नवजात शिशुको जीवन सुरक्षित बनाउन...
अभिभावकको अज्ञानता, हेलचेक्य्राइँ र उचित स्याहारको अभावमा नेपालमा धेरै नवजात शिशुको अकालमै ज्यान जाने गरेको । जन्मेको २८ दिन वा महिना दिन उनीहरूका लागि निकै संवेदनशील मानिन्छ ।
हाल एक हजार जीवित जन्ममा ४० जना शिशुले ज्यान गुमाउने गरेका छन् । उनीहरूको ज्यान बचाउन सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । तर, त्यसको प्रभाव सबै क्षेत्रमा परेको छैन । शिशुको ज्यान बचाउन आमा, बुवा, घरपरिवार र विशेषज्ञ चिकित्सकसँगै सरकारसमेत गम्भीर हुनुपर्ने देखिन्छ।
आमाको भूमिका
गर्भवती महिला शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ भएमात्र स्वस्थ शिशु जन्मिन्छ । गर्भावस्थामै शिशुलाई कसरी जोगाउने भन्नेबारे जानकारी हुनुपर्छ । तर, यहाँका अधिकांश आमा त्यसबारे अनभिज्ञ छन् र बच्चालाई केही समस्या आएपछि आत्तिएर अस्पतालमात्र धाउने चलन हावी छ । आमामा सानो ज्ञानको अभावमा शिशुले अकालमै ज्यान गुमाउनु विडम्बना हो ।
बुवा पहरेदार
गर्भावस्था होस् या बच्चा जन्मिएपछि, आमा विभिन्न खाले तनावबाट ग्रस्त भएको पाइन्छ । तनावले आमा र शिशु दुवैको स्वास्थ्य बिगार्छ । आमालाई तनावबाट मुक्त राख्न श्रीमान् सहयोगी बन्नुपर्छ । छोरी जन्मियो भने अहिले पनि आमालाई मानसिक रूपमा तनाव दिने गरिन्छ । मानसिक समस्याबाट ग्रस्त हुँदा आमाबाट दूध आउँदैन र आमाको दूध खान नपाउँदा शिशु बिरामी पर्छन् । श्रीमती गर्भवती भएदेखि शिशु जन्मिएर नहुर्केसम्म बुवा ठूलो पहरेदार बन्नुपर्छ । गर्भावस्थामा मात्र होइन शिशु जन्मिसकेपछि पनि आमाको स्वास्थ्य कमजोर बनेको हुन्छ । त्यस्तो बेला उनलाई मायासँगै हेरचाहमा समय दिनुपर्छ । बुवाको साथले दुःखमा पनि आमाको मनोबल बढ्छ । बुवासँगै घरपरिवारका अन्य सदस्यले पनि आमा र शिशुको हेरचाहमा साथ दिनुपर्छ ।
आमाको दूध
आमाको दूध बच्चाका लागि अमृतसरह हुन्छ । दूधले बच्चाको आन्द्रामा ‘पेन्ट’को कामसमेत गर्छ; जसलाई दोस्रो मस्तिष्क मान्ने गर्छन् वैज्ञानिक । चार दिनसम्मको बिगौती दूधले शिशु र आमालाई क्यान्सरबाट जोगाउँछ । रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । जन्मेको एक घन्टापछि ६ महिनासम्म निरन्तर आमाको दूध खुवाउनुपर्छ । आमाको दूधमा नपाइने भएकाले ‘भिटामिन डी’ किनेर खुवाउनुपर्छ । दूध बढाउन आमाले पर्याप्त पोषक तत्व खानुपर्छ । एक महिनासम्म दैनिक दुईपटकका दरले दूध खुवाउनुपर्छ ।
संक्रमण
संक्रमणका कारण नेपालमा धेरै नवजात शिशुको ज्यान जाने गरेको छ । सामान्य रूपमा जन्मिने बच्चामा पनि रोग प्रतिरोधक क्षमता कम हुँदा संक्रमण हुने हो । बच्चालाई हुर्काउने र राख्ने ठाउँको अस्वस्थकर वातावरणले विभिन्न संक्रमण फैलिन्छ । मुख हेर्ने नाममा सयौं आफन्त जुत्ताचप्पलसहित शिशु राखिएको ठाउँमा जाने चलन छ । शिशुलाई जथाभावी फोहोर हातले छुने, समात्ने, खेलाउने, माया गर्ने गरिन्छ । यसबाट अनेकौं संक्रमण फैलिने जोखिम हुन्छ । संक्रमण भएपछि शिशुमा ज्वरो आउनसक्छ । जुन शिशुले भन्न पनि सक्दैनन् र अभिभावकले पनि बेवास्ता गर्दा अकालमै उनीहरूले ज्यान गुमाउन सक्छन् । जाडोमा जन्मिएका शिशुमा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउँछ र संक्रमण सुरु हुन्छ । जन्मनासाथ कतिपय शिशुलाई नुहाउने चलन छ । त्यसबाट संक्रमण र निमोनिया हुने डर हुन्छ । नाइटोबाट पानी छिर्दा संक्रमण फैलिन्छ । सात दिनपछि नुहाउँदा पनि तत्कालै न्यानो कपडाले छोपेर भित्र लगेर कपडा लगाउने गर्नुपर्छ । दूध खुवाउने भाडाको ‘निप्पल’ फोहोर हुँदा पनि संक्रमण हुन्छ ।
जन्डिस र कुपोषण
जन्मेको ४८ घन्टासम्म जन्डिस देखियो भने उक्त शिशु जन्मजात रूपमै बिरामी परेको हुनसक्छ । जन्डिस देखिएमा विशेष ध्यान दिनुपर्छ । जन्डिसका कारण पनि नवजात शिशुले ज्यान गुमाइरहेका छन् । जन्डिस भएकै थाहा नपाउँदा पनि बच्चाको स्वास्थ्य जोखिममा पर्ने गरेको छ । आमाको दूध नखुवाउने, नआउने हुँदा नवजात शिशु पनि कुपोषणबाट ग्रस्त हुन्छन् । प्रोटिनको कमीले धेरैलाई कुपोषित बनाउने गरेको छ ।
हेलचेक्य्राइँ र स्याहार
शिशु जन्मनासाथ आमा र शिशुलाई साँघुरा ठाउँमा पुराना कपडाका साथ राखिन्छ । सरसफाइमा ध्यान नदिँदा धेरै शिशुको ज्यान जाने गरेको छ । तेलले मालिस गर्ने चलन बच्चाका लागि घातक हो । कानमा समेत तेल हाल्ने चलन छ तर तेलले कान नै नसुन्ने समस्या ल्याउँछ । आँखामा जथाभावी गाजल लगाउने चलनले पनि आँखाको नानीमा असर पु¥याउँछ । निसास्सिएर धेरै शिशुको ज्यान जाने गरेको छ । कहिले धेरै लुगा लगाइदिँदा त कहिले चिसोले उनीहरूको जीवनमा संकट ल्याउँछ ।
खानपान
आमाको दूध आएन वा उनले खुवाउन भ्याइनन् भनेर बजारमा पाइने दूध खुवाउने चलन छ । त्यसले शिशुको स्वास्थ्य बिगार्छ । फोहोर पानीमा पनि पाउडर दूध खुवाइन्छ । त्यसबाट अनेकौं किटाणु सर्ने सम्भावना हुन्छ । दूध आएन भन्दै ल्याक्टोजिन खुवाउने चलन घातक हो । त्यसले धेरै शिशुलाई एलर्जी गराउँछ । ल्याक्टोजिनमा बानी बसेपछि शिशुले आमाको दूध खान मान्दैनन् ।
अस्पताल कति बेला लैजाने ?
नवजात शिशु निकै नै संवेदनशील हुन्छन । उनीहरूलाई हुने समस्या पत्ता लगाउन अभिभावकलाई मुस्किल पर्छ । विभिन्न कारणले उनीहरू रुने, नखाने, नसुत्ने गर्छन् । ज्वरो आउँदा, भोक लाग्दा वा कुनै असहज वातावरणका कारण पनि शिशु रुने गर्छन् । कुनै पनि कारणले शिशुले दूध खान छोडेमा तत्कालै अस्पताल पु¥याई विशेषज्ञ चिकित्सकलाई देखाउनुपर्छ ।
जनचेतना
गर्भवती भएदेखि नै आमालाई बच्चा र उनको स्वास्थ्यबारे जानकारी दिनुपर्छ । त्यति बेला नै पछि आउने समस्याको समाधान र विकल्पबारे सोच्नुपर्छ । मानसिक तनावमा गुज्रेकी आमाबाट जन्मने शिशुको बौद्धिक क्षमतामा असर पुग्छ । नेपालमा स्वस्थ शिशु जन्माउन आमा र उनको परिवारमा जनचेतना जगाउनु आवश्यक छ । त्यसका लागि सबैभन्दा पहिले आमा शिक्षित हुनुपर्छ । आमासँगै बुवा र घरपरिवारका अन्य सदस्यले पनि शिशु र आमाको जीवनलाई स्वस्थ बनाउन सहयोग गर्नुपर्छ । तर, नेपालमा आमाहरू यसबारे जानकार छैनन् । विदेशमा ‘एन्टिनेटल एजुकेसन’लाई धरै प्राथमिकता दिइन्छ। आमा र शिशुको स्वास्थ्यमा सम्झौता गर्नासाथ दुवैको जीवन संकटमा पर्छ ।
नवजात शिशुको स्वास्थ्यको हरेचाह र उपचारबारे जानकारी दिने उद्देश्यसहित ग्रान्डी इन्टरनेसनल अस्पतालले ‘न्युन्याटल केयर’ विभाग सञ्चालनमा ल्याएको छ । यहाँ शिशुका आमाबुवालाई बच्चाको हेरचाह र खानपानबारे जानकारी गराइन्छ । स्वास्थ्य मन्त्रालयको सहयोगमा दुई विशेषज्ञ चिकित्सक, एकजना स्थानीय चिकित्सक र नर्सको टोलीले नेपालको ग्रामीण तहसम्म पुगी जनचेतना, जाँचलगायत अभियानमार्फत नवजात शिशुको ज्यान जोगाउने तयारी गरेको छ ।