अँध्यारोबाट उज्यालोतिर

अँध्यारोबाट उज्यालोतिर

काठमाडौः ठूला जलाशययुक्त आयोजना निर्माण नभएसम्म नेपालमा लोडसेडिङ अन्त्य नहुने विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालयका पदाधिकारीका अभिव्यक्तिलाई झुट  साबित गर्दै तिहारदेखि उपत्यकालगायत देशका प्रमुख सहरहरू अन्धकारमुक्त भएका छन् । एकाएक आएको यो उज्यालोलाई स्वयं प्राधिकरणका प्राविधिकहरूले समेत विश्वास गरेका थिएनन् ।

बिजुलीको खपत बढी हुने तर उत्पादन घट्दै जाने मध्य पुससम्म आइपुग्दा काठमाडौं उपत्यकालाई लोडसेडिङले चिहाएको छैन । उपत्यकाबाहेक देशका अन्य भूभागमा आंशिक र नगण्य रूपमा बिजुली कटौती भइरहेको छ । काठमाडौंलाई लोडसेडिङमुक्त बनाउन सकिएकोमा स्वयं विद्युत् प्राधिकरणका इन्जिनियरसमेत आश्चर्यमा छन् ।

तिहारको लक्ष्मीपूजाको रातलाई अन्धकारमुक्त पार्ने प्राधिकरणको प्रयासलाई धेरैले कुलेखानीको पानी रित्याएको र उद्योगहरूको लोड नभएको मौकाको सदुपयोग गरेको अनुमान गरे ।

तिहारको तीन दिन त्यसै पनि उद्योग नचल्ने र तिनले खपत गर्ने करिब तीन सय मेगावाट बिजुलीको बचत नै उपत्यकामा वितरण गरिएको लख काटिए । तर तिहार बिदा सकेर नियमित रूपमा उद्योगधन्दा चल्दा पनि उपत्यकामा बिजुली नगएपछि सबैजना आश्चर्य परे ।

दसैंअघि विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमान घिसिङले उद्योगलाई अत्यधिक बिजुली खपत हुने समय (पिक आवर) को तीन घन्टा कटौती गरे । उद्योगहरूलाई साँझ तीन घन्टाको बदलामा २१ घन्टा नियमित बिजुली दिए ।

यसले गर्दा उद्योगहरू पनि खुसी भए । नेपाल उद्योग वाणिज्य महासंघको तथ्यांकअनुसार विगतमा लोडसेडिङका बेला उद्योगहरूले वार्षिक १६ अर्ब रुपैयाँभन्दा बढीको डिजेल प्लान्टबाट बिजुली उत्पादनका लागि डिजेल खरिद गर्दै आएका थिए ।

महासघंका अध्यक्ष पशुपति मुरारकाका अनुसार उद्योगमा नगण्य रूपमा भएको लोडसेडिङले यस क्षेत्रलाई निकै ठूलो राहत भएको छ । उद्यमीहरूमा नयाँ प्लान्ट स्थापना गर्ने र उत्पादन गराउने आत्मविश्वास बढेको उनले बताए ।

विगतमा डिजेल प्लान्टबाट बिजुली उपयोग गर्दा लागत अत्यधिक हुने र प्रतिस्पर्धात्मक क्षमतामा पनि ह्रास भएको र कतिपय उद्योगले डिजेल प्लान्ट राख्न नसकेको अवस्थामा अहिले नियमित बिजुली आपूर्तिले निकै उत्साहित पारेको मुरारकाले बताए ।

‘बत्ती नभएर नयाँ उद्योग आउन सकिरहेका छैनन्, अब बत्ती पाइन्छ भन्ने विश्वास भएको छ । यसले मुलुकको उद्योग क्षेत्रमा अत्यन्त सकारात्मक आशा उत्पन्न गरेको छ', मुरारकाले शुक्रबार अन्नपूर्णसित भने ।

अबको योजना

चालू आर्थिक वर्षको पाँच महिनामा एक सय २२ मेगावाट बिजुली केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । निकट भविष्यमा प्राधिकरणको आफ्नै चमेलिया, कुलेखानी तेस्रो र माथिल्लो त्रिशूली थ्री ए गरी एक सय चार मेगावाट उत्पादन हुन लागेको र अबको केही वर्षमै निजी क्षेत्रसित पीपीए गरिएका करिब तीन हजार मेगावाटमध्ये दुई हजार मेगावाट निर्माणाधीन रहेकाले स्वदेशी माग धान्ने वातावरण बन्दै गएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी बताउँछन् ।

उनका अनुसार भारतसितका अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा स्तरोन्नति पनि धमाधम भइरहेकाले अबका दिनमा नेपालमा ऊर्जा संकट हुँदैन । ‘हामी अबको दुई महिना परीक्षणमा छौं,' उनले शुक्रबार अन्नपूर्णसित भने, ‘त्यसपछि उपत्यकामा लोडसेडिङमुक्त भएको घोषणा गर्नेछौं ।'

आन्तरिक खपतका लागि आवश्यक बिजुली स्वदेशमै उत्पादन नहुँदासम्म भारतबाट आयात गर्नुपर्ने बाध्यता रहे पनि त्यो बाध्यता क्रमशः कम हुँदै जाने अधिकारी बताउँछन् । हाल भारतबाट करिब तीन सय मेगावाट बिजुली आयात भइरहेको छ ।

बिजुलीको खपत बढी हुने तर उत्पादन भने घट्दै जाने मध्य पुससम्म आइपुग्दा काठमाडौं उपत्यकालाई लोडसेडिङले चिहाएको समेत छैन ।

भारतीय दूतावासले शुक्रबार विज्ञप्ति जारी गरी आगामी जनवरी १ (पुस १७) देखि) ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनबाट थप ८० मेगावाट बिजुली प्रसारण हुन लागेको जनाएको छ । ८० मेगावाट आयात भइरहेको ढल्केबरबाट आइतबारदेखि एक सय ६० मेगावाट आयात हुने भएको हो ।

यता प्राधिकरणले भने आगामी मार्चपछि उक्त सबस्टेसन २२० केभीमा चार्ज गरेपछि २३० मेगावाट आयात गरिने प्राधिकरण विद्युत् व्यापार विभाग प्रमुखसमेत रहेका अधिकारीले बताए । उनका अनुसार त्यसको एक वर्षपछि ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमा ४०० केभीमा चार्ज गरी स्तरोन्नति गरेपछि ६ सय मेगावाट आयात गर्न सकिनेछ ।

यो प्रसारण लाइनका अतिरिक्त भारतसित रक्सौल-परवानीपुर १३२ केभीको क्षमता वृद्धि गरी थप ५० मेगावाट, कटैया–कुसाहा १३२ केभीबाट पनि ५० मेगावाट, टनकपुर सबस्टेसनमा ५० एमभीएको ट्रान्सफरमरलाई १०० मा स्तरोन्नति गरी थप ४० मेगावाट बिजुली बुटबल नजिकै शिवपुरसम्म छिट्टै ल्याउने योजना छ ।

लोडसेडिङ अन्त्यलाई दिगो बनाउने उत्पादनपछाडिको अर्को मुख्य संरचना प्रसारण लाइन तथा सबस्टेसन क्षमता विस्तारलाई पनि प्राधिकरणले प्राथमिकताका साथ कार्यान्वयन र अनुगमन गरिरहेको अधिकारीले बताए । खिम्ती-ढल्केबर यसै महिना चालू हुने, आगामी एक साताभित्र हेटौंडा–कुलेखानी-स्युचाटार १३२ केभीको सिंगल सक्र्युट लाइन पनि सञ्चालनमा आउने, केही दिनभित्रै काठमाडौंको चपली सबस्टेसनको ट्रान्सफरमर क्षमता विस्तार भई उपत्यकाको वितरण प्रणाली सुदृढ हुने गरी काम भइरहेको छ ।

ऊर्जा संकट कार्ययोजना

केपी ओली सरकारले २०७२ फागुनमा लागू गरेको ऊर्जा संकट कार्ययोजना लागू गर्न ऊर्जा मन्त्रालय गम्भीर बनेको छ । ९९ बुँदे उक्त कार्ययोजनामा उल्लिखित विषय कार्यान्वयनका लागि छुट्टाछुट्टै कार्यदल गठन गरी धमाधम प्रतिवेदन बनिरहेको त्यसउपर छलफल गरी लागू गर्ने तयारी भइरहेको ऊर्जा मन्त्रालयका नीति महाशाखाका सहसचिव दिनेशकुमार घिमिरेले बताए । उक्त कार्ययोजनामा नेपाललाई दुई वर्षभित्र पूर्ण रूपमा लोडसेडिङमुक्त गरिने उल्लेख छ ।

‘यी सबै बन्दोबस्ती मिल्दै गएमा हामी निकट भविष्यमै देशलाई लोडसेडिङमुक्त घोषणा गर्नेछौं,' प्राधिकरण प्रवक्ता अधिकारीले भने, ‘त्यसका लागि हामीले प्राथमिकताका साथ अनुगमन र कार्यान्वयन गरिरहेका छौं ।'




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.