राष्ट्रिय खेलकुदमा सेनाको अग्रता, पुलिस दोस्रो स्थानमा
विराटनगरः पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक तालिकामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको अग्रता कायमै छ। उसले सोमबारसम्म ३६ स्वर्ण, २० रजत र १४ कास्य गरेर जम्मा ७० पदक जितेको जितेको छ।
नेपाल पुलिसले १७ स्वर्ण, १४ रजत र २१ कास्यसहित ५२ वटा पदक जितेर दोस्रो स्थानमा रहन सफल भएको छ। सशस्त्र प्रहरीले १२ स्वर्ण ११ रजत र १९ कास्यसहित ४२ पदक जितेर तेस्रो स्थान हासिल गरेको छ। जम्मा दशवटा मात्र पदक जितेर मध्यपश्चिमाञ्चल पदक तालिकाको पुछारमा रहेको छ। आयोजक पूर्वाञ्चल २१ पदकसहित छैठौं स्थानमा छ।
मध्यमाञ्चलले ६ स्वर्ण, १४ रजत र १४ कास्य जितेर कुल ३४ पदकसहित चौथो स्थान प्राप्त गरेको छ। पश्चिमाञ्चलले २२, सुदूरपश्चिमाञ्चलले २२, पूर्वाञ्चलले २१ र मध्यपश्चिमाञ्चलले दश पदक जितेका छन्। सोमबारसम्म ८० स्वर्ण, ८० रजत र १ सय १सय १४ कास्यसमेत गरी कुल २ सय ७३ पदकको टुंगो लागेको राष्ट्रि खेलकुद परिषदले जनाएको छ।
प्रतियोगिता अन्तर्गतका विभिन्न खेलको नतिजा आउने क्रम अझै जारी छ। नेपाली सेनाले झापाको दमकमा भएको आइटिएफ तेक्वान्दोमा कुल १४ स्वर्णसहित आफ्नो वर्चस्व कायमै राखेको छ। दोस्रो दिन सोमबार भएको खेलमा आर्मीले थप ६ स्वर्ण जितेपछि स्वर्ण पदकमा उसको अग्रता कायम रहेको हो।