‘हर्डल' नै देखेका थिएनन् हर्डल्स खेलाडीले 

‘हर्डल'  नै देखेका थिएनन् हर्डल्स खेलाडीले 

इटहरीः देशभित्र हुने सबैभन्दा ठूलो प्रतियोगिता हो, राष्ट्रिय खेलकुद । देशभरिबाट छनोट चरण पार गर्दै आएका दिग्गज खेलाडीले उत्कृष्टताका लागि भिडन्त गर्छन्, यो प्रतियोगितामा । तर पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन आएका कतिपय खेलाडीलाई आफूले खेल्ने खेलकै विषयमा जानकारी छैन भन्ने सुन्दा आश्चर्य लाग्न सक्छ ।

यस्तै नियति भोगिरहेका छन्, सातौं राष्ट्रिय खेलकुदअन्तर्गत इटहरीमा जारी एथलेटिक्स प्रतियोगिताका केही खेलाडी । एथलेटिक्सको हर्डल्स स्पर्धामा सहभागी हुन क्षेत्रीय टोलीमा सहभागी भएर आएका कतिपय खेलाडीले खेलका क्रममा प्रयोग गरिने ‘हर्डल' इहटरीमा पहिलोपटक देख्ने अवसर पाए । प्रतियोगिता सुरु हुनुअघि उनीहरूले न ‘हर्डल' मा अभ्यास गर्न पाए न त ‘हर्डल' देख्न नै पाएका थिए ।

पूर्वाञ्चल विकास क्षेत्रको प्रतिनिधित्व गर्दै चार सय मिटर पुरुष हर्डल्स स्पर्धामा प्रतिस्पर्धा गर्न आएका पंकज पोखरेल सोमबार प्रतियोगिता सुरु हुनुअघि हर्डल्सको बारेमा आफूलाई जानकारी नै नभएको गुनासो गर्दै थिए । हडल्र्स स्पर्धाको विषयमा अभ्यासका क्रममा प्रशिक्षकले सामान्य जानकारी दिए पनि आफूले खेल सुरु हुनुभन्दा केहीअघि मात्र ‘हर्डल' देख्ने मौका पाएको बताए ।

‘हर्डल्समा भाग लिनुपर्ने भएपछि गुरु (प्रशिक्षक) ले अलिअलि जानकारी दिनु भएको थियो तर, मैले आज पहिलो पटक हर्डल देखेको हुँ । मलाई खेल्न पनि डर लागेको छ', मोरङ सुन्दरदुलारीका पंकजले भने, ‘ममात्र होइन, हामीसँग अभ्यास गर्ने अरू थुप्रै खेलाडीलाई हर्डल्सको बारेमा थाहा छैन, उनीहरूले पनि आज पहिलो पटक हर्डल देखेका हुन् ।'

राष्ट्रिय प्रतियोगितामा हर्डल्स स्पर्धा समावेश गरिए पनि जिल्ला र क्षेत्रीय स्तरमा भने हर्डल्सको छनोट नै नगरी खेलाडी चयन गरिएको थियो । त्यसैले राष्ट्रिय प्रतियोगितामा सहभागी हुन विभिन्न जिल्लाबाट आआफ्नो विकास क्षेत्रको प्रतिनिधित्व गर्दै आएका अधिकांश खेलाडीले प्रतियोगितास्थल पुगेरमात्र यो खेल कसरी खेलिन्छ भन्ने कुराको अनुभव गर्न पाए ।

हर्डल्स (बाधा दौड) स्पर्धामा खेलाडीले निश्चित दुरीसम्म दौडिएपछि उफ्रिएर ‘हर्डल' पार गर्नुपर्ने हुन्छ । खेलाडी विजयलक्ष्यसम्म नपुग्दासम्म योक्रम दोहोरी रहन्छ । सामान्य दौडभन्दा फरक हुनु भएकाले र अग्ला हर्डलहरू पार गर्नुपर्ने भएकाले पहिलोपटक सहभागिता जनाउने खेलाडीका लागि स्पर्धा केही जोखिमपूर्ण हुन्छ । खेलाडीले सही तरिकाले ‘हर्डल' पार गर्न सकेनन् भनेर लडेर घाइते हुने सम्भावना पनि उत्तिकै रहन्छ ।

पंकजजस्तै कञ्चनपुरका विवेक सुनार र अनिल नेपालीले पनि प्रतियोगितास्थल पुगेरमात्र हर्डल्सस्पर्धाको बारेमा राम्ररी जान्ने र बुझ्ने अवसर पाए । विवेक र अनिल सूदूरपश्चिमाञ्चल विकास क्षेत्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय खेलकुदमा सहभागी भएका हुन् । राष्ट्रिय प्रतियोगितामा आफूले खेल्नुपर्ने भए पनि यसअघि उनीहरूले ‘हर्डल' मा अभ्यास गर्न पाएका थिएनन् ।

सूदूरपश्चिमाञ्चलको एथलेटिक्स टोलीका प्रशिक्षक छविलाल थापाले जिल्ला र क्षेत्रीयस्तरमा ‘हर्डल' को सुविधा नरहेकाले खेलाडीले अभ्यास गर्न नपाएको जानकारी दिए । ‘अभ्यासका क्रममा हर्डलको सुविधा नभएकाले हाम्रा अधिकांश खेलाडीले राष्ट्रिय प्रतियोगितामा आएर एकैपटक प्रतिस्पर्धा गर्नु परेको हो', उनले भने ।

‘हर्डल' उपलब्ध नभएपछि आफूले ‘हर्डल' को स्थानमा साइकल राखेर खेलाडीलाई अभ्यास गराउने सोच बनाए पनि खेलाडी घाइते हुने सम्भावना देखेपछि खेलाडीलाई सामान्य नियमको बारेमा जानकारी मात्र दिएर प्रतियोगितामा सहभागी गराउन ल्याएको पनि उनले बताए । ‘हर्डलको स्थानमा साइकल राखेर अभ्यास गराउने सोच बनाएको थिएँ तर, खेलाडी घाइते हुन सक्ने सम्भावना देखेर त्यसो गरिएन ।

त्यसपछि खेलाडीलाई खेलको बारेमा सामान्य जानकारीमात्र दिएर प्रतियोगितामा सहभागी गराएका हौं', प्रशिक्षक छविलालले भने ।
सातौं राष्ट्रिय खेलकुदमा पुरुषतर्फ एक सय १० मिटर हर्डल्स र चार सय मिटर हर्डल्स तथा महिलातर्फ एक सय मिटर हर्डल्स र चार सय मिटर हर्डल्स स्पर्धा समावेश गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.