३१ वर्षदेखि वीरमै ‘अड्डा

३१ वर्षदेखि वीरमै ‘अड्डा

काठमाडौंः सामान्यतया सरकारी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको दुईदुई वर्षमा सरुवा हुने कानुनी प्रावधान भए पनि मुलुककै सबैभन्दा जेठो अस्पताल अपवाद बनेको छ ।

अस्पतालका कतिपय स्वास्थ्यकर्मी ३० वर्षसम्म पनि सरुवा भएका छैनन् । स्रोतका अनुसार लामो समय अड्डा जमाएर बस्नेमा ३१ जना अहेव र जनस्वास्थ्य निरीक्षकमात्रै छन् । सामान्यतया विशेषज्ञ चिकित्सकसँगै बिरामीको उपचारमा खटिनुपर्ने भए पनि उनीहरूले स्टोर, खरिद एकाइलगायत आर्थिक लाभ तथा प्रशासनिक क्षेत्रमा काम गर्न राजनीतिक ‘सोर्स' लगाउने गरेको अस्पताल स्रोतले बतायो ।

लामो समय एकै ठाउँमा कार्यरत उनीहरू अस्पताललाई धराशयी र राजनीतिक सुविधाको अखडा बनाउन सफल भएका छन् । राजनीतिक पहुँचका आधारमा सरुवालाई पन्छाउँदै अस्पतालमा अड्डा जमाएर बसेका स्वास्थ्यकर्मीले माथिल्लो दर्जाका कर्मचारी वा चिकित्सकलाई अवज्ञा गर्ने प्रवृत्ति संस्थागत भएको र त्यसले अस्पतालको कार्यसम्पादन तथा क्षमतामा प्रतिकुल असर परेको छ अस्पतालका एक उच्च कर्मचारीले बताए । सरुवा नहुँदा फाइदा पाउनेमा अधिकांश अहेव र अनमी छन् ।

मुुलुकका दुर्गम क्षेत्रमा वर्षौंदेखि कार्यरत स्वास्थ्यकर्मी भने वीर अस्पतालमा काम गर्ने अवसरबाट वञ्चित भएका छन् । सबै किसिमको उपचार सेवा उपलब्ध गराउँदै आएको वीर अस्पतालमा स्वास्थ्यकर्मीले सिक्ने अवसर अन्यत्रभन्दा धेरै छन् । तर राजनीतिक संरक्षण भएकाले मात्र त्यो अवसर पाएका छन् । दुर्गममा खटिएकाले अवसर नपाउँदा स्वास्थ्य सेवाको स्तरमा पनि प्रत्यक्ष प्रभाव पारेको छ ।

उनीहरूलाई अस्पतालमा भएका महँगा र महत्वपूर्ण उपकरण बिगार्ने र आफू संलग्न अन्य स्वास्थ्य संस्थामा बिरामीलाई जाँचका लागि पठाउने गरेको आरोपसमेत लाग्ने गरेको छ ।

‘सबैभन्दा ठूलो अस्पताल भएकाले मुलुकभरकै स्वास्थ्यकर्मी यहाँ काम गर्न चाहन्छन् तर आएपछि यहाँको राजनीतिक शक्तिले उनीहरूलाई तान्छ र चलखेल गर्न सरुवा रोक्दै बस्छन्', वीर अस्पताल स्रोतले अन्नपूर्णसँग भन्यो, ‘उनीहरूको कामबारे कसैले छानबिन गर्ने आँट पनि गर्दैन । अस्पताल प्रमुखलाई समेत थर्काएर राख्ने हैसियत उनीहरूले बनाएका छन् ।'

वीरमा आबद्ध हुनासाथ अन्य स्वास्थ्य संस्थाले पनि काममा सजिलै पत्याउँछन् उनीहरूलाई । वीर अस्पतालमा काम गर्दा राजधानीमै परिवारलाई राख्न पाइने, सुविधा सम्पन्न विद्यालयमा छोराछोरीलाई अध्ययन गराउन पाइनेजस्ता अवसर पनि उनीहरू गुमाउन चाहन्नन् ।

अस्पतालमा प्रायः सबै राजनीतिक दलसँग आबद्ध दुई दर्जनभन्दा बढी ट्रेड युनियन तथा संघसंस्था छन् उनीहरूका । पूरै समय काम नगर्ने, एक दिन काम गरेपछि अर्को दिन नआउने, बिरामी बाहिर पठाउने काममा संलग्न हुनेजस्ता आरोप पनि उनीहरूलाई लागेको छ ।

अस्पतालका निर्देशक डा. भूपेन्द्रकुमार बस्नेतले लामो समयसम्म स्वास्थ्यकर्मीको सरुवा नहुँदा समस्या आएको स्वीकारे । तर उनीहरूको सरुवा गर्ने काम स्वास्थ्य मन्त्रालयको भएकाले त्यसमा आफूले कुनै हस्तक्षेप गर्न नमिल्ने उनको भनाइ छ । स्वास्थ्यमन्त्रीका सल्लाहकार प्रताप पौडेलले पनि लामो समय सरुवा नभएका स्वास्थ्यकर्मीबाट काम नभएको भन्ने गुनासो आएको बताए ।

मन्त्रालयले त्यसबारे छिट्टै खोजी गर्ने र लामो समय सरुवा नभएका स्वास्थ्यकर्मीलाई सरुवा गर्ने तयारीमा मन्त्रालय लागेको पनि उनले बताए । अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरी पाँच सय पाँचजना कार्यरत छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.