त्यहाँबाट प्रेरणा लिएर नेपालले भारत र चीनलाई दबाउने होइन, दुवैलाई आफ्नो अनुकूलमा पारेर यो राष्ट्र जोगाउनुपर्छ ।


(संस्कृतिविद् गुरुङले सन्तनेता कृष्णप्रसाद भट्टराईको ९३ औं जन्मोत्सवका अवसरमा बाडेगाउँ, ललितपुरमा शुक्रबार गरेको प्रवचनको सम्पादित अंश)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.